कोरोना कहर : कतै विद्यालय बन्द, कतै परीक्षा चलाउँदै पालिका

 बैशाख १६, २०७८ बिहिबार १४:६:३० | शिव ढुंगाना
unn.prixa.net

फाइल फाेटाे

ओखलढुङ्गा– सिद्धिचरण नगरपालिकाले कोरोना कहरका बीच कक्षा नौसम्मको वार्षिक परीक्षा सञ्चालनको तयारी गरेको छ । सरकारले देशभरका शिक्षण संस्थामा भौतिक उपस्थिति हुने कुनै पनि गतिविधिमा रोक लगाए पनि ओखलढुङ्गाका केही पालिकाले भने स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्ने तयारी थालेका छन् । 

ओखलढुङ्गामा कोरोना सङ्क्रमण नफैलिइसकेको, पछि थप जटिलता आउने र लकडाउन हुने अवस्था आउन सक्ने भएकाले दुई चरण गरेर परीक्षा केही दिनमै सम्पन्न गर्ने गरी तयारी गरिएको बताइएको छ । 
मोलुङ गाउँपालिका, चिशंखुगढी गाउँपालिका, चम्पादेवी गाउँपालिका र सिद्धिचरण नगरपालिकाले वार्षिक परीक्षा सञ्चालनको तयारी थालेका छन् । चिशंखुगढीमा बुधवारदेखि परीक्षा सुरु भएको छ भने मोलुङमा बिहीवारदेखि सुरु भएको गाउँपालिकाका सूचना अधिकारी गोपाल नेपालले जानकारी दिनुभयो । दुई चरणमा गरेर विद्यालयस्तरका सबै परीक्षा वैैशाख २० भित्र सम्पन्न गरी विद्यालय बन्द गरिने नेपालको भनाइ छ । 

त्यस्तै सिद्धिचरण नगरपालिकाले वैशाख १७ देखि दुई चरणमा गरेर २१ भित्र सम्पन्न गर्ने निर्णय गरेको नगरपालिकाका सूचना अधिकारी नइन्द्रराज राईले बताउनुभयो । उहाँले अहिले ओखलढुङ्गामा कोरोना सङ्क्रमण नफैलिएकाले सुरक्षा विधि अपनाइ परीक्षा सम्पन्न गर्ने निर्णय गरेको जानकारी दिनुभयो । 

परीक्षा सकिएपछि नतिजा प्रकाशनमा शिक्षकहरुले घरैबाट काम गर्न सक्ने र कक्षोन्नति भएका विद्यार्थीहरुले वैकल्पिक विधि अपनाएर पठनपाठन गर्न र सिक्न सक्ने भएकाले परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ । 

परीक्षाको तयारी गर्न सबै विद्यालयलाई जानकारी गराइसकिएको छ । केही पालिकाले ले भने विद्यालय बन्द गरिसकेका छन् । सुनकोशी, खिजीदेम्वा लगायतका पालिकामा विद्यालय बन्द गरिएको छ । लिखु गाउँपालिकाको बैठक बसेर मात्रै यसबारे निचोडमा पुग्ने सूचना अधिकारी द्रोणकुमार धमलाले जानकारी दिनुभयो । लिखुले वैशाख २१ देखि परीक्षा सञ्चालन गर्ने निर्णय गरे पनि कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेपछि बिहीवार बैठक बसेर मात्रै यसबारे थप निर्णय हुने उहाँको भनाइ छ । 

त्यस्तै खिजीदेम्वा गाउँपालिकाले पनि बैठक बसेर पछि निर्णय लिने शिक्षा शाखाका कर्मचारी बुद्धि मुलिचाको भनाइ छ । कोरोनाको नयाँ ‘भेरिएन्ट’ को सङ्क्रमण तीव्र बढ्न सक्ने भन्दै शिक्षक तथा अभिभावक भने चिन्तित छन् । परीक्षा सञ्चालन जिल्लाको अवस्था हेरेर सुरक्षित तरिकाले हुने भए पनि विद्यार्थी अनुपस्थित भएमा त्यसबाट आउने समस्यामा को जिम्मेवार हुने भन्ने चुनौती रहेको सगरमाथा जनता माविका प्रधानाध्यापक डिल्लीराम कार्की बताउनुहुन्छ ।  

सङ्घीय सरकारले काठमाण्डौको परिवेश हेरेर विद्यालय बन्द गरे पनि जिल्लाको अवस्था सामान्य रहेकाले अवस्था हेरेर पालिका अघि बढेको र पूर्ण सुरक्षित रुपमा परीक्षा सञ्चालन गरिने मोलुङ गाउँपालिका ७ का अध्यक्ष हेमबहादुर सुनुवारको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया