ओखलढुङ्गा : कांग्रेसका प्रदीप सुनुवार र एमालेका अम्बीर गुरुङको रोचक प्रतिस्पर्धा

 कात्तिक २१, २०७९ सोमबार १९:१७:८ | शिव ढुंगाना
unn.prixa.net

ओखलढुङ्गा – ओखलढुङ्गा प्रदेश सभा (क) मा गठबन्धनकातर्फबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीपकुमार सुनुवार र नेकपा एमालेका तर्फबाट प्रदेश नम्बर १ का पूर्वमन्त्री अम्बीरबाबु गुरुङ चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । दुवै जना उम्मेदवार जिल्लामा स्थापित र राष्ट्रिय राजनीतिमा समेत प्रभाव राख्न सक्ने भएकाले उहाँहरूबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । 

सुनुवार दुई पटक लगातार कांग्रेसको जिल्ला सभापति र अहिले केन्द्रीय सदस्य हुनुहुन्छ । गुरुङ एमालेको प्रदेश कमिटीको सचिवालय सदस्य, २०७४ मा निर्वाचित सांसद र प्रदेश १ को भौतिक पूर्वाधार विकास मन्त्रीको जिम्मेवारी सम्हालेको नेता हुनुहुन्छ ।  

सुनुवारसँग २०५४ सालमा तत्कालीन गाविस अध्यक्ष तथा जिल्ला सभापति हुँदा जिल्ला विकास समितिको राजनीतिक संयन्त्रको नेतृत्व गरेर काम गरेको अनुभव छ । गुरुङ प्रदेश सरकारको शक्तिशाली मन्त्रालय सञ्चालन गर्दा प्रदेशको विकासमा सरकारले गरेका काम र ती संरचनाबारे जानकार हुनुहुन्छ । 

दुवै नेतामा हक्की स्वभाव र कुनै एउटा निचोडमा पुगेपछि पछि नर्फकने स्वभाव छ । चुनाव जित्दा आफ्नो पार्टीको नेतृत्वमा प्रदेश सरकार बन्ने परिस्थितिमा दुवै नेता प्रदेश मन्त्रीका मुख्य दाबेदार पनि हुनुहुन्छ । 

पहिलो पटक यी दुई नेताबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ । यसअघि दुवै जना फरक–फरक निर्वाचन क्षेत्रबाट उठ्नुभएकाे थियाे । यसअघिको चुनावमा सुनुवार पराजित हुनुभयो भने गुरुङ चुनाव जितेपछि राज्यमन्त्री हुँदै मन्त्री हुनुभयो । गुरुङका लागि यो चुनाव तेस्रो हो भने सुनुवार दोस्रो पटक प्रतिस्पर्धामा हुनुहुन्छ । २०५६ सालको आम चुनावमा गुरुङ नेकपा मालेको चुनाव चिह्नबाट प्रतिनिधि सभाका उम्मेदवार हुनुहुन्थ्यो ।  

यस्तो छ अङ्कगणित 

प्रदेश सभा क मा चार वटा पालिका छन् । यसमध्ये गएको वैशाखमा भएको पालिका चुनावमा कांग्रेस–माओवादी गठबन्धनले चिंशखुगढी गाउँपालिकामा प्रमुख–उपप्रमुख, सिद्धिचरण नगरपालिकामा मेयर र खिजीदेम्बा गाउँपालिकामा उपप्रमुख जितेका थिए । खिजीदेम्बाको प्रमुख जनता समाजवादीले जित्दा सिद्धिचरणको उपमेयर एमालेले जितेको थियो । मोलुङ गाउँपालिकाको दुवै सिट एमालेले जितेको थियो ।  

खिजीदेम्बा जितेको जसपाले प्रदेश सभामा उम्मेदवार उठाउँदा कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धन छ । एमाले एक्लै चुनावी प्रतिस्पर्धामा छ । पालिका चुनावको मत परिणामले गठबन्धनका सुनुवार बलियो देखिनुहुन्छ भने गुरुङ मन्त्री बनेपछि जिल्लामा धेरै विकासका योजना पार्ने मन्त्रीका रूपमा परिचित हुनुहुन्छ । उहाँले २१ म्हिना मन्त्री हुँदा जिल्लामा विभिन्न योजना ल्याउनुभएको थियो । 

गठबन्धनकातर्फबाट कांग्रेसका उम्मेदवार सुनुवार गाविस अध्यक्ष हुँदै जिल्ला पार्टी नेतृत्वमा हुँदा तत्कालीन जिल्ला विकास समितिको राजनीतिक संयन्त्रको नेतृत्व गरेर वडा–वडामा बजेट पठाउने काम गर्नुभएको थियो । लामो समय भूगोलको राजनीतिमा सक्रिय सुनुवार र मन्त्रीसमेत भइसक्नुभएका गुरुङ दुवै जिल्लाको विकासका लागि खट्ने र विकासप्रेमी नेताका रूपमा परिचित हुनुहुन्छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया