अफगानिस्तानमा बेलायती दूतावासको सुरक्षामा खटिएका नेपाली भन्छन् : नियन्त्रणमा लिइएको छ, अब ‘डिपोर्ट’ गरिदिन्छ

 चैत २२, २०७९ बुधबार १५:०:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अफगानिस्तानमा रहेको बेलायती दूतावासमा सुरक्षा गार्डको रूपमा काम गर्नुभएका ३७ वर्षीय बमबहादुर गुरुङले सन् २०२२ को जुनमा एउटा इमेल प्राप्त गर्नुभयो ।

इमेलमा लेखिएको थियो ‘अफगानिस्तानबाट बेलायतसम्म उद्धार गरेर ल्याउनु एउटा मानवीय व्यवहार थियो, तर स्थायी रूपमा यहाँ बस्न योग्य छैन ।’ 

अफगानिस्तानको काबुल तालिवानले कब्जा गरेपछि बेलायती दूतावासमा सुरक्षा गार्डका रूपमा कार्यरत बमबहादुरलाई सन् २०२१ को अगष्टमा बेलायतले उद्धार गरेर लगेको थियो । सन् २०२२ को फेब्रुअरीमा उहाँले बेलायतमा स्थायी रूपमा बस्न पाउँ भनेर निवेदन दिनुभयो ।

उहाँले दिएको आवेदनको प्रक्रिया अघि बढेको र बायोमेट्रिकको काम यथा सक्दो चाँडो काम हुनेछ पनि भनिएको थियो । तर जुनमा भने उहाँको आवेदन अस्वीकृति भएको खबर आयो । 

गएको २७ मार्च २०२३ मा बमबहादुर पक्राउ पर्नुभयो । अब आफूलाई बेलायतले जबरजस्ती देश निकाला गर्न लागेको बमबहादुर बताउनुहुन्छ । 

‘म जति बेला पक्राउ परे त्यो बेलामा म काममा जान तयार हुँदै थिएँ’ बेलायती समाचार संस्था गार्डियनसँग बमबहादुरले भन्नुभएको छ ‘म आश्चर्यमा परेको छु अनि एकदमै दुःखी पनि भएको छु, यूके सरकारले म माथि यो के गरेको होला ।’

‘हामी सकैको कुनै आपराधिक रेकर्ड पनि छैन, मेरो सपना भनेको बेलायतमा बसेर बेलायती सेनामा सेवा गर्ने हो’ बमबहादुर गुनासो गर्दै भन्नुहुन्छ ‘मैले दूतावासका कर्मचारीलाई एक दशकभन्दा बढी सुरक्षा प्रदान गरेँ, काबुलमा बसेर सुरक्षा गार्डको काम गर्नु सहज थिएन ।’

बेलायतको होम अफिसका अधिकारीहरूले आफूहरूलाई यही अप्रिल ११ मा जबरजस्ती फर्काइने बताएको पनि उहाँ बताउनुहुन्छ ।

अफगानिस्तानबाट उद्धार गरेर लण्डन पुर्याएपछि खाने बस्ने सुविधा एउटा होटलमा मिलाइएको थियो । उहाँ पक्राउ पर्नु अघिसम्म पनि त्यही होटलमा काम समेत गरिरहनुभएको थियो ।

आफूले कमाएको तलबबाट बेलायत सरकारलाई कर तिरेको पनि बमहादुर बताउनुहुन्छ । आफूले गएको मार्च महिनामा महिनाको उत्कृष्ट कर्मचारीको पुरस्कारसमेत पाएको उहाँ दाबी गर्नुहुन्छ ।

तालिवानले काबुल कब्जा गरेपछि बमबहादुरसँगै बेलायती दूतावासमा सुरक्षा गार्डको रूपमा खटिएका ११ नेपाली र दुई सुरक्षा गार्डलाई उद्धार गरी बेलायत लगिएको थियो । उनीहरू मध्ये केहीलाई अनिश्चितकालिन बिदा दिइएको छ भने कतिपय अहिले पनि सरकारको निर्णय कुर्दै छन् ।

केहीलाई भने नियन्त्रणमा लिएर बेलायतले देश निकाला गर्ने प्रक्रिया अघि बढाएको बेलायती समाचार संस्था द गार्डियनले खबर लेखेको छ ।

तर बेलायती सरकारका प्रवक्ताले अफगानिस्तानबाट उद्धार गरिएकाहरूको व्यवस्थापनका लागि बेलायत गम्भीर रहेको बताउनुभएको छ ।  

तपाईको प्रतिक्रिया