सगरमाथा क्षेत्र छोड्ने पर्यटक बढ्दै : लुक्लामा हवाई टिकट लिनेको चाप

 जेठ २१, २०८० आइतबार ७:४५:५३ | सुवास दर्नाल
unn.prixa.net

साेलुखुम्बु - पर्यटकीय गन्तव्य सगरमाथा क्षेत्र छोड्ने पर्यटकको सङ्ख्या बढेको छ । यसवर्ष वसन्तयामको पर्यटक सिजन सकिएसँगै सगरमाथा क्षेत्रबाट बाहिरिने पर्यटकको सङ्ख्या बढ्न थालेको हो ।

सगरमाथा राष्ट्रिय निकुञ्जको तथ्याङ्क अनुसार पछिल्लो एक हप्तामा २ सय ६९ विदेशी र ५५ नेपाली गरी ३ सय २४ जना पर्यटक भित्रिँदा ७ सय ९१ विदेशी र २ सय ३९ नेपाली गरी १ हजार ३० जना बाहिरिएका छन् । एक महिना अघिसम्म भित्रिने पर्यटकको चाप रहेको खुम्बुमा अहिले फर्किने पर्यटकको सङ्ख्या बढ्दै गएको निकुञ्जका सूचना अधिकारी मनोजकुमार मण्डलले बताउनुभयो ।

नाम्चे, खुम्जुङ, जोरसल्लेलगायतका पर्यटकीय स्थलमा यतिखेर ओरालो झर्ने पर्यटक धेरै देखिने गरेको नाम्चेका पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताउनुभएको छ । सगरमाथा क्षेत्रबाट फर्किने पर्यटकको सङ्ख्या बढेसँगै लुक्लामा हवाई टिकट लिनेको चाप पनि बढेको छ ।

खुम्बुबाट फर्किने धेरैजसो पर्यटकले हवाई सेवा प्रयोग गर्ने र अहिले तेन्जिङ हिलारी विमानस्थलमा चाप बढेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख महेश श्रेष्ठले जानकारी दिनुभयो । लुक्ला पुग्ने जहाजले कार्गो सामग्री लिएर जाने र काठमाण्डौ फर्किँदा यात्रु लिएर फर्किने गरेका प्राधिकरण प्रमुख श्रेष्ठको भनाइ छ ।

खुम्बुमा वर्षको दुई सिजन फागुन अन्तिमदेखि जेठ मध्यसम्म र असोजदेखि मंसिरसम्मलाई मुख्य पर्यटकीय सिजन मानिन्छ । यस वर्षको वसन्तयाममा ६ सयभन्दा जना धेरै आरोही सगरमाथाको शिखरमा पुगेका छन् । पर्यटन विभागका निर्देशक युवराज खतिवडाका अनुसार यस वर्ष आरोहणका लागि चार सय ७८ जनाले अनुमति लिएका थिए ।

एक जना आरोहीको साथमा कम्तीमा एक जना सहयोगी हुने भएकाले अनुमति लिएको भन्दा दोब्बर धेरै मानिस शिखरतर्फ जान्छन् । यस वर्ष वसन्तयाममा सगरमाथा आरोहणका क्रममा १२ जनाको ज्यान गएको छ भने पाँच जना हराइरहेका छन् । यस वर्ष वैशाख ३० गते सुरु भएको आरोहण जेठ १२ गतेसम्म चलेको थियो । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया