जङ्ग बोगटीकाे उपन्यास 'नपुरिएका घाउहरु' विमोचन

 माघ २२, २०७९ आइतबार १३:२३:४५ | अमर सुनार
unn.prixa.net

दैलेख – जङ्ग बोगटी ‘त्रिवेणी’ उमेरले २३ वर्ष पुग्नुभयाे, दैलेखको ठाँटीकाँध गाउँपालिका-२ लकान्द्र गाउँमा जन्मिएका उहाँ उच्च शिक्षा अध्ययन गर्न दैलेख सदरमुकाम आउनु भयाे । पढाइ खर्च पुर्याउन सदरमुकामका बोर्डिङ्ग स्कुलमा पढाउन थाल्नुभयाे । 

उहाँ बिहान क्याम्पस जाने, दिनभर विद्यालय जाने र बचेको समय साहित्य रचना र सिर्जनामा खर्चन थाल्नुभयाे। । सुरुमा त उहाँ केही गजल मात्रै लेख्ने गर्नुहुन्थ्याे । लेख्दैजाँदा उहाँले लेखेका गजल एउटा सङ्ग्रहमा परिणत भयो । उहाँले “प्रेमलहरी” नामक एक गजल सङ्ग्रह प्रकाशन गर्नुभयाे । 

साथै स्थानीय रेडियोमा साहित्यिक कार्यक्रम सञ्चालन गर्न थाल्नुभयाे । यसै सिलसिलामा उहाँ स्थानीय स्तरमा हुने विभिन्न साहित्यिक कार्यक्रमहरुमा सहभागी हुन थाल्नुभयाे । उहाँका रचना मन पराउनेको संख्या दिनदिने बढ्दै गए ।

उहाँकाे वाचन क्षमता पनि निखारिँदै गयो । दर्शक र श्रोताको माया र साथ सहयोगले उहाँले झनै लेखनलाई प्राथमिकता दिन थाल्नुभयाे । लेख्दै जाँदा आफूले भोगेका भोगाइ लेख्ने निधो गर्नुभयाे । मनका वह, भोगाइ र समाजको तितो यथार्थ लिपिबद्ध गर्न थाल्नुभयाे । लेख्दै जाँदा उहाँकाे लेख एउटा उपन्यास नै बन्यो । सानै उमेरमा बुबाको स्वर्गवास भएपछि आमाले दुःख पीडासँग लड्दै गर्दा भोगेका पीडा समेटिएको उहाँकाे भोगाइ अब सबै मान्छेको भोगाइ बनेको छ ।

समाजमा नारीले बेहोर्नुपर्ने पीडा, राजनीतिक विकृति, वैदेशिक रोजगारीमा जानुपर्ने समाजको वास्तविकता र यसले ल्याउने कारुणिक वियोगको कथा समेटिएको उपन्यास “नपुरिएका घाउहरु” विमोचन गरिएको छ ।  

उपन्यास लेखनदेखि प्रकाशनसम्म उहाँले बेहोरेको कठिनाइ यो विमोचनले बिर्साएको छ । उहाँ भन्नुहुन्छ ‘मैले यो उपन्यास लेख्छु’ भन्ने सोचेको पनि थिइनँ । सबैको मायाले आज उपन्यास सार्वजनिक गर्न पाउँदा निकै गौरव महसुस गरेकाे छु।'

उपन्यासकार प्रेम प्रकाश मल्लले पुस्तकको विमोचन गर्नुभयो । बहुचर्चित उपन्यास ‘झरेका पातहरु’का लेखक मल्लले यो मोफसलमै बसेर यस्तो कृति रचना गर्नु गौरवको कुरा भएको बताउनुभयो । पुस्तकको समालोचना गर्दै नारायण क्याम्पसका उपप्राध्यापक नरेन्द्रराज उपाध्याय र गुणनीधि आचार्यले पुस्तकले आम नेपालीको पीडा दर्शाएको उल्लेख गर्नुभयो ।

दैलेखका दर्जनभन्दा बढी साहित्यकारहरुले विभिन्न लेख रचना वाचन गरेको यस कार्यक्रमको संयोजन कला साहित्य उत्थान प्रतिष्ठान नेपालले गरेको हाे भने उपन्यास भुँडी प्रकाशनले छापेको हो । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया