लापर्बाहीको यो हद : पुल ढलानमा माटोसहितको गिट्टी र बालुवा !

 जेठ २०, २०७८ बिहिबार २०:३०:३२ | शिव ढुंगाना
unn.prixa.net

तस्बिर : पुल निर्माणका लागि प्रयोग भएको माटो मिसिएको गिट्टी र बालुवा ।

ओखलढुङ्गा – सिद्धिचरण नगरपालिका ४ र चिशंखुगढी ८ जोड्ने मोटरेबल पक्की पुलमा गुणस्तरहीन निर्माण सामग्री प्रयोग भएको पाइएको छ । ठेकेदारले ठेक्का सम्झौता गरेको एक वर्षसम्म काम नै नथालेर पटक–पटक ताकेता गरेपछि बल्ल सुरु भएको जग निर्माणमै गुणस्तरहीन सामग्री प्रयोग भएको पाइएको हो । 

बालुवामा बराबरी माटो र गिटीसमेत नपखाली माटैसहित घोलेर ढलान भइरहेको स्थानीय युवा कृष्ण भुजेलले बताउनुभयो । निषेधाज्ञाका बीच भइरहेको निर्माणमा अनुगमन गर्ने निकायको ध्यान नपुग्दा ठेकेदारले लापर्बाही गरेको स्थानीयको भनाइ छ । यही वैशाखमै म्याद सकिएको पुलको जग हाल्ने काम अहिले भइरहेको छ । 

२०७६ वैशाख ५ गते खम्पाचे शेर्पा निर्माण सेवाले ठेक्का सम्झौता गरेको काम २०७८ वैशाख ४ गते सम्पन्न गर्नुपर्ने यस पुलको काम झन्डै ३० प्रतिशत मात्रै पूरा भएको छ । यही खोलामा यस कम्पनीले जिम्मा लिएका अन्य दुई मोटरेबल पुलसमेत अलपत्र छन् । 

ठेकेदार कम्पनीले काम अलपत्र छाडेपछि जिल्ला प्रशासन कार्यालयले २०७७ माघमा रुग्ण आयोजनाका रुपमा सूचीकृत गरेर काम सक्न लिखित चेतावनी नै दिएको थियो । स्थानीय र प्रशासनको दबाबले बल्ल काम थालेको ठेकेदार कम्पनीले पुलको जग निर्माणमै गुणस्तरहीन सामग्री प्रयोग गरेको स्थानीयले  गुनासो गरेका हुन् ।  

निर्माण सामग्री गिट्टी र बालुवामा माटो मिसाइएको, गिट्टीका साइज निकै ठूलो र सानो देखिएको विषयमा हर्कपुर सडक डिभिजन कार्यालयका प्रमुख अरुणकुमार लाल कर्णले निर्माणमा गुणस्तर कायम गर्न प्राविधिक नै खटाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्राविधिक नै खटाइएको छ, केही गुनासो आएकाले त्यसबारे सोधिसकेको छु ।’ उहाँले बालुवामा माटो मिसिएको कुरा उठेको र चालेर, गिट्टी पखालेर मात्रै प्रयोग गर्न निर्देशन दिइएको जानकारी दिनुभयो ।   

 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया