विदेशमा हुनुहुन्छ ? भिडियो कल गरेर निःशुल्क स्वास्थ्य परामर्श लिनुहोस्

 चैत २२, २०७९ बुधबार १३:२४:३५ | राजन पौडेल
unn.prixa.net

वैदेशिक रोजगार बोर्डले विदेशमा रहेका श्रमिकहरूको लागि भनेर फोनमार्फत स्वास्थ्य परामर्श दिन यही चैत १५ गतेदेखि टेलिमेडिसिन सेवा सञ्चालनमा ल्याएको छ ।

विभिन्न गन्तव्य देशमा रहेका नेपाली नागरिकको स्वास्थ्य समस्यामा केही भए पनि मलम लगाऊँ भन्ने उद्देश्यले सञ्चालन गरिएको अनलाइन पद्धतिमा आधारित सेवा हो टेलिमेडिसिन सेवा । 

टेलिमेडिसिन सेवा सञ्चालन  गर्नको लागि वैदेशिक रोजगार बोर्डले वीर अस्पतालसँग सम्झौता गरेका छ । वीर अस्पतालको प्राविधिक सहायता र बोर्डको आर्थिक सहयोगमा यो सेवा सञ्चालन भइरहेको छ ।

यो सेवा लिन चाहने वैदेशिक रोजगारीमा रहनुभएका नेपाली श्रमिकले ९८५१३४५७०१ र ९८५१३४५७०२ यी दुई वटा नम्बरको ह्वाट्सअप, भाइबर अथवा ईमोमामार्फत भिडियो कल गरेर स्वास्थ्य सम्बन्धी परामर्श लिन सक्नुहुन्छ । 

तपाईँहरूले विदेशबाट गर्नुभएको फोन मेडिकल अधिकृतहरूले उठाउनुहुन्छ । फोन रिसिभ गरेर परामर्श गर्नुहुन्छ । यदि मेडिकल अधिकृतले गरेको परामर्शमा चित्त बुझेन भने, अथवा मेडिकल अधिकृतले पनि योभन्दा ठुलो सेवा आवश्यक हुन्छ भन्ने ठान्नुभयो भने हरेक हप्ता शुक्रवार र आइतबार उहाँहरूले विशेषज्ञ सेवाको लागि रिफर गर्नुहुन्छ ।

जस्तै अस्ति पनि ११ जना सेवाग्राहीले फोन गर्नुभएको थियो । तीमध्ये मेडिकल अधिकृतले ईएनटी, मुटुको समस्या र पाचन प्रणालीको समस्या भएका तीन जनालाई विशेषज्ञ डाक्टरको लागि सिफारिस गर्नुभयो । उहाँहरू बहराइन, यूएई र कोरियाबाट हुनुहुन्थ्यो ।

अहिले यो सेवा नेपाली समयअनुसार बिहान १० बजेदेखि बेलुका पाँच बजेसम्म सञ्चालन हुन्छ । अधिकांश हाम्रा गन्तव्य देशहरूमा शुक्रवार र आइतबार सार्वजनिक बिदा हुन्छ । त्यसैले श्रमिकलाई समयको सहजता होस् भनेर नै विशेषज्ञ सेवालाई यी दिन राखेका हौँ ।

यो श्रमिकहरूको स्वास्थ्यको प्रवर्द्धनात्मक सेवा हो । २०६५/६६ सालदेखि वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएकाहरूको रेकर्ड हेर्दा १२ हजार पाँच सय जनाको ज्यान गएको छ । तीमध्ये अधिकांशको नसर्ने रोगबाट ज्यान गएको देखिन्छ ।

यस्तै वैदेशिक रोजगारीमा गएका धेरै मानिस विभिन्न कारणले मानसिक स्वास्थ्यको दृष्टिकोणले समेत जोखिममा हुनुहुन्छ । घर परिवार र देशै छाडेर रोजगारी गर्नकै लागि परदेश जाँदा कतिपयको कमजोर भइरहेको हुन्छ । कतिपय अध्ययन अनुसन्धानले पनि यो समस्या भएको देखाएको छ ।

यस्तो समस्या कसलाई भन्ने, आफन्तसँग पनि भन्न नसकिरहेको अवस्था हुन सक्छ । यदि यस्तो समस्या छ भने पनि तपाईँहरूले कल सेन्टरमा फोन गरेर आफ्नो मनको कुरा खुला रूपमा राख्न सक्नुहुन्छ । यो सेवा पूर्णतया गोप्य राखिन्छ । तपाईँलाई कुन सेवा चाहिएको हो त्यही आधारमा परामर्श प्रदान गरिन्छ । परामर्श निःशुल्क हो ।

तपाईँले फोन गर्दा, डाक्टरसँग कुराकानी गर्दा कुनै पनि शुल्क तिर्न पर्दैन । तर चाहिने औषधि, ल्याब लगायतको परीक्षण गर्नु पर्ने भयो भने चाहिँ त्यसबापतको खर्च तपाईँ आफैँले गर्नु पर्ने हुन्छ । तर रिपोर्ट भने फेरि कल सेन्टरमा फोन गरेर वा म्यासेजमार्फत पठाउन सक्नुहुन्छ । मेडिकल अधिकृतहरूले नै रिपोर्ट हेरेर थप के आवश्यकता छ त्यही अनुसार रेफर गर्नुहुन्छ । 

औषधी नेपाली बजारबाटै किन्नुपर्छ 

हामीले परामर्श काठमाण्डौबाट प्रदान गर्छौँ र तपाईँको समस्या अनुसार मेडिकल अधिकृतहरूले औषधी चाहिने भएमा औषधी पनि लेख्नुहुन्छ । तर यहाँबाट डाक्टरहरूले लेख्नुभएको औषधी गन्तव्य देशमा त्यही कम्पनीको नपाउन सक्छ ।

त्यसैले सम्भव हुन्छ भने आफन्तहरूको सहयोगमा कुरियर गरेर यहीबाट पठाउँदा पनि हुन्छ । नेपालबाट कोही तपाईँ भएको ठाउँमा आउँदै हुनुहुन्छ भने उनीहरूलाई ल्याइदेऊ न भन्दा पनि हुन्छ । 

मुख्यतया: हामीले यो सेवा नसर्ने रोगको सन्दर्भमा दीर्घकालीन केही सहयोग पुर्‍याउन सकिन्छ कि भन्ने हो । तत्काल अस्पताल लग्नु पर्ने  अवस्थाका लागि भन्दा पनि दीर्घकालीन रोग वा समस्याका लागि यो परामर्श तपाईँका लागि उपयोगी हुने छ भन्ने बोर्डले विश्वास लिएको छ ।

यस्तै मानसिक स्वास्थ्यको लागि पनि यो टेलिमेडिसिन सेवा प्रभावकारी हुन्छ भन्ने हामीले अपेक्षा लिएका छौँ । 

विशेषज्ञ सेवाका लागि

तपाईँले मेडिकल अधिकृतको परामर्श लिइसकेपछि थप विशेषज्ञ सेवा आवश्यक भएमा मेडिकल अधिकृतहरूले कुन डाक्टरलाई देखाउन पर्छ र उहाँहरू टेलिफोनमा कहिले उपलब्ध हुनुहुन्छ भनेर विशेषज्ञ डाक्टरको समय भनिदिनुहुन्छ ।

जस्तो आइतबार साढे एघार बजे मुटु रोगको विशेषज्ञ डाक्टर आउनुहुन्छ भने मुटु रोग सम्बन्धमा थप परामर्श आवश्यक परेका श्रमिकहरूलाई यसबारे जानकारी दिनुहुन्छ ।

तपाईँहरूले यही समयमा फोन गर्नुपर्छ अहिले हामीले वीर अस्पतालको समन्वयमा जुन विशेषज्ञ चाहिन्छ, चाहिएको विशेषज्ञ डाक्टरलाई मात्रै क्याबिनमा प्रवेश गराइरहेका छौँ । किनभने कतिपय बिरामीको कुरा गोप्य पनि हुन सक्छन् । 

फोन व्यस्त हुनसक्छ तर नउठ्ने हुँदैन 

टेलिमेडिसिन युनिटमा एक जना मेडिकल अधिकृत हुनुहुन्छ । एक जना हेल्थ असिस्टेन्ट, एक जना नर्स र एक अनमी गरी चार जना जनशक्ति हुनुहुन्छ । उहाँहरूले पालैपालो फोन उठाउनुहुन्छ । कहिले काहीँ फोन व्यस्त हुन सक्छ । तर नउठ्ने भन्ने चाहिँ हुँदैन ।

फोन व्यस्त भयो भने अरू साथीहरूसँग कुराकानी भइरहेको रहेछ भनेर तपाईँहरूले बुझ्नु पर्ने हुन्छ । त्यस्तो बेला बरु म्यासेज गर्ने । हामीले नियमित अनुगमन गरिहरेका छौँ । अर्को कुरा चाहिँ अहिले हामीले फेसबुक म्यासेन्जरबाट सेवा दिएका छैनौँ ।

कतिपय खाडीका देशमा म्यासेन्जर नचल्ने भएर यसो गरिएको हो । त्यसैले दिइएको नम्बरमा उपलब्ध ह्वाट्सएप, भाइवर, इमोबाट भिडियो कल गर्दा तपाईँले भिडियोमार्फत नै आफ्नो समस्या डाक्टरलाई भेटे जसरी नै राख्न पाउनुहुन्छ । 

पहिलो चरणमा हामीले तपाईँहरूको लागि स्वास्थ्य परामर्श मात्रै दिन सकेका छौँ, औषधि दिन सकेका छैनौँ । तर श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयार गरेको टेलिमेडिसिन कार्यविधि २०७९ ले पहिलो चरणमा कुनै संस्थासँग मिलेर सेवा सञ्चालन गर भन्छ । दोस्रो चरणमा गन्तव्य देशमै पुगेर पनि सेवा देऊ भनेको छ ।

यो चरण पूरा भएपछि हामी गन्तव्य देशमै नेपाली श्रमिकको सघन बसाइ भएका क्षेत्रमा पुगेर पनि सेवा दिन्छौँ । यो कार्यक्रमको सफलता कस्तो हुन्छ भन्ने कुराले आगामी कार्यक्रमको तय हुन्छ । पक्कै पनि यो कार्यक्रमको प्रभाव राम्रो पर्नेछ भन्ने मलाई लाग्छ ।

त्यसैले म तपाईँहरूलाई अनुरोध गर्छु कि फोन गरेर सक्दो यो सेवा लिनुहोस् । तपाईँको आफन्त विदेशमा हुनुहुन्छ भने पनि यसबारेमा जानकारी दिनुहोस् । तपाईँहरूका लागि सञ्चालित यो सेवाबाट फाइदा लिनुहोस् । 

(पौडेलसँग कार्यक्रम देश परदेशका लागि गरिएको कुराकानीमा आधारित ।)

राजन पौडेल

पौडेल वैदेशिक रोजगार बोर्डका निर्देशक तथा सूचना अधिकारी हुनुहुन्छ ।

3 Comments

  • Bibek Dhakal

    April 10, 2023, 12:19 a.m.

    This statememnet is very impractical "त्यसैले सम्भव हुन्छ भने आफन्तहरूको सहयोगमा कुरियर गरेर यहीबाट पठाउँदा पनि हुन्छ । नेपालबाट कोही तपाईँ भएको ठाउँमा आउँदै हुनुहुन्छ भने उनीहरूलाई ल्याइदेऊ न भन्दा पनि हुन्छ ।". Medicines are generally not allowed, and in this condition nobody wants trouble. Normal food items are checked and thrown out how can the Nepalses airport officials allow to carry other's medicines? Next, each of the destination country have their own insurance card and dedicated medical hospital network. They issue the medicine only with local doctors prescription under insurance co-payment terms and we cannot pay the hefty price in case our Nepali doctors prescribe anything. This mission is good, this is first initiative, it should change a lot to make it more userfriendly and easy to use. Thank you.

  • narayan pun

    April 5, 2023, 3:27 p.m.

    ekadamai ramro kam garnu vayko ma dhanyabad

  • Gopal parsad kandel

    April 5, 2023, 1:53 p.m.

    Kidni ma sest an bak pine

तपाईको प्रतिक्रिया