नयाँ वर्षसँगै पूर्वमा सिरुवा पर्व शुरु

 बैशाख १, २०८१ शनिबार १२:५६:५३ | रासस
unn.prixa.net

फाइल तस्बिर

झापा – नयाँ वर्ष शुरु भएसँगै पूर्वका आदिवासी कोच समुदायको मुख्य चाड सिरुवा शुरु भएको छ । पूर्वी तराईमा बस्दैआएका राजवंशी, ताजपुरिया, थारु, गनगाई, माझीलगायतका आदिवासी कोच समुदायले आजदेखि तीन दिनसम्म धुमधामका साथ सिरुवा पर्व मनाउँदैआएका छन् । विशेष पर्वका रुपमा मनाउँदै आएको यस सिरुवाअन्तर्गत आज नयाँ वर्षको पहिलो दिन जल (पानी) सिरुवा मनाउने गरिन्छ ।

२ गते काद सिरुवा र ३ गते रङ सिरुवा खेलेर एकआपसमा भातृत्व र बन्धुत्वको सम्बन्धलाई बढाउन शुभकामना आदानप्रदान गर्दै सामूहिकरुपमा हर्षोल्लासका साथ पर्व मनाउने गरिएको गौरीगञ्जका पुराना पत्रकार आत्माराम राजवंशी बताउनुहुन्छ । उहाँका अनुसार चैत मसान्तमा विभिन्न प्रकारका सातवटा सागसब्जी मिसाएर पकाएको पक्वान वैशाख १ गते खाने प्रचलन छ । अन्य मीठा(मीठा परिकारसमेत खाने गरिन्छ । सिरुवा पर्वमा ठाकुरविसरी, ठाकुरब्रम्हानी, बिसहरी, काली देवीदेवताको पुजा गर्ने चलन छ । पर्वकै अवसरमा संस्कृति झल्कने खालको नाचगान गरिने उहाँले बताउनुभयो ।

सिरूवा विशेष कार्यक्रममा शुभकामना आदानप्रदान गरिनुका साथै आदिवासी सामुदायको परम्परागतगत ढोलसना नाच, नटुवा नाच, घाटोसरी गीत र आधुनिक गीतलगायत विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरिआएको पाइन्छ । सिरूवा उत्सवसँगै रङ खेल्ने कार्यक्रम रहेको छ । पानी सिरुवा, काद सिरुवा र काद सिरुवा सामूहिकरुपमा खेल्ने गाजीमुरी (चना भुजा) खाने, वोरी (चना दालले बनेको परिकार) खाने चलन रहेको छ ।

नयाँ वर्ष आउनु चार–पाँच दिन पहिलेदेखि एउटा शुद्ध भाँडोमा साजीको मूर्ति राखेर घरघरमा मागी हिँड्ने (भादाखेली) अनि बङ्गला पात्रोअनुसार वैशाख १ गतेका दिन नदीमा पूजा गरी सेलाउने चलन छ । यो साजी देउताको पूजा महिलाले मात्र गर्ने चलन छ । सिरुवाको दिनादेखि झापाको कमल–६ स्थित जिम्दार चोकको मन्दिर, मोरङको रतुवामाई नगरपालिकाको सुनवर्षीलगायतका आदिवासी बाहुल बस्तीमा परम्परागत सांस्कृतिक मेला लाग्दै आएका छन् ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया