भीभीआईपीहरुको उपचार स्वदेशमै गर्न पाउँदा उत्साहित भएका छौँ

 साउन २४, २०८० बुधबार १३:४४:४८ | रासस
unn.prixa.net

नेपालमा आम जनमानसमा निकै परिचित र कहलिएका डाक्टरको नाम हो भगवान कोइराला । उहाँले गरेको उपचारबाट नयाँ जीवन पाएकाहरु त उहाँलाई साक्षात भगवान् नै मान्दछन् । उहाँले नेपालमा मुटु रोगको उपचारलाई अत्यन्त विश्वसनीय र भरोसायोग्य बनाइदिएका कारण पनि आम नेपालीको उहाँप्रति अत्यन्त विश्वास र श्रद्धा छ । उहाँमा  विषयगत क्षमता मात्रै होइन, उच्च मानवीय भावना पनि छ । हालसम्म उहाँ आफैँले र आफ्नो प्रत्यक्ष निगरानीमा १४ हजारभन्दा बढी मुटुरोगीको शल्यक्रिया गरिसक्नुभएको छ अर्थात् उनीहरुलाई नयाँ जीवन प्रदान गर्नुभएको छ ।

केही समयअघि उहाँले हृदय नामक पुस्तक पनि बजारमा ल्याउनुभएको थियो, जुन पुस्तक सर्वाधिक बिक्री भएका पुस्तकहरुको सूचीमा पनि परेको छ । पुस्तकमा जीवनमा भोगेका सङ्घर्षका अनुभव, स्वास्थ्य क्षेत्रका समस्या सुल्झाउने उपाय र चिकित्सा शिक्षाका विविध विषयलाई समेत विश्लेषणात्मक धारणासहित समावेश गर्नुभएको छ । नेपालको स्वास्थ्य क्षेत्रमा रहेका तमाम समस्या र सम्भावनाको जीवन्त चित्रण कोरिएको यो पुस्तक पढेपछि लगनशील, मेहनती र कुशल डाक्टरको कथामात्र नभइ उहाँको व्यवस्थापकीय गुणबारे अवगत हुन्छ । कुनै पनि काम शुरु गरिसकेपछि त्यसलाई जुनै हालतमा सम्पन्न गरिछाड्ने भगवानको शैली जहाँ जुनसुकै क्षेत्रका लागि पनि उदाहरण बन्न सक्दछ । प्रस्तुत छ, वरिष्ठ मुटुरोग विशेषज्ञ प्राध्यापक तथा सामाजिक अभियन्ता डा कोइरालासँग गरिएकाे कुराकानीकाे सम्पादित अंश : 

नेपालमा मुटुरोगीको सङ्ख्या बढ्दो देखिन्छ । यसको मुख्य कारण के होला ?

नेपालमा मुटुरोगीको सङ्ख्या वास्तवमै वृद्धि भइरहेको छ । यसो हुनुको मुख्य कारण जीवनशैली, आहारविहार नै हो । पछिल्लो समय क्षयरोग, मलेरिया, झाडाबान्ताजस्ता सर्ने रोगको सङ्क्रमण घट्यो तर मुटु रोगजस्ता नसर्ने रोगको प्रकोप बढ्न थाल्यो । नेपालीको औसत आयु बढेसँगै नसर्ने रोगको चाप पनि बढेको देखिन्छ । खासगरी पछिल्लो समय युवा वर्गमा मुटुरोगको समस्या देखिनुको मुख्य कारण खानपिन र खराब जीवनशैली नै हो ।

मुटुरोग लाग्न नदिन के कुरामा ध्यान दिनुपर्ने हुन्छ ?

मुटुरोगका कतिपय कारण जस्तैः उमेर, लिङ्ग, जेनिटिक जस्ता कुराहरु हाम्रो अधीनमा हुँदैनन् । तर धेरैजसो जोखिम न्यूनीकरण हाम्रै हातमा हुन्छन् । धुम्रपान तथा मद्यपान नगर्ने, जीवनशैलीमा परिवर्तन तथा नियमित व्यायाम एवम् मोटोपन घटाएमा मुटुरोग लाग्नबाट बच्न सकिन्छ । वायु प्रदूषणले पनि मुटुरोगलगायत विभिन्न स्वास्थ्य समस्या ल्याउने गरेको छ । समयमै गर्न सकिने उपचारप्रति बेवास्ता गर्ने वा हेलचेक्र्याइँ गर्ने बानीले पनि पछि गएर गम्भीर समस्या ल्याउने गरेको छ । बालबालिकालाई घाँटीमा सामान्य समस्या हुँदा समयमै उपचार नहुँदा पछि गएर उनीहरु मुटुका रोगी बन्नुपरेको छ । मानिसहरुमा आध्यात्मिक चिन्तन, योग, ध्यान गर्ने आदत बढाउन सकेमा शरीरमा स्वतः सकारात्मक ऊर्जा उत्पन्न हुन्छ । यसले मुटुलगायत कुनै पनि जटिल समस्या आउन नदिन सहयोग पुग्छ ।

नेपालमा मुटु रोगको उपचार सेवाको पहुँच नागरिकसम्म कसरी पुर्‍याउन सकिएला ?

स्वास्थ्य सेवा पाउनु हरेक नागरिकको नैसर्गिक अधिकार हुँदा सबैको पहुँचमा पुर्‍याउन आवश्यक छ । कतिपय स्वास्थ्य सेवालाई विकेन्द्रित गरी पालिकासम्म पुर्‍याउन जरुरत हुन्छ भने कतिपयलाई केन्द्र वा प्रमुख सहरी क्षेत्रसम्म पुर्‍याउँदा पनि हुन्छ । मुटु रोगको प्रारम्भिक पहिचान  गर्न सकिने स्वास्थ्य सेवालाई विकेन्द्रित गरी जिल्ला अस्पतालदेखि पालिकाका स्वास्थ्य केन्द्रहरुमा पुर्‍याउनुपर्छ । विशेषज्ञसहितको सेवालाई राजधानीलगायत प्रमुख सहरहरुमा पुर्‍याउनुपर्छ । अहिले काठमाण्डाैमा गङ्गालाल, मनमोहन कार्डियो थोरासिक सेन्टरमा मुटुरोगको सम्पूर्ण उपचार सेवा उपलब्ध छ । वीर अस्पतालमा असीको दशकमा शुरु भएकामा बीचमा केही वर्ष बन्द भएको र अहिले पुनः सञ्चालनमा ल्याइएको छ भने उपत्यका बाहिर चितवन, पोखरा, बुटबल, नेपालगञ्ज, वीरगञ्ज, धरान, विराटनगर र झापामा मुटुरोगको स्तरीय उपचार सेवा उपलब्ध छ ।

नेपालको मुटुरोगको उपचार सेवा विश्वका अन्य देशको तुलनामा कत्तिको स्तरीय छ ?

नेपालमा मुटुरोगको उपचार सेवालाई हेर्दा विश्वका अन्य देशको तुलनामा कमजोर मान्न सकिँदैन । धनी देशको तुलनामा प्रविधिमा केही कमी छ तर नेपाली डाक्टरहरु त्यहाँका भन्दा कम हुनुहुन्न । नेपालको नागरिकलाई चाहिने शल्यक्रियासहितको उपचार सेवा नेपालमा उपलब्ध छ । गङ्गालाल हृदयरोग केन्द्र देशकै महत्वपूर्ण अस्पतालमा रुपान्तरण भएको छ । त्यस्तै मनमोहन कार्डियो थोरासिक सेन्टर पनि उत्तिकै प्रभावकारी रहेको छ ।

तपाईँकै पहलमा ‘काठमाण्डाै इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’ (किओच) स्थापना गर्दै हुनुहुन्छ । यस्तो अस्पताल स्थापना गर्नुपर्ने के आवश्यकता देख्नुभयो ?

बाल स्वास्थ्यलाई समग्र रुपमा हेरिनुपर्छ, मुटुको उपचारका रुपमा मात्रै होइन । स्वास्थ्य सेवामा लागेको लामो अनुभवबाट यो निष्कर्षमा पुगिएको छ । समयमा सम्पूर्ण उपचार नपाएको कारण धेरै बच्चाहरुले जुन पीडा भोगे, त्यसकै कारण अस्पतालको आवश्यकता महसुस भयो । त्यही अभाव पूरा गर्न पैसाको कमी वा प्रविधिको कमी वा पहुँचको कमीबाट कुनै पनि बालबालिकाले ज्यान गुमाउनु नपरोस् भन्ने हेतुले बाल अस्पताल निर्माणको योजना बनाएँ । कान्तिजस्तो बालबालिकाको 'डेडिकेटेड' अस्पतालले यो सेवा विकेन्द्रीकृत गर्नुपर्ने थियो तर विविध कारणले कार्यान्वयन गर्न सकेको छैन । त्यसैले सरकारको सहयोगमा सात प्रदेशमा सात स्याटेलाइट सेन्टरसहित काठमाण्डाैमा एक विशिष्टीकृत बाल अस्पताल 'काठमाण्डाै इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’ (किओच) नामक बाल अस्पताल निर्माण गरिँदैछ । पैसा तिर्न नसक्नेले निःशुल्क उपचार सेवा पाउँछन् । त्यसको पहिलो प्रदेश शाखाका रूपमा झापाको दमकमा अस्पताल सञ्चालनमा आइसकेको छ ।

बाल अस्पताल नै खोल्नुपर्ने इच्छा कसरी जागृत भयो ?

नेपालमा जन्मिने प्रत्येक सय जना बालबालिकामध्ये तीन–चारजनाले आफ्नो पाँचाैँ जन्मदिन देख्न पाउँदैनन् । आधारभूत स्वास्थ्य सेवा र बेलैमा विशिष्टीकृत उपचार नपाएका कारण ती बालबालिकाहरुले ज्यान गुमाएका छन् । मलाई नेपालमा बालबालिकाको उपचारका निम्ति विशिष्टीकृत अस्पतालको अभाव खड्किँदै आएको थियो । त्यही अभाव पूरा गर्न र पैसा अनि पहुँच नभएका वा भएर पनि नेपालमा उपचार सम्भव नभएका कारण कुनै पनि बालबालिकाले अकालमै ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले नै बाल अस्पताल स्थापना गर्ने इच्छा जागृत भएको हो ।

सरकारले हालै उच्च ओहोदाका व्यक्तित्वहरुको उपचार स्वदेशमै गर्नका लागि तपाईँसमेत रहेको एक समिति गठन गरेको छ । यसलाई तपाईँले कसरी लिनुभएको छ ?

सरकारले नेपालको स्वास्थ्य संस्थाहरुको गुणस्तर सुधार हुनाका साथै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह भइरहेको अवस्थामा राज्यको महत्वपूर्ण निकायमा कार्यरत अति विशिष्ट व्यक्ति (भीभीआईपी) र विशिष्ट व्यक्ति (भीआइपी) को स्वास्थ्य उपचारमा बर्सेनि ठूलो रकम विदेशमा गइरहेको र देशभित्रको स्वास्थ्य उपचार सेवाको विश्वास नगरे जस्तोसमेत देखिएकाले स्वास्थ्य उपचार समिति गठन गरेको छ । यसले एउटा सकारात्मक सन्देश जनतामा गएको छ । तर यस किसिमको स्वास्थ्य सेवा भीआइपीलाईलाई मात्र दिने भन्ने नभइ सबै जनताले स्वदेशमै पाउँछन् भन्ने सन्देश आवश्यक छ । एउटै (वीर) अस्पतालबाट सेवा दिन कत्तिको सम्भव होला ? भीआइपीहरुको चाहना र व्यावहारिकतालाई पनि हेर्नुपर्ने हुनसक्छ । जे होस् विशेष डाक्टरको समूह निर्माण गर्नेलगायतका विशिष्टीकृत डाक्टरीय विधि तथा प्रक्रिया बमोजिम उपचारको व्यवस्थापनको कार्यविधि तयार गरी सबै मुख्य अस्पतालहरुबाट उपचार व्यवस्थापन गर्न सकिन्छ । विशिष्टीकृत व्यक्तिको स्वदेशमा उपचार गर्दा सरकारी ढुकुटी पनि जोगिने र डाक्टरमाथि विश्वास पनि हुने भएकाले हामी डाक्टरहरु खुशी नै भएका छौँ ।

केही समयअघि यहाँको हृदय नामक पुस्तक पनि प्रकाशित भएको छ । पुस्तक लेख्ने उत्प्रेरणा कसरी मिल्यो ?

मैले अध्ययनपछि विभिन्न स्वास्थ्य संस्थाहरुमा रहेर काम गर्ने अवसर पाएँ । जोखिम र जटिल किसिमको स्वास्थ्य सेवा स्थापित गर्न कस्तो किसिमको हण्डर खानुपर्छ भन्ने बारेमा पुस्तकमा उल्लेख गरेको छु । आफूले जीवनमा भोगेका सङ्घर्षका अनुभवदेखि स्वास्थ्य क्षेत्रका समस्या सुल्झाउने उपाय र चिकित्सा शिक्षाका विविध विषयलाई समेत विश्लेषणात्मक धारणा राखेको छु । तीसवर्षे जागिरे जीवनका अनगिन्ती यादहरु समेटिएको पुस्तकमा अनेक तनाव, छटपटी र खुशीका क्षणहरु पनि पाउनु हुनेछ । जो सुकैले पनि प्रतिबद्ध भएर लाग्यो भने जस्तोसुकै समस्याको पनि समाधान गरी सफलता पाउन सक्छ भन्ने सन्देश दिन खोजिएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया