२७ वर्षसम्म बनेन दिपायल बसपार्क, गाडी पार्किङमा समस्या

 साउन ८, २०७९ आइतबार १४:९:१८ | विमल बिष्ट
unn.prixa.net

डोटी - डोटीको दिपायलमा दुई दशकभन्दा अगाडिदेखि निर्माण गरिने भनिएकाे दिपायल बसपार्क अझैसम्म बन्न सकेकाे छैन । 

दिपायल सिलगढी नगरपालिकाले बसपार्क निर्माणका लागि २७ वर्ष अगाडि पाँच राेपनी जग्गा किनेकाे थियाे । तर बसपार्क निर्माण नभएपछि गाडी पार्किङमा समस्या हुँदै आएकाे छ । 

दिपायलमा गतिलो बसपार्क नहुँदा यातायात व्यवसायीले वर्षौँदेखि मूल सडकमै गाडी पार्किङ गर्ने गरेका छन् । जसका कारण याे सडक हुँदै अछाम, बाजुरा जाने रात्रिकालीन बसहरुलाई समस्या पर्ने गरेकाे छ । 

दिपायल पिपल्लाका स्थानीयवासी तथा व्यवसायी खडकबहादुर शाही भन्नुहुन्छ 'नगरपालिकाले बसपार्क बनाउन किनेको जमिन अलपत्र छ । यातायात व्यवसायीले सडकमै गाडी पार्किङ गर्ने गरेका कारण दिनमा यात्रु र राति रात्रिकालीन बस सञ्चालनमा समस्या हुँदै आएको छ ।' 

नगरपालिकाले बसपार्क बनाउनका लागि खरिद गरेको जमिन गौचरणमा परिणत भएको छ । २०५२ सालमा नगरपालिकाले १ लाख ९० हजार रुपैयाँमा दिपायलका स्थानीयवासीबाट ५ रोपनी जमिन प्रतिव्यक्ति ३८ हजार रुपैयाँका दरले किनेकाे थियाे । 

त्यतिबेला नगरपालिकाले बसपार्क निर्माणका लागि ८ लाख ९० हजार रुपैयाँ खर्च गरेर चारैतिरबाट घेरबार समेत गरेको थियाे । तर पछि साघुँरो हुने भन्दै निर्माण कार्य अगाडि नबढाइएकाे नगरपालिकाका कर्मचारी तेजराज भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, 'साघुँरो हुनेभएपछि  काम बन्द भयो, अहिले बसपार्क निर्माणका लागि पहल भए पनि जमिन नपाउँदा काम अगाडि बढ्न सकेको छैन ।'

दिपायल सिलगढी नगरपालिकाका मेयर बाजीसिंह खड्काले डोटीमा गाडीकाे चाप थपिँदै गएकाले दिपायलमा किनिएको जमिनमा बसपार्क बनाउँदा साघुँरो हुने बताउनुहुन्छ । उहाँले राजपुरमा बसपार्क निर्माणका लागि प्रकृया सुरु भइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, 'गाडीको सङ्ख्या दिनहुँ थपिँदै गएको छ, दिपायलमा किनिएको ५ रोपनी जमिनले नपुग्ने भयो, राजपुरमा नगर विकासको जमिनमा बसपार्क निर्माणका लागि डीपीआर भइसकेको छ।'

नगर विकासको जमिनमा बसपार्क निर्माणका लागि डीपीआर गरिए पनि राजपुरमा बसपार्क बनाउँदा सबैलाई पायक नपर्ने भन्दै यातायात व्यवसायीले नै विरोध गर्न थालेपछि याे कार्य पनि अन्याेलमा परेको बताइएको छ ।अहिले नगरपालिकाले दिपायल पिपल्लामा रहेको निजी जमिन भाडामा लिएर बसपार्क सञ्चालन गर्दै आए पनि बसपार्कमा मुस्किलले १० देखि १२ वटा मात्रै बस अट्ने गरेकाे छ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया