सरकार एकलौटी ढङ्गले अघि बढेको भन्दै सत्तापक्षकै सांसदले प्रदेश सभा बैठक बहिष्कार गरे

 साउन ३, २०७९ मंगलबार १६:५३:५३ | मुना हमाल
unn.prixa.net

सुर्खेत – कर्णालीमा सरकार एकलौटी ढङ्गले अघि बढेको भन्दै सत्तापक्षकै सांसदले प्रदेश सभा बैठक बहिष्कार गरेका छन् । माओवादी केन्द्रका सांसदले सरकार प्रमुख सत्ता साझेदारविना एकलौटी ढङ्गले अघि बढेको भन्दै आज मङ्गलवारकाे प्रदेश सभा बैठक बहिष्कार गरेका हुन् । 

बैठकको सुरुमै माओवादी केन्द्रका प्रदेश सभा सदस्य गोपाल शर्माले सरकारले प्रमुख सत्ता साझेदार दललाई निषेध गर्न खोजेर एकलौटी ढङ्गले अघि बढेको आरोप लगाउनुभयो । उहाँले अघिल्लो सरकारले सुरु गरेका महत्त्वपूर्ण कार्यक्रम र विधेयकलाई याे सरकारले बेवास्ता गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारले प्रमुख सत्ता साझेदारको रूपमा रहेको माओवादी केन्द्रलाई पूर्णरूपमा बेवास्ता गरेको छ । माओवादीलाई लतारेर हिँड्न सकिन्छ कि भन्ने सरकारकाे सोच त होइन ? अघिल्लो सरकारले परिवर्तनका लागि जीवन सर्मपण गर्नेका लागि ल्याएको शहीद स्मृति भत्ता, घाइते अपाङ्गताका लागि जीवन निर्वाह भत्ता लगायतका कार्यक्रम याे सरकारले कार्यान्वयन नगरेर बजेट फ्रिज भयो । पर्वतीय विश्वविद्यालय, सिञ्जा सभ्यता, आमसञ्चारलगायतका महत्त्वपूर्ण विधेयकहरू सरकारका कारण प्रदेश सभाको सूचीमा पर्न सकेका छैनन् । सरकारकाे यस्तो गविविधिले हामीले उचित महसुस गर्न सकेको छैनौँ । यसको निष्कर्ष ननिकालेसम्म संसद् र संसदीय बैठकमा हामीहरू उपस्थित नहुने जानकारी गराउँछु ।’ 

माओवादी केन्द्रका प्रदेश सभा सदस्यहरू बैठकबाट उठेर बाहिरिएपछि प्रदेश सभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ । 

कर्णालीमा नेपाली कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र र एकीकृत समाजवादी तीन दल गठबन्धनको सरकार रहेको छ । यसअघि माओवादी केन्द्रको नेतृत्वमा सरकार रहेको थियो । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया