राष्ट्रको विकासका लागि मगन्ते सोच त्याग्नै पर्छ

 असोज ७, २०७६ मंगलबार १९:०:५४ | टंक कार्की
unn.prixa.net

२३ वर्षपछि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण हुँदैछ । सन् १९९६ पछि चिनियाँ राष्ट्रपतिका रुपमा सी जिनपिङको नेपाल भ्रमण हुन लागेको हो । यसबीचमा राष्ट्रपति तहको नेपाल भ्रमण निरन्तरता दिने र नेपालसँगको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने दुवै देशको लक्ष्य छ ।

विगतमा दुई दशक बढी चीनबाट राष्ट्रपति तहको भ्रमण हुन सकेन । यसबीचमा भारतबाट पनि दशक बढी समय उच्च तहको भ्रमण भएको थिएन । अहिले भारतबाट पटक–पटक गरी प्रधानमन्त्री मोदीको भ्रमण भइसकेको छ । चीनबाट पनि उच्च तहको भ्रमण हुने प्रबल सम्भावना छ ।

विगतमा भ्रमण नहुनुको मुख्य कारण आन्तरिक समस्या नै हो । दश वर्ष सशस्त्र द्वन्द्वले दुई छिमेकी देशको उच्च तहको भ्रमण हुन पाएन । सशस्त्र द्वन्द्व सकिएपछि पनि स्थायित्व हुन सकेन । अहिले संविधान बनेको छ । देश संघीयतामा अघि बढेको छ ।

दुई तिहाईको सरकार बनेको छ । सरकारले विकासशील नारा दिएर काम गरिरहेको छ । यो सबै देखेर चीन र भारत दुवै नेपालसँग सुमधुर बनाउन चाहन्छन् । भारतले हिजो बिग्रेको तर त्यसलाई सुधार्न अनेकौँ प्रयास गरेको छ । चीनबाट पनि उच्च स्तरकै भ्रमण हुन लागेको कुरामा शंका छैन ।

यति मात्रै होइन । चिनियाँ राष्ट्रपति सीको भ्रमण सबै राजनीतिक शक्ति र नागरिकको पनि चाहना हो । यसमा द्विविधा छैन । अहिलेको अनुकुल वातावरणमा सीको भ्रमण हुनु सान्दर्भिक हो ।

सीको भ्रमणबाट नेपाललाई हुने फाइदा

चिनियाँ राष्ट्रपतिको सीको भ्रमणबाट नेपालले लिने फाइदा धेरै छन् । तर यो फाइदाका लागि हाम्रो आन्तरिक गृहकार्य प्रमुख जिम्मेवार हुन्छ ।

केही समयअघि चिनियाँ विदेश मन्त्री वाङ यीले काठमाण्डौ आएर नेपालले विकास गर्न चाहेका परियोजनामा चीन सहयोग गर्न तत्पर छ भनेर भनिसक्नु भएको छ । परियोजना माग्ने सूची लामो बनाउने होइन । तर मुख्य योजना र परियोजनामा चीन सहयोग गर्न तयार छ भनेर चिनियाँ विदेश मन्त्रीले भनेको कुरामा शंका छैन ।

याे पनि पढ्नुहाेस्

यसका पछाडिको कारण बीआरआई परियोजनामध्येका नौ वटा परियोजनामा कुन बढी प्राथमिकता दिने भन्ने कुरा हामीले छलफल गर्नुपर्छ । रेलमार्ग, सडकमार्ग, विद्युत आयोजना, शहरी विकासलगायत सबै परियोजनामा चीनले सहयोग नगर्न सक्छ ।

त्यसमा कुन बढी आवश्यक र चीनको सहयोग कस्तो चाहिन्छ ? भनेर भनिसकेपछि नेपाल आफैले गृहकार्य गर्नुपर्छ । लामो सूची बनाएर सबै कुरा माग्नुभन्दा निश्चित र सबैभन्दा बढी प्राथमिकतामा परेको परियोजनामा चीनको सहयोग खोज्नुपर्छ ।

चीनको बीआरआई परियोजनामा नेपालले प्रस्ताव गरेका नौ वटामध्ये तीनदेखि चारवटासम्मा चीनले तत्कालै सहयोग गर्छ । ती तीनदेखि चारवटा कुन परियोजना हुन सक्छन, त्यो हामीले निर्णय गर्न सक्नुपर्छ ।

नेपाललाई हेर्ने चीनको आँखा

नेपालका दुई ठूला छिमेकी देश चीन र भारत छन् । दुवै देश तीव्र विकासमा अगाडि बढेका छन् । दुई मात्रै छिमेकीलाई कुन पहिलो र दोस्रो भनेर छुट्याउनु उचित हुँदैन । नेपालका लागि दुवै छिमेकी असल मित्र हुन् ।

समस्या कहीँ आएको खण्डमा बसेर सल्लाह गर्नुपर्छ । दुवै छिमेकी देशलाई कसैलाई बढी प्राथमिकता दिने र कसैलाई कम प्राथमिकता दिने गर्नु हुँदैन । व्यवहारमा कोहीसँग धेरै होला । कोहीसँग कम होला । तर हाम्रो परराष्ट्र नीतिअनुसार दुवैलाई प्राथमिकता दिन जरुरी छ ।

विगतमा चीनको दृष्टिकोण भारतभन्दा बढी नेपाललाई सहयोग नगर्ने थियो । अर्थात नेपाल भारतसँग खुशी छ भने बीचमा धेरै प्राथमिकता दिनु हुँदैन भनेर चीनको दृष्टिकोण थियो ।

तर अहिले नेपालमा चीनको सहयोग बढ्दै गएको छ । उसले सहयोग मात्रै बढाएको छैन । चासो र चिन्ता पनि राख्न थालेको छ । नेपालका आन्तरिक परियोजनामा चीनकै कम्पनीहरु संलग्न हुन थालेका छन । यसले पनि अब नेपालमा चीनको चासो बढेको देखिन्छ ।

नेपालमा चीनको चासो बढ्नु भनेको हस्तक्षेप बढेको भन्ने होइन । तिब्बतको सुरक्षाका लागि हो । नेपालमा युरोप, अमेरिकाको चासो पनि नेपालको विकास मात्रै होइन । भारत र चीनलाई हेर्ने र बुझ्ने रणनीति हो ।

त्यसैले चीनले खोजेको तिब्बतको सुरक्षा मात्रै हो । नेपालले पनि तिब्बतविरुद्ध हुने कुनै पनि गतिविधिका लागि नेपाली भूमि प्रयोग हुन नदिने हो भने चीन पूरा सहयोग गर्न तयार छ ।

अब बजारकै हिसाबले हाम्रो बजार कति नै ठूलो छ र ? भारत र चीन दुवै ठूला बजार हुन् । चीनका लागि त झन नेपाली बजार ठूलो हुँदै होइन । चीनको मुख्य चासो भनेकै भूराजनीतिक चिन्ता मात्रै हो ।

नेपालका थुप्रै सीमा चीनसँग जोडिएका छन् । ती नाकाहरुबाट चीनविरोधी गतिविधि नभैदिउन् भन्ने मात्रै चिन्ता चीनको छ । आज विश्वका धेरै देश चीनका बारेमा चासो राखिरहेका छन् । यस्तो बेला चीनले आफूलाई सतर्क र सक्षम राखिराख्न सबै प्रयास गर्छ ।

अब जहाँसम्म विश्वासको कुरा आउँछ । चीन कच्चा खेलाडी होइन । उनीहरु धेरै व्यवहारिक छन । चीनले विश्वका कुनै पनि पर्खालहरु भत्काउन सक्ने क्षमता राख्छ । चीनको सामान भारत मात्र होइन, अमेरिकासम्म पुगेको छ । चीनले भारतमै ठूलो लगानी गरेको छ ।

लगानी मात्रै होइन चीनको काम गर्ने शैली भारत, युरोप र अमेरिकासम्मै बढ्दै गएको छ । अन्तर्राष्ट्रिय मञ्चमा पनि चीनको भूमिका बढ्दो छ । त्यो भूमिकाकै कारण चीनले अमेरिका, रुस, बेलायतसँग प्रतिस्पर्धा गर्दै गएको छ ।

इतिहासले छाडेका केही प्रतिस्पर्धाहरु छन् । तर ती साँघुरा छन् । अब मुख्य कुरा भनेकै सहयोग र सहकार्य हो । यी दुई कुरामा चीन र भारत निकै अगाडि बढेका छन् । दुई ठूला छिमेकी भारत र चीनका यी गतिविधिमा नेपालले फाइदा लिन सक्नुपर्छ । सहकार्य थप बढाउनुपर्छ ।

यसका लागि सहयोगात्मक सम्बन्ध नै हो । मित्रताको सम्बन्ध नै हो । नभए त दोक्लाममा चीन र भारतबीच सम्झौता हुँदैनथ्याे होला । झन युद्ध चर्किन सक्थ्यो । तर दुवै देशका नेतृत्व सहयोगात्मक र मित्रता कायम राखेर जान चाहन्छन् ।

नेपालको औकात कति छ ?

नेपालमा अहिले पनि हाम्रो पुँजीभन्दा अनुदान, सहयोग र ऋणबाटै बढी परियोजना बनिरहेका छन् । यो राम्रो होइन । पुँजी सीमित भएरै हामी अल्पविकसित राष्ट्रमै सीमित छौँ ।

छिमेकी दुई देश विकसित हुँदै गएका छन् । तर दुई ठूला छिमेकीको बीचमा रहेको नेपाल भने जहिले गरिब नै भइरहनुपर्ने, यो उनीहरुका लागि सुहाउँदो होइन । नेपालको गरिबी हटाउने दायित्व छिमेकी भारत र चीनको पनि हो ।

अब यो गरिबीबाट उम्किन मगन्ते भेषमा सधैँ सहयोग लिन राम्रो हुँदैन । सधैँ मागेरै गुजारा चल्न त सक्दैन । त्यसैले गर्दा अब ऋण लिएर पनि काम गर्न सक्नुपर्छ । सहुलियत दरमा ऋण लिएर विकास पनि गर्नुपर्छ । फेरि भ्रष्टाचार गरेर त्यसलाई आफूअनुकुल प्रयोग गर्ने होइन । कसैको गोजी भर्ने होइन । राष्ट्रको विकासका लागि मगन्ते सोच त्याग्नैपर्छ । अरु विकल्प छैन ।

अब बीआरआई परियोजनामा जस्तै लगानी बाँडफाड गर्ने र फाइदा पनि लिने योजनामा अघि बढ्नुपर्छ । चीनको प्रस्ताव पनि यही हो । यसमा अघि बढ्नुको विकल्प छैन ।

नेपालमा ‘सी विचारधारा’ कति जायज छ ?

अहिले सत्तारुढ नेकपाले नै आफ्नाे स्कुल विभागमा चिनियाँ राष्ट्रपति सी विचारधारामाथि मन्थन गरिरहेको छ । विगतमा मार्क्सवादी, लेनिनवादी, माओवादी र पुँजीवादी सिद्धान्तमाथि बहस छलफल हुन्थ्यो ।

तर पछिल्लो केही दिनयता सी विचारधारामाथि बहस र छलफल बढिरहेको छ । चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरु र नेकपा नेताहरुबीच पनि वार्ता र छलफल भएका छन् ।

अब सी विचारधाराबारे चीनकै विज्ञ, राजनीतिक विचारधाराका व्यक्तिहरुले प्रशिक्षण दिने कुरा छ । त्यति मात्रै होइन, सी आफैले नेकपाको स्कुल विभागमा केही समय आफ्नो विचार प्रस्तुत गर्ने तयारी पनि सुनिएको छ ।

यो राम्रो छ । वर्तमान चिनियाँ राष्ट्रपति सी नै चीनलाई विश्वको शक्तिशाली देश बनाउन सफल बन्नुभयो । यसपछाडिका मुख्य सिद्धान्त र रणनीतिहरु के–के हुन ? यसबारे बहस छलफल गर्नु राम्रो कुरा हो । तर फोटोकपी चाहिँ गर्नु हुँदैन ।

चीनका योजना, रणनीति, व्यवहारिक र दूरगामी पक्ष केलाउनुपर्छ । तर हुबहु नक्कल गरेर नेपाललाई विकास गर्न सकिँदैन । यसमा नेताहरु ‘क्लियर’ हुनुपर्छ । आखिर हामीले मान्दै आएको प्रजातन्त्र पनि नेपालबाट विकास भएको त होइन ।

विश्वव्यापी मान्यतालाई पछ्याएका मात्रै हौ । हाम्रो प्रजातन्त्रको शैली आफ्नै छ । बेलायत र अमेरिकाको प्रजातन्त्र शैली आफ्नै छ । त्यसैले विचारधारामाथि छलफल चलाउनु र त्यसबाट राम्रा पाठ सिक्नु सकारात्मक हो ।

फेरि चीनको दिगदर्शन बुझ्नु आवश्यक छ । छिमेकी देश जसले विश्व हाँक्ने क्षमता राखिरहेको छ । विश्वलाई जोड्न सक्ने परियोजना ल्याउन सक्नु पनि आफैमा विशाल योजना हो । यसमा सहभागी भइसकेपछि बहस छलफल नै चलाएर बुझ्न खोज्नु पनि नराम्रो होइन । तर ‘कार्बनकपी’ हुनु हुँदैन ।

यसको एउटै फाइदा भनेको छिमेकीलाई चिन्नु हो । छिमेकीले चिनेपछि मात्रै उसको वास्तविक स्वार्थ बुझ्न सकिएला । त्यसबाट आफूले कति फाइदा लिन सकिन्छ ? भन्ने बारेमा बुझ्न सकिएला ।

त्यसैले चीनलाई नजिकबाट थप चिन्ने र बुझेर नेपालको हितमा सहयोग भित्र्याउन पनि सी विचारधारामाथि छलफल आवश्यक छ । तर शंका गरिएजस्तो सी विचारधारा मोडल नै संसारभर लागु गर्न सकिन्छ भन्नेमा चिनियाँहरु नै स्पष्ट छन ।

सी विचारधारा चीनमा लागु गरियो । नेपालमा लागु हुन सक्दैन । नेपालको परिवेश बेग्लै हो । चीनको परिवेश बेग्लै छ । चीनको विकास बेग्लै छ । जातजाति र भेषभूषा बेग्लै छ ।

अवस्थिति फरक छ । भूगोल पनि फरक छ । संस्कृति र रहनसहन फरक छ । यस्तोमा सी विचारधारा विश्वभर फैलिन सक्दैन । तर राम्रा पक्षलाई सबैले ग्रहण गर्न सक्छन् । चिनियाँहरुले त्यसको प्रचार गर्नु कुन ठूलो कुरा भयो र । त्यो प्रचारले हामीलाई फाइदा गर्छ ।

तर नेपाललाई कसरी विकास गर्ने भन्ने कुरामा हामी आफै स्पष्ट हुन आवश्यक छ । यसमा चीनको धारणा पनि फरक छैन । कुनै बेला नेपालको जस्तै हैसियत र आर्थिक अवस्था भएको चीन कसरी एकाएक विश्वकै शक्तिशाली देश बन्यो । यो त हाम्रा लागि फाइदा छ ।

चीन संसारकै नमुना देश बन्यो । ७० करोड बढी मानिस गरिबीको रेखामुनि थिए । कसरी ती मानिसलाई गरिबीमुक्त गर्न कसरी सम्भव भयो ? दुई दशकमा कायापलट गर्ने चीनको रणनीति सानो छ र ?

दुई अंकको आर्थिक वृद्धिदर सानो विकास हो र ? आफ्नो बजार भारतदेखि अमेरिकासम्म विस्तार गर्ने क्षमता कम आँक्ने हो र ? यी कुरा नेपालले पहिला सिक्नुपर्छ अनि मात्रै फाइदा लिन सकिन्छ ।

चीनबाट सिक्नुपर्ने दीर्घकालीन कुराहरु

चीनले सन् १९८० मा ७० वर्षे लक्ष्य निर्धारण गरेका छन् । सन् २०५० सम्म विकसित समाजवादी देश बन्ने चीनको लक्ष्य छ । यसमा निकै तीव्र्र गतिमा चीन अघि बढेको छ ।

७० वर्षको योजनालाई उनीहरुले एक–एक चरण पूरा गर्दै अगाडि बढेका छन् । यसमा कही कतै ढिलाइ गरेका छैनन् । अब हामी आफ्नो लक्ष्यअनुसार अगाडि बढ्न किन ढिलाइ गर्ने ?

हिजो पनि कोदारी राजमार्ग बनाउँदा सानो बहस र विवाद भएको होइन ? ठूलो बहस र विवाद भएरै कोदारी राजमार्ग बन्यो । आज त्यसको फाइदा त हामीलाई नै भएको छ । त्यसैगरी रेल ल्याउँदा पनि हामीलाई फाइदा हुन्छ । खर्चिलो छ । तर कालान्तारमा फाइदा पनि छ नि ।

त्यसैले हामीले पनि दीर्घकालीन सोचका साथ काम गर्न आवश्यक छ । आज चीनका भित्री शहरमा ‘ओभरहेड ब्रिज’ बनेका छन् । चीनले त भोलिका आवश्यकतालाई आजै ठूला–ठूला पूर्वाधार निर्माण गरिरहेका छन् ।

आखिर हामीले अंग्रेजी भाषा सिकेकै बेलायतबाट होइन र ? अमेरिकाबाट होइन र ? अब चीनबाट विकासको मोडल किन नसिक्ने ? शून्य भ्रष्टाचार नीतिलाई किन स्वीकार नगर्ने ? साच्चै सिक्ने कुरा अब चीनबाटै धेरै छ । दशतिर दिमाग घुमाउनै पर्दैन ।

सीको विचारधारालाई कसरी उपयोग गर्ने ?

अब नेपालले तीव्र विकासमा जान रणनैतिक व्यवस्थापनमा प्रणाली परिभाषित गरिसकेका छौँ । संघीय लोकतान्त्रिक गणतन्त्र देश नेपाल भनेर हामीले परिभाषित गरिसक्याैँ । यसका लागि हामीले ७० वर्ष खर्चिएका छौँ ।

अब हाम्रो लोकतान्त्रिक गणतन्त्र पद्धतिसँग सम्बन्ध राख्ने संस्था र पूर्वाधार बनाउन सक्नुपर्छ । यसको पछिल्लो उदाहरण चीन नै हो । सी विचारधारालाई केलाउँदै गर्दा हामीले हाम्रो राजनैतिक संकल्प र चरित्र पनि बदल्न सक्नुपर्छ ।

यदि संघीय लोकतान्त्रिक गणतन्त्र हाम्रो आवश्यकता होइन भने यो व्यवस्था टिक्दैन । यदि हाम्रो आवश्यकता हो भनेर हाम्रो चरित्र बदल्नैपर्छ । राजनीतिक इच्छाशक्ति दृढ हुनैपर्छ । संस्थागत पद्धति र विकास निर्माण गर्नैपर्छ ।

अहिले हाम्रो भ्रष्टाचार, राजनीतिक चरित्र, गैरसंस्थागत निर्णय गर्ने प्रवृत्तिले विकास हुन सकेको छैन । फेरि विकास भनेको ‘स्विच थिच्ने’ कुरा मात्रै पनि होइन । यो त प्रक्रिया हो ।

समाजको चरित्र भनेको राज्यको अभिव्यक्तिबाट देखिने हो । त्यसमा ठूलो सुधार आवश्यक छ । आज धेरैजसो नेपाली असन्तुष्ट छन । यो असन्तुष्टि खराब होइन । विग्रहका लागि होइन । हाम्रो नेपालीपन, राष्ट्रियता, विकास र सुशासन बलियो बनाउनका लागि हो नि ।

यसलाई हामीले गम्भीर ढंगले सोच्नुपर्छ । फेरि चीनसँग सहकार्य गर्न, सहयोग लिन, फाइदा लिन, नेपालको विकास गर्न कच्चा ढंगको व्यवहार र प्रस्तुति हुनु हुँदैन । बीआरआई परियोजनाभित्रका ९ वटा परियोजनामध्येमा कुनै एक दुई वटा दीर्घकालीन विषयमा सम्झौता गर्न आवश्यक छ । यसका लागि अहिले रेलमार्ग विस्तार मुख्य सम्झौताको विषय बन्न सक्छ ।

हामीले दीर्घकालीन परियोजना ल्याउन सक्नुपर्छ । चीनसँग तातो रोटी माग्ने होइन । अलि दीर्घकालीन ढंगले हेरेर ठूला परियोजना अघि सार्नुपर्छ । यसमध्येमा रेलमार्गलगायत पूर्वाधार विकास नै प्रमुख मुद्दामा चीनसँग सम्झौता गर्दा राम्रो हुन्छ ।

-चीनका लागि पूर्व नेपाली राजदूत कार्कीसँग विष्णु विश्वकर्माले गरेको कुराकानीमा आधारित

अन्तिम अपडेट: कात्तिक १८, २०७६

टंक कार्की

टंक कार्की चीनका लागि पूर्व नेपाली राजदूत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया