बजेट सुनिश्चित नभएसम्म निजगढमा एउटा रुख पनि काट्न दिइन्न : मन्त्री यादव

 साउन २५, २०७९ बुधबार १७:११:५३ | विमल बिष्ट
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – वन तथा वातावरणमन्त्री प्रदीप यादवले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगिया बस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक पर्ने बजेटको सुनिश्चितता भएमात्रै रुख काट्न मन्त्रालयबाट अनुमति दिइने बताउनुभएको छ ।

सामुदायिक वन दिवस २०७९ का अवसरमा आज बुधवार आयोजित राष्ट्रिय पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले बजेटको सुनिश्चितता नहुँदासम्म निगजढमा एउटा रुख पनि काट्न नदिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘विमानस्थल निर्माणका नाममा वन विनाश गर्न दिइने छैन, सम्माननीय अदालतलाई म धन्यवाद दिन चाहन्छु, रुख कटान गर्ने, विभिन्न नाटक गरेर पैसा खाइदिने तर विमानस्थल निर्माणका लागि बजेट सुनिश्चितता नहुने । यस्तो षड्यन्त्र हुन दिन्न ।’

निजगढ विमानस्थल निर्माणका लागि मन्त्रालय सधैँ सकारात्मक रहेकाले सबैभन्दा पहिले मुआब्जा पाइसकेको वनको कब्जा गरिएको झन्डै पाँच सय हेक्टर जमिन खाली हुनुपर्ने र बजेटको सुनिश्चितता हुनुपर्ने उहाँको भनाइ छ । मन्त्री यादवले वन माफियालाई तह लगाउनका लागि आफु जस्तोसुकै कदम चाल्न पनि पछि नहट्ने उल्लेख गर्नुभयो । 

कार्यक्रममा बोल्दै मन्त्री यादवले सामुदायिक वनका क्रियाकलापले नेपालको वन जङ्गल क्षेत्रमा उल्लेख्य वृद्धि हुनुका साथै वन विकासमा ठूलो योगदान पुगेको बताउनुभयो । वन कर्मचारी, विभिन्न सामुदायिक वन तथा समुदायमा आधारित साझेदारी वन, कबुलियती वन, निजी वनहरूले गरेका राम्रा कामका कारण अहिले वन तथा वातावरण मन्त्रालय गालीको ठाउँमा ताली खाने मन्त्रालय भएको उहाँको भनाइ छ । 

मन्त्री यादवले केही षड्यन्त्रकारीहरूले वनको जग्गा सुकम्वासीका नाममा कब्जा गर्ने, अतिक्रमण गर्ने, वन जङ्गल मास्ने, फडानी गर्ने काम गरिरहेकले त्यसरी कब्जा गरिएका जग्गा खाली गराएरै छोड्ने दाबी पनि गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया