क्यामरुनको धाउफिन्स क्लबलाई हराउँदै संकटा खप्तड गोल्डकपको सेमिफाइनलमा

 माघ १, २०७५ मंगलबार १८:८:२९ | निर्मला खडायत

कैलाली – क्यामरुनको धाउफिन्स फुटबल क्लबलाई १–० ले पराजित गर्दै सीएमजी संकटा क्लब बुधबार तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

धनगढी रंगशालामा खेलको दोस्रो मिनेटमा नै लक्ष्मण रुचालको पासमा एलोन म्याक्सवेलले गोल गर्दै संकटालाई अग्रता दिलाए । खेलको १२ औँ मिनेटमा लक्ष्मण रुचालले वान भर्सेस वानको स्थितिमा गरेको प्रहार गोलरक्षक गुलाउन्सले बचाए । पहिलो हाफको इन्जुरी समयमा धाउफिन्सका कप्तानले पेनाल्टी क्षेत्रबाहिरबाट गरेको प्रहारले पोस्टको दिशा लिन सकेन ।

दोस्रो हाफको पाँचौँ मिनेटमा दाउफिन्सले खेल बराबरी गर्ने मौका गुमायो । गोलरक्षक पोजिसनमा नहुँदा आर्मेलको क्रसमा जुनियरको हेडरले पोस्टको दिशा लिन सकेन । ५३ औँ मिनेटमा टिनाको क्रसमा नियाले ६ यार्ड बक्सभित्रबाट गरेको हेडर क्रसबारभन्दा थोरै माथिबाट बाहिरियो । खेलको दुई मिनेट समय बाँकी रहँदा जुनियरको पासमा टिनाको प्रहारले पोस्टको दिशा लिन सकेन ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका संकटाका कप्तान रवि सिलवालले आरके कन्स्ट्रक्सन म्यान अफ् द म्याच बन्दै १० हजार रुपैयाँ प्राप्त गरे । संकटाले अब बिहीबार हुने सेमिफाइनलमा नेपाल पुलिस क्लबको सामना गर्नेछ ।

पराजित टोलीका प्रशिक्षक आशिक थापा मगरले लामो यात्रा तय गर्नुपरेको कारण टोलीले अपेक्षित प्रदर्शन गर्न नसकेको बताए । संकटाका प्रशिक्षक सल्यान खड्गीले खेलाडीले आफ्नो रणनीति अनुसार खेलेको कारण नै जित हासिल गरको बताए ।

मोफसलकै सर्वाधिक धनराशी पुरस्कार भएको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १० लाख प्राप्त गर्दा विधागत उत्कृष्टतर्फ प्रत्येक खेलाडीले १५ हजार रुपैयाँ पाउनेछन् । बुधबार हुने पहिलो सेमिफाइनलमा रुस्लान थ्री स्टार क्लब र मेची नेत्रालय काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर खेल्नेछन् ।

 

 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

निर्मला खडायत

खडायत कैलालीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया