सामाजिक सञ्जालमा विज्ञापनका लागि बैंकबाटै भुक्तानी नगरे कारबाही हुने

 माघ १८, २०७६ शनिबार ९:१५:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सामाजिक सञ्जालमा विज्ञापनका लागि बैंकबाटै रकम भुक्तानी गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सूचना निकालेर बैंकिङ प्रणालीभन्दा बाहिरबाट हुने यस्तो भुक्तानी गैरकानूनी हुने जनाएको छ । 

अनौपचारिक माध्यमबाट फेसबुक, ट्वीटर, यूट्युब जस्ता समाजिक सञ्जाल र इन्टरनेटको माध्यमबाट विदेशमा भुक्तानी लैजाने र ल्याउने काम गैरकानुनी भएको राष्ट्र बैंकले निकालेको को सूचनामा उल्लेख छ । यस्तो गर्नेलाई नियमअनुसार कारबाही गरिने समेत राष्ट्र बैंकले स्पष्ट पारेको छ ।

राष्ट्र बैंकको सूचनामा लेखिएको छ, ‘यस्तो कारोबारबाट विदेशी विनीमय अपचलन हुने भएकोले कसैले त्यसरी कारोबार गरेको पाइएमा बिदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ र प्रचलित कानुन बमोजिम कारबाही हुने व्यहोरा सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

विदेशी विनिमय ऐनमा सरकारी निकायको अनुमति नलिई गरेको विनिमयको कारोबार जफत गर्न सक्ने र बिगोको तीन गुणासम्म जरिवाना गर्न सक्ने प्रावधान छ ।

तर राष्ट्र बैंकको अनुमति लिएर औपचारिक माध्यमबाट कारोबार गर्नलाई कुनै बाधा नहुने राष्ट्र बैंकले स्पष्ट पारेको छ । पछिल्लो समय बैंक वित्तीय सँस्थादेखि व्यवसायिक र व्यक्तिगत सूचना, चुनावी अभियान र अरु प्रचार प्रसारका लागि विदेशी मुद्रा भुक्तान गरेर फेसबुक, ट्वीटर लगायतका माध्यममा विज्ञापन गर्ने प्रचलन बढेको छ ।

यसरी विज्ञापन गर्ने प्रचलन बढ्दा करोडौं रुपैयाँ अनौपाचारिक माध्यमबाट विदेशिने गरेको छ । यसबाट औपचारिक माध्यमबाट भित्रिने रेमिट्यान्स समेत प्रभावित भैरहेको छ । सामाजिक सञ्जालमा विज्ञापनबापत अनौपचारिक माध्यमबाट कति रकम बाहिर जान्छ भन्ने तथ्यांक चाहिँ सरकारी निकायसँग छैन । 

राष्ट बैंकको यो सूचनासँगै अब यूट्युब लगायत सामाजिक सञ्जालमा भिडियो बनाएर आम्दानी गर्दै आएकाहरुले पनि बैंकिङ प्रणालीमार्फत रकम लिनुपर्नेछ ।  
 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया