व्यक्तिगत घटना दर्ता सप्ताह : सबैखालका घटना समयमै दर्ता गराउन सरकारको आग्रह

 बैशाख १, २०८१ शनिबार १०:६:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – आजदेखि व्यक्तिगत घटना दर्ता सप्ताह शुरु भएको छ । व्यक्तिगत घटना दर्ता सम्बन्धी सचेतना जगाउन सरकारले वैशाख महिनाको पहिलो हप्ता अभियानका रुपमा व्यक्तिगत घटना दर्ता सप्ताह मनाउने गरेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको अगुवाईमा आजदेखि ७ गते सम्म व्यक्तिगत घटना दर्ता सप्ताह मनाईंदैछ ।

व्यक्तिका व्यक्तिगत घटनाहरु तोकिएको समय अर्थात घटना भएको ३५ दिनभित्र अनिवार्य रुपमा दर्ता गराउनुपर्छ भन्ने सन्देश आम नागरिकमा पुर्‍याउन सप्ताह मनाउन थालिएको हो । सरकारले सन् २०२४ को अन्त्य सम्ममा जन्म, मृत्यु, विवाह, बसाइँ सराइ, तथा सम्बन्ध विच्छेद लगायतका सबैखाले व्यक्तिगत घटना दर्ता गराउने लक्ष्य राखेकाले सबैलाई सबैखालका घटना दर्ता समयमै गराउन विभागले आग्रह गरेको छ ।

व्यक्तिगत घटना दर्ताको प्रमाणपत्र बालबालिकालाई विद्यालयमा भर्ना गर्न, नागरिकता र पासपोर्ट बनाउन, नाबालक परिचयपत्र बनाउन, बैंक खाता खोल्न, नाता कायम गर्न, जीवन बीमा गर्नका साथै विभिन्न सरकारी सेवा, सुविधा तथा हक स्थापना गर्न आवश्यक पर्छ ।

जुन बेलामा आफूलाई चाहिन्छ त्यही बेलामा घटना दर्ता गर्दा राज्यसँग अभिलेख नहुने र अभिलेखका अभावमा राज्यले दिने सेवा सुविधाको बाँडफाँड, बजेट विनियोजन, नीति निर्माणमा समस्या देखिने गरेको छ । यही अन्योल राज्यले बेहोर्नु नपरोस् भनेर समयमा नै घटना दर्ता आवश्यक रहेको विभागमा महानिर्देशक युवराज कटेलले बताउनुभयो । उहाँका अनुसार राज्यले दिने सेवा सुविधा विस्तार, नीति निर्माणका साथै दोहोरोपनालाई हटाउन पनि घटना दर्ता आवश्यक छ ।

व्यक्तिगत घटना दर्ताको महत्व सबैलाई बुझाउन ७५३ पालिकाका ६ हजार ६९१ वडा कार्यलयबाट काम भैरहेको विभागले जनाएको छ । विभागका अनुसार अहिले १५ देशका नेपाली नियोगबाट पनि घटना दर्ता हुने गरेको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया