एप्पललाई पछि पार्दै सामसङ बन्याे स्मार्टफोनको विश्व बजारमा नम्बर एक कम्पनी

 बैशाख ३, २०८१ सोमबार १८:२९:२६ | एजेन्सी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

अमेरिकी कम्पनी एप्पललाई पछि पार्दै दक्षिण कोरियाली कम्पनी सामसङ स्मार्टफोनको विश्व बजारमा नम्बर एक कम्पनी बनेको छ । सन् २०२४ को पहिलो तीन महिनामा एप्पलको स्मार्टफोन 'शिपमेन्ट' अर्थात् बजारमा पुर्‍याउने काम झन्डै १० प्रतिशतले घटेको अनुसन्धान गर्ने फर्म 'आईडीसी' ले हिजो सार्वजनिक गरेको तथ्याङ्कले देखाएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

सन् २०२४ को जनवरीदेखि मार्च महिनासम्ममा स्मार्टफोनको 'शिपमेन्ट' सात दशमलव आठ प्रतिशतले बढेर २८ करोड ९४ लाख थान पुगेकोमा सामसङको बजार हिस्सा २० दशमलव आठ प्रतिशत रहेको खबरमा उल्लेख छ । एप्पल १७ दशमलव तीन प्रतिशत बजार हिस्साका साथ दोस्रो स्थानमा आइपुगेको छ । यस्तै तेस्रो स्थानमा रहेको चिनियाँ कम्पनी साओमीको बजार हिस्सा १४ दशमलव एक प्रतिशत छ ।

यसअघि गएको वर्ष २०२३ को डिसेम्बरसम्मको तीन महिनाको अवधिमा १२ वर्षमा पहिलो पटक सामसङलाई पछि पार्दै एप्पल सबैभन्दा धेरै स्मार्टफोन बेच्ने कम्पनी बनेको थियो । तर माग घटेसँगै आईफोन फेरि दोस्रो स्थानमा आइपुगेको हो ।

सामसङले नयाँ वर्षको शुरुमै फ्ल्यागशिप स्मार्टफोन लाइनअप ‘ग्यालेक्सी एस २४’ सिरिज सार्वजनिक गरेको थियो । यस अवधिमा यो स्मार्टफोन छ करोडभन्दा धेरै थान बजारमा पुगेको खबरमा उल्लेख छ । यस्तै एप्पलले पाँच करोडभन्दा धेरै थान आईफोन बजारमा पुर्‍याएको छ, यो गएको वर्षको यही अवधिमा तुलनामा पाँच करोड ५४ लाख थानभन्दा कम रहेको आईडीएफसीको तथ्याङ्कमा उल्लेख छ ।

चीन सरकारले चिनियाँ कम्पनी र सरकारी निकायमा एप्पल ब्रान्डको मोबाइलको प्रयोग सीमित गर्ने निर्णय गरेपछि एप्पलको मोबाइलको ‘शिपमेन्ट’ मा गिरावट आएको खबरमा उल्लेख छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया