खेमराज गुरूङ ट्रष्टद्वारा गायकद्वय श्रेष्ठ र ढुङ्गाना सम्मानित

 भदौ ४, २०७९ शनिबार १२:५४:१७ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा – अमर स्रष्टा खेमराज गुरुङको स्मृतिमा स्थापना गरिएको खेमराज गुरुङ ट्रष्टले यस वर्षको स्रष्टा सम्मान वरिष्ठ संगीतकर्मी दीप श्रेष्ठलाई प्रदान गरेको छ । २०२५ साल पुस ३ गते रेडियो नेपालमा ‘म पत्थरको देवता होइन’ बोलको गीत रेकर्ड गरेर औपचारिक रूपमा गीत/संगीतको क्षेत्रमा पदार्पण गर्नुभएका श्रेष्ठको पाँच सयभन्दा बढी गीत रेकर्ड भएका छन् ।

लोकप्रिय टेलिभिजन गायन रियालिटी शो ‘भ्वाइस अफ नेपाल’को जजसमेत भइसकेका श्रेष्ठलाई ट्रष्टले ५० हजार रुपैयाँको राशीसहित सम्मान–पत्र प्रदान गरेको हो । यसअघि यस्तो सम्मान वरिष्ठ गीतकार रत्नसम्शेर थापा (२०७४), वरिष्ठ संगीतकार प्रकाश गुरुङ (२०७५), वरिष्ठ जनपक्षीय गायक रामेश (२०७६) लाई प्रदान गरिएको थियो ।

यसैगरी ट्रष्टले प्रतिभा पुरस्कार गायक भविन ढुङ्गानालाई प्रदान गरेको छ । नेपाल टेलिभिजनबाट प्रशारण भएको गायन रियालिटी शो ‘नेपाली तारा’को पहिलो सिजनको उत्कृष्ठ चारमा पर्न सफल ढुङ्गाना पछिल्लो समय लोकप्रिय टेलिभिजन गायन रियालिटी शो ‘भ्वाइस अफ नेपाल’को कोच दीप श्रेष्ठको संगीत सल्लाहकार थिए । दर्जनौँ गीतका स्वर र संगीत भरेका ढुङ्गाना त्रिभुवन विश्वविद्यालय ललितकला क्याम्पसका संगीत शिक्षकसमेत हुन् । प्रतिभा पुरस्कारको राशी भने २० हजार रुपैयाँ रहेको छ । यसअघि यस्तो पुरस्कार मेलिना राई (२०७४), ओमप्रकाश राई (२०७५) र सुसन लामा (२०७६)लाई प्रदान गरिएको थियो ।

२०७७ र २०७८ सालको सम्मान तथा पुरस्कार वितरण कार्यक्रम भने कोभिड–१९ महामारीका कारण स्थगित गरिएको ट्रष्टका अध्यक्ष जीवन गुरूङले बताउनुभयो । खेमराज गुरुङ ट्रष्ट नेपाली गीत, संगीत, कला, साहित्य र संस्कृतिको श्रीवृद्धिका लागि विभिन्न गतिविधि सञ्चालन गर्ने, नयाँ प्रतिभालाई पुरस्कृत गर्दै हौसला प्रदान गर्ने तथा अग्रज स्रष्टालाई सम्मान गर्नेलगायतका उद्देश्य राखेर २०७४ सालमा स्थापना गरिएको हो ।

पूर्वी पहाडी जिल्ला संखुवासभामा जन्मिएका स्वर्गीय गायक गुरूङको ‘वारि जमुना, पारि जमुना’ आलु तामाले लगायत दर्जनौँ गीत लोकप्रिय छन् । लोकप्रिय गायक खेमराज गुरुङको २०७३ साल भदौमा कृष्ण जन्माष्टमीको दिन निधन भएको थियो ।
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया