सगरमाथा क्षेत्र पुग्ने पर्यटकको सङ्ख्या ८४ प्रतिशतले बढ्यो

 असोज ७, २०८० आइतबार ११:५:५३ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - सगरमाथा क्षेत्र पुग्ने पर्यटकको सङ्ख्या ८४ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को साउन महिनाको तुलनामा भदौ महिनामा याे क्षेत्र भमण गर्नेको सङ्ख्या ८४ दशमलव २९ प्रतिशतले वृद्धि भएको हो ।

सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुको तथ्याङ्क अनुसार साउनमा २ सय ८ जनाले सगरमाथा क्षेत्रको भ्रमण गरेका थिए । तर भदौमा १ हजार ३ सय २५ जनाले सगरमाथा क्षेत्र भ्रमणका लागि भ्रमण अनुमति लिएका निकुञ्जका सूचना अधिकारी मनोज मण्डलले जानकारी दिनुभयो ।

भदौमा भ्रमण अनुमति लिनेमा १ हजार १ सय  ५४ जना विदेशी र १ सय ७० जना नेपाली रहेका छन् । यसबाट ३२ लाख ६८ हजार ३ सय ८७ रुपैयाँ राजस्व सङ्कलन भएको निकुञ्जले जनाएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जले नेपालीलाई प्रवेश शुल्कबापत १००, सार्क राष्ट्रका पर्यटकलाई एक हजार ५०० र अन्य विदेशी पर्यटकलाई तीन हजार रुपैयाँप्रति व्यक्ति राजश्वस्वरुप शुल्क अशुल्ने गरेको छ ।

खुम्बुमा वर्षको दुई सिजन चैत्र, वैशाख, जेठ र असोज, कात्तिक, मंसिरलाई मुख्य पर्यटकीय सिजन मानिन्छ । अहिले सिजन शुरु भएसँगै खुम्बुमा पर्यटक सङ्ख्या उत्साहजनक रुपमा वृद्धि भइरहेको छ । निकुञ्जले विदेशी पर्यटकबाट प्रति पर्यटक ३ हजार रुपैयाँ प्रवेश शुल्क लिने गरेको छ भने सार्क देशका नागरिकबाट एक हजार ५ सय र एक पटक हेलिकप्टर अवतरण गरेबापत तीन हजार रुपैयाँ अवतरण शुल्क लिने गरेको सूचना अधिकारी मण्डलले बताउनुभयो ।

२०३२ सालमा स्थापना भएको सगरमाथा राष्ट्रिय निकुञ्ज १ हजार १ सय ४८ वर्ग किमी क्षेत्रफलमा फैलिएको छ । यो राष्ट्रिय निकुञ्जमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित ६ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयु, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कु जस्ता हिमचुचुरा समेत छन् । यस निकुञ्जभित्रको गोक्यो र सम्बद्ध ताललाई सन् २००७ मा रामसार सूचीमा समावेश गरिएको छ।

सन् १९७९ देखि यस राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सूचीमा समावेश गरिएको छ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया