चैत महिनामा ६१ हजारभन्दा धेरै बिदेसिए, बिदेसिनेमा सबैभन्दा धेरै धनुषाका र रुकुमका ६ जना मात्रै

 बैशाख ६, २०८० बुधबार १२:११:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – गएको चैत महिनामा मात्रै ६१ हजारभन्दा धेरै नेपालीले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन् ।

वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार २०७९ चैत महिनामा संस्थागत, व्यक्तिगत, जी टु जी प्रक्रिया र पुन श्रम स्वीकृति गरी ६१ हजार ४ सय ७८ जनाले श्रम स्वीकृति लिएका छन् । जसमध्ये पाँच हजार १३५ जना महिला र ५६ हजार ३४३ जना पुरुष रहेका छन् ।

श्रम स्वीकृति लिनेमा सबैभन्दा धेरै धनुषाका रहेका छन् भने सबैभन्दा कम रुकुमका रहेका छन् ।

७१९ वटा म्यानपावर कम्पनीले २७ हजार ८५५ जनाको संस्थागत श्रम स्वीकृति लिएका छन् भने ५ हजार ९४८ जनाले व्यक्तिगत पहलमा नै वैदेशिक रोजगारीमा जान व्यक्तिगत श्रम स्वीकृति लिएका छन् ।

जी टु जी अर्थात् सरकारी प्रक्रियामार्फत चैत महिनामा १८० जना महिला र दुई हजार ९५ जना पुरुष गरी २२ सय ७५ जनाले दक्षिण कोरिया जानका लागि श्रम स्वीकृति लिएका छन् ।

एक पटक श्रम स्वीकृति लिएर विदेश गइसकेर श्रम स्वीकृति नवीकरण गर्नेको सङ्ख्या २५ हजार चार सय रहेको छ । 

बिदेसिनेमा सबैभन्दा धेरै धनुषाका

वैदेशिक रोजगारीमा जानेमा सबैभन्दा धेरै धनुषाका रहेका छन् । चैत महिनामा मात्रै वैदेशिक रोजगारीमा जान धनुषाका ३६ सय ८१ जनाले श्रम स्वीकृति लिएका छन् । धनुषापछि दोस्रो नम्बरमा झापाबाट बिदेसिनेको सङ्ख्या धेरै रहेको छ । झापाका २८ सय २३ जनाले श्रम स्वीकृति लिएका छन् ।

यस्तै सिराहाबाट चैत महिनामा मात्रै २५ सय ९२ जना बिदेसिएका छन् भने मधेश प्रदेशकै अर्को जिल्ला महोत्तरीबाट बिदेसिनेको २४ सय ७१ रहेको छ । 

यस्तै मोरङका २४ सय १२ जानले, रुपन्देहीबाट १९ सय ३३ जनाले, सर्लाहीबाट १८ सय ६९ जनाले, सुनसरीबाट १६ सय ६ जनाले, सप्तरीबाट १५ सय ८१ जनाले, नवलपरासी पूर्वबाट ११ सय ११ जनाले रौतहटबाट एक हजार ७७ जनाले, स्याङ्जाबाट १२ सय ७३ जनाले, तनहुँबाट १२ सय ०२ जनाले, दाङबाट १३ सय ७६ जनाले, चितवन १३ सय ४१ जनाले, बाराबाट एक हजार २५ जनाले र बाग्लुङबाट ११ सय ८८ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ । 

सबैभन्दा कम रुकुमबाट ६ जनाले श्रम स्वीकृति लिएका छन् भने मनाङबाट १८ जनाले, मुस्ताङबाट २१ जनाले, मुगुबाट ४३ जनाले, कालिकोटबाट ८७ जनाले, हुम्लाबाट ३६ जनाले र डोल्पाबाट ४४ जनाले श्रम स्वीकृति लिएका छन्। 

दक्ष श्रमिक धेरै

वैदेशिक रोजगारीमा जाने दक्ष श्रमिकको सङ्ख्या चैत महिनामा पनि बढेको छ । ६१ हजार ४ सय ७८ जना श्रमिक बिदेसिँदा उनीहरू मध्ये १४ हजार ३ सय ५३ जना मात्रै अदक्ष श्रमिक रहेका छन् ।

४१ हजार ७ सय २९ जना दक्ष श्रमिक रहेका छन् भने  ५ हजार २९३ जना अर्ध दक्ष श्रमिकले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् । 

यस्तै श्रम स्वीकृति लिनेमा ८३ जना व्यावसायिक व्यक्ति र २० जना उच्च सीप भएकाहरू रहेको विभागले जनाएको छ ।

2 Comments

  • दिनेश सिलवाल

    April 20, 2023, 1:47 p.m.

    गणतन्त्र नेपालको यो ब्यबस्थाको घोर बीरोध गरौ र राजालाई घोषणा गरि देशमा उद्योग कलकारखाना खोली रोजगारी को सिर्जना गरौ।

  • Paban Khatri

    April 20, 2023, 1:30 a.m.

    दुख लाग्छ यसरी धेरै मानिसहरु बाहिरीहा नेपाल सरकारको उदेश्य भनेकै यहि रहेछ युवाहरु सबै खाडि पठाउने अनि बुढाखाडा भ नौदाहरु भने देसमा बसेर मोज गर्ने नेपालको राजनिति कहिले सम्म हो यस्तो आखिर ति युवाहरु लाई आफ्नै देसमा रोजगारिको सिजना गरिदियको भय आफ्नै देस अघि बढ्ने थियो छि नेपाली राजनिति सम्झिदा पनि खै के भन्ने

तपाईको प्रतिक्रिया