चुनाव स्वच्छ बनाउन यस्तो प्रस्ताव : ‘उम्मेदवारलाई गाउँ नपठाऔँ, मिडियामा बहस गरौँ’

 फागुन ६, २०७७ बिहिबार २०:१५:५२ | शिव ढुंगाना
unn.prixa.net

ओखलढुङ्गा – सरोकारवालाहरुले निर्वाचन आचारसंहिता व्यावहारिक नभएकाले परिमार्जन गर्न सुझाव दिएका छन् । जिल्ला निर्वाचन कार्यालयले आयोजना गरेको छलफलमा नागरिक र राजनीतिक दलले आचारसंहिता पालना गर्न व्यावहारिक हुनुपर्नेमा जोड दिएका हुन् । 

आचारसंहिता बनाउने, जारी गर्ने तर पालना नहुने हो भने औचित्य नहुने नेपाली कांग्रेसका जिल्ला सभापति प्रदीपकुमार सुनुवारले बताउनुभयो । उहाँले भन्नुभयो, ‘व्यवहारमा लागू नहुने बुँदा हटाऔँ, चुनावमा खर्च गर्ने सीमा व्यावहारिक छैन कि त सक्नेजति खर्च गर्न दिनुपर्यो कि त लुकी–लुकी खर्च गरेर चुनाव प्रभावित पार्नेलाई कारबाही गर्न सक्नुपर्यो ।’

सभापति सुनुवारले चुनावमा उम्मेदवारलाई गाउँ पस्न रोक्नुपर्नेमा जोड दिनुभयो । ‘उम्मेदवार र पार्टीका नेतालाई आचारसंहिता लागेपछि गाउँ जान रोकौँ । रेडियो, टिभी र अनलाइनबाट आफ्ना विचार राख्न बहस गर्न लगाऔँ अनि मात्रै पैसाले चुनाव प्रभावित हुनबाट रोकिन्छ, यही सुझाव लानुहोस्’, निर्वाचन अधिकारीलाई उहाँले भन्नुभयो । 

त्यस्तै राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष धनराम श्रेष्ठले पनि सुनुवारको प्रस्ताव सही भएको बताउनुभयो । उहाँले सञ्चारमाध्यमको व्यवस्थित प्रयोग गरेर प्रचार गर्ने हो भने पैसा बाँडेर चुनाव जित्ने अवस्थाको अन्त्य हुने बताउनुभयो । कार्यक्रममा सहभागीहरुले निर्वाचन आचारसंहिता उल्लङ्घन जनप्रतिनिधि र दलबाटै हुने भएकाले उनीहरु बढी जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन् । 

नेकपाका नेता रुपेश शाक्यले चुनाव हुने–नहुने आशङ्काका बीचमा तयारी थालिएको भए पनि आचारसंहिता लाग्ने समयबारे प्रश्न गर्नुभयो । शाक्यले विगतमा मतदानको ९० दिनअघि नै आचारसंहिता लागे पनि अहिले चाँहि कहिलेदेखि लाग्ने हो ? भनेर जिल्ला निर्वाचन अधिकारी प्रेमप्रसाद न्यौपानेलाई प्रश्न गर्नुभयो ।  

जिल्ला निर्वाचन अधिकारी न्यौपानेले निर्वाचन आयोगले घोषणा गरेर आचारसंहिता लाग्ने भएकाले अहिले नलागेको जानकारी दिनुभयो । सरोकारवालाहरुले स्वच्छ चुनावका लागि नागरिक समाज, राजनीतिक दल र सञ्चार जगत जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन् ।   

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया