एसीसी प्रिमियर कपमा घरेलु टोली ओमानको लगातार दोस्रो जित

 बैशाख २, २०८१ आइतबार १८:११:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एसीसी प्रिमियर कप क्रिकेटमा घरेलु टोली ओमान लगातार दोस्रो खेलमा विजयी भएको छ । अल अमिरात क्रिकेट ग्राउन्ड (मिनिस्ट्री टर्फ २) मा आज भएको खेलमा ओमानले कम्बोडियालाई ६३ रनले हरायो ।

ओमानले दिएको १ सय ५५ रनको लक्ष्य पछ्याएको कम्बोडियाले निर्धारित ११ ओभरमा ७ विकेट गुमाएर ९१ रनमात्र बनाउन सक्यो । कम्बोडियाका कप्तान भिमुक्ती बटले नट आउट ४१ रन बनाए । ओमानका अकिब इलियासले ह्याट्रिकसहित ४ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको ओमानले ११ ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनायो । ओमानका नसीम खुशीले ६९ रन बनाए । कम्बोडियाका शर्वन गोदारा, उत्कर्ष जैन र भिमुक्ती बटले समान २ विकेट लिए ।

यो जितसँगै ओमान ४ अङ्कसहित समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ । ओमानले पहिलो खेलमा बहराइनलाई ३ रनले हराएको थियो । कम्बोडिया लगातार दोस्रो हारसँगै तालिकाको पुछारमा छ ।

एसीसी प्रिमियर कपमा अहिले समूह ‘ए’ का साउदी अरेबिया र हङकङबीच खेल भइरहेको छ । हङकङ तालिकाको दोस्रो स्थानमा छ भने साउदी अरेबिया चौथो स्थानमा छ । हङकङले पहिलो खेलमा कतारलाई २६ रनले हराएको थियो भने साउदी अरेबिया मलेसियासँग १२ रनले पराजित भएको थियो ।

प्रतियाेगितामा भाेलि हङकङ र नेपाल तथा मलेसिया र कतार खेल्दैछन् । टी–२० फर्म्याटको एसीसी प्रिमियर कप वैशाख ९ गतेसम्म चल्नेछ ।

एसीसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा छ । यो समूहमा नेपालसँगै हङकङ, मलेसिया, कतार र साउदी अरेबिया छन् । यस्तै समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । फाइनल जित्ने टोलीले एसिया कप खेल्न पाउनेछ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया