यज्ञराज 'भर्सेस' रामहरि : अंकगणित फेरबदलको कसरत

 कात्तिक २३, २०७९ बुधबार १८:३२:१२ | शिव ढुंगाना
unn.prixa.net

ओखलढुङ्गा – अनेरास्ववियुको चितवन महाधिवेशन – २०६३ मा ठाकुर गैरेसँग अध्यक्षमा पराजित भएपछि यज्ञराज सुनुवार ओखलढुङ्गा फर्किनुभयो । एमालेको तत्कालीन सगरमाथा अञ्चल कमिटी सदस्य भएर जिल्ला फर्किनु भएका सुनुवार २०६४ सालको संविधान सभामा निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्नुभयो, तर  माओवादीका उम्मेदवार केशव राईसँग ३ हजार मतान्तरमा पराजित हुनुभयो ।

एक पटक विद्यार्थी संगठनको चुनाव र एक पटक संसदीय चुनावमा हार व्यहोरेपछि भने उहाँले लगातार दुई वटा आम निर्वाचन जित्नुभयो । २०७० सालको संविधानसभा र २०७४ सालको प्रतिनिधि सभाको निर्वाचन जितेर चर्चामा आउनुभएका सुनुवार २०७९ को निर्वाचन जितेर ह्याट्रिक गर्ने दाउमा हुनुहुन्छ ।

दुई वटा निर्वाचन क्षेत्र हुँदा २०७० मा आफ्नै बलबुताले जितेर एमालेको जित्ने पहिलो उम्मेदवारको इतिहास बनाउनुभएका सुनुवारलाई दुवै निर्वाचन क्षेत्र समाहित भएर एक बनेपछि संविधान सभामा फरक क्षेत्रबाट जित्नुभएका रामहरि खतिवडासँग दोस्रो पटक प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।

२०७४ मा कांग्रेसका महाधिवेशन प्रतिनिधि खतिवडालाई ५ हजार २ सय मतान्तरले पराजित गर्नुभएका सुनुवार यस पटक पनि खतिवडालाई पराजित गर्ने रणनीतिमा हुनुहुन्छ । तर, यस पटक वाम गठबन्धनमा जस्तो सहज देखिँदैन । २०७४ मा माओवादी सुनुवारसँग थियो । यो पटक भने माओवादी खतिवडाको सारथी बनेको छ ।

पार्टी राजनीतिमा सधैँ हस्तक्षेप गर्न सक्ने खतिवडाको २०७४ को हार भने अप्रत्यासित थियो । यसैलाई उल्ट्याउन गठबन्धनको साथ महत्वपूर्ण रहेको खतिवडाको बुझाइ छ । यसका लागि गठबन्धनको अंकगणित कायम राख्नु उहाँको चुनौती हो ।

अंकगणित फेरबदलको कसरत

कांग्रेस केन्द्रीय सदस्य खतिवडा यसअघिको पराजयलाई जितमा बदल्न माओवादीको साथमा सफल हुनेमा ढुक्क हुनुहुन्छ । गठबन्धनको गणितीय हिसाब भने खतिवडाको पक्षमा देखिन्छ । पालिका चुनावको मत परिणाम हेर्ने हो भने एमालेको भन्दा कांग्रेसको २ हजार मत बढी छ । अर्थात् माओवादीको करिब ७ हजार मत छ । नेकपा एकिकृत समाजवादीको भने ९ सय हाराहारी छ ।

गठबन्धनका उम्मेदवार खतिवडाको पक्षमा विगतको हिसाब हेर्दा करिब दश हजारको अंकगणित देखिन्छ । यही अंकगणित देखेर एमालेले गठबन्धन दलका नेता कार्यकर्ता दैनिक प्रवेश गराइरहेको छ ।

एमालेले अहिलेसम्म एकिकृत समाजवादीका जिल्ला कमिटीका २ जना उपसचिवसहित ४ जना जिल्ला सदस्य, युवा संघका अध्यक्ष र सचिवसमेत प्रवेश गराएको छ । माओवादीका ३ जना जिल्ला सदस्य तथा वडामा उम्मेदवार बनेका ३ जना, कांग्रेसका पालिका समितिका सचिव लगायतको टोली प्रवेशपछि एमाले एक्लै गठबन्धनलाई भारी पर्ने आंकलन गर्न थालिएको छ ।

चुनावी अभियानमै गठबन्धनको अंकगणित भताभुंग भएको एमाले जिल्ला उपाध्यक्ष हर्कबोल राईको दाबी छ । उहाँको दाबी केही हदसम्म सत्य देखिन्छ । किनभने चुनावी अभियानकै क्रममा एमालेले एकीकृत समाजवादी, माओवादी र कांग्रेसका नेता कार्यकर्ताहरु प्रवेश गराएर गठबन्धनलाई चुनौती दिइरहेको छ ।

‘जिल्लाव्यापी पार्टी प्रवेशपछि उहाँहरुको दश हजारको अंकगणित अहिले माइनस पुगिसकेको छ । यो हप्तापछि उहाँहरु पूरै रक्षात्मक अवस्थामा पुग्नुहुन्छ’ उपाध्यक्ष राईले भन्नुभयो । एमाले भित्रको गुटगत विवाद चुनावी अभियानकै क्रममा सकिनु र गठबन्धनको मुख्य दल कांग्रेस भित्रको असन्तुष्टि सतहमै देखिनु एमालेका लागि अवसर बनेको छ । 

चुनावी वातावरण तातेपछि हौसिनु भएका एमाले उम्मेदवार यज्ञराज सुनुवार भन्नुहुन्छ, ‘उनीहरु नेता जम्मा पारेर गठबन्धन गर्छन्, हाम्रो गठबन्धन मतदातासँग छ ।’

उप–प्राध्यापक एवम् विश्लेषक युवराज दाहाल गठबन्धनभित्रै हुने अनेक चलखेलले गठबन्धन आफैँ चुनौतीमा फस्ने खतरा रहेको टिप्पणी गर्छन् । गठबन्धनभित्र गठबन्धन संस्कृति नदेखिँदा कार्यकर्ताहरु उत्साहजन परिचालन नदेखिएको उहाँको भनाइ छ ।

उता गठबन्धनका उम्मेदवार रामहरि खतिवडा भने एमालेले आफूसँग प्रतिस्पर्धा नै गर्न नसक्ने दाबी गर्नुहुन्छ । उहाँले भन्नुभयो, ‘एकाध हजार मत यताउता भएपनि दश हजार भन्दा कम मतान्तर हुँदैन, रेकर्ड राख्ने गरी चुनाव जित्छु ।’

उम्मेदवाहरुका आ–आफ्नै दाबी भए पनि जिल्लामा जनजाति समुदाय र महिला मतदाता धेरै छन् । उनीहरुले कुन उम्मेदवार रोज्ने हुन् त्यसमा जित भर पर्ने देखिन्छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया