सात करोड बढी लागतमा बनेको विद्यालय भवन एक वर्ष नबित्दै चुहिन थाल्यो, ढलान उप्कियाे

 भदौ ५, २०७८ शनिबार १८:५३:३ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – निर्माण भएको एक वर्ष नबित्दै मन्थली नगरपालिका-१२ मा रहेको श्री माध्यामिक विद्यालय चुहिन थालेको छ ।

एसियाली विकास बैंक (एडीबी)काे आर्थिक सहयोगमा भर्खरै निमार्ण सम्पन्न भएको नयाँ सुविधा सम्पन्न विद्यालय भवनको छतबाट भुइँतलासम्मै पानी चुहिएर कक्षा कोठा डुबानमा परेका छन् । वि.स. २०७२ सालको विनाशकारी भूकम्पले पुरानो विद्यालय भवन भत्काएपछि एडीबीको आर्थिक सहयोगमा नयाँ भवन निमार्ण गरिएको हो । भवन निमार्णको जिम्मेवारी पाएको खानी निमार्ण सेवा प्रालिले कमजोर र गुणस्तहीन सामाग्री प्रयोग गरेका कारण नयाँ भवनको छतबाट पानी चुहिएको स्थानीय अभिभावकहरुले आरोप लगाएका छन् । 

विद्यालयका दुईवटा भवन एडीपीको ७ करोड ४६ लाख २४ हजार ७ सय ४५ रुपैयाँको लागतमा निमार्ण सम्पन्न भएको हो । २०७५ सालमा निमार्ण कार्य शुरु भएर २०७७ चैत्र २८ गते सम्पन्न भएको थियो । निमार्ण सम्पन्न भएका दुईवटा भवनमा गरि २१ वटा कक्षा कोठा, ६ वटा शौचालय र घेराबार समेत रहेको श्री माध्यमिक विद्यालयका प्रध्यानाध्यापक पवन खड्काले जानकारी दिनुभयाे । 

वर्षातका कारण आकाशको पानी सबै भवन भित्र छिरेर कक्षा कोठाभरि पानी भरिएपछि अहिले ती कक्षाकोठामा पढाइ बन्द गरिएको प्रअ खडकाले बताउनुभयो । भूकम्पले पुरानो विद्यालय भवन भत्किएपछि एडीबीको सहयोगमा नयाँ भवन बन्दा खुसी भएका शिक्षक तथा अभिभावकहरु बनेको नयाँ भवन पनि बिग्रेपछि चिन्तित बनेका छन् ।

विद्यालयमा जडान भएको विद्युत लाइन सर्ट भएर विद्यार्थीहरुलाई करेन्ट लाग्ने पो ही की भन्ने चिन्ताले आफूहरुलाई सताएको मन्थली–१२ गेलुका कर्णवहादुर पाण्डेले बताउनुभयो । 

‘विद्यालय गएका बालबालिका सकुशल फर्केर आउँछन कि आउँदैनन् भन्ने चिन्ताले सबै अभिभावकहरुलाई सताएको छ’, उहाँले भन्नुभयो, ‘विद्यालयको घेराबार सबै लडेको छ । भुइँतलामा गरेको ढलान सबै उप्किएको छ ।’ विद्यालय निमार्ण गर्दा धेरै लापर्बाही भएको उहाँको भनाइ छ । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खुशहरि बुढाका अनुसार विद्यालय भवन निमार्ण व्यवसायीले विधिवत रुपमा हस्तान्तरण गर्न बाँकी नै छ । विद्यालयको अवस्थाबारे निमार्ण व्यवसायी र जिल्ला आयोजना कार्यालय (शिक्षा)लाई जानकारी गराइसकेको उहाँले बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया