नेभिगेशन

हाम्रो शक्ति, हाम्रो पृथ्वी : नेपालको शक्ति यसका नागरिकमा निहित छ

आज विश्व पृथ्वी दिवस । ‘हाम्रो शक्ति, हाम्रो पृथ्वी’ भन्ने नारासहित विश्वभर मनाइँदैछ । यो नारासँग नेपाल एक परिचित तर असहज अवस्थामा उभिएको छ । हामी विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान दिन्छौँ तर जलवायु जोखिमको दृष्टिले सबैभन्दा प्रभावित देशहरूमध्ये एक हौँ । तर तथ्यांकभन्दा पर  नेपालमा जलवायु परिवर्तन कुनै अमूर्त वैश्विक मुद्दा होइन—यो दैनिक जीवनमा अनुभव गरिन्छ ।

तराईका किसानले बाली भित्र्याउने बेलामा असमयको वर्षाले बाली नष्ट भएको हेर्नुपर्छ । पहाडमा सुक्दै गएका मुहानले जनजीवन समस्यामा पर्दैछ । नदीहरूले पानीसँगै प्लास्टिक र अन्य फोहोर बगाइरहेका छन् । यो पुस्तौँदेखि जीविका दिएको माटोको बिस्तारै देखिने क्षय हो ।

तर यी चुनौतीहरूमाझ एउटा सशक्त पक्ष पनि छ–स्थानीयस्तरमा भइरहेको प्रयास ।

शहरहरूले फोहोरसँग जुधिरहेका बेला ग्रामीण नेपाल अर्को गम्भीर चुनौतीसँग जुधिरहेको छ, माटोको क्षय र कृषि क्षेत्रमा जलवायुजन्य दबाव ।

यहाँ सरल र प्रकृतिमा आधारित समाधानहरू प्रभावकारी देखिएका छन् । ‘टाइगर वर्म’ प्रयोग गरेर गरिने ‘भर्मिकम्पोस्टिङ’ एक प्रभावकारी जलवायु उत्थानशील अभ्यासका रूपमा देखा परेको छ । यसले जैविक फोहोरलाई पोषक तत्त्वयुक्त कम्पोस्टमा रूपान्तरण गर्दै मिथेन उत्सर्जन घटाउँछ, रासायनिक मलमा निर्भरता कम गर्छ र माटोको पारिस्थितिकी पुनर्जीवित गर्छ ।

स्वस्थ माटोले उत्पादन बढाउनुका साथै आद्रता कायम राख्न, जैविक विविधता समर्थन गर्न र कार्बन सञ्चय गर्न मद्दत गर्छ । महत्त्वपूर्ण रूपमा, एउटा भर्मिबेडले वार्षिक रूपमा १२.५ टनसम्म कार्बन उत्सर्जन घटाउन सक्ने तथा १० टनसम्म उच्च गुणस्तरको कम्पोस्ट उत्पादन गर्न सक्छ । यस कम्पोस्टले माटो र बालीलाई आवश्यक पोषक तत्त्व प्रदान गर्नुका साथै माटोको संरचना, उर्बरता र जैविक जीवनलाई क्रमशः पुनर्जीवित गर्छ । त्यसैगरी पर्याप्त मात्रामा उप–उत्पादनका रूपमा उत्पादन हुने परालजस्ता कृषि अवशेषहरूबाट ‘बायोचार’ जस्ता उपयोगी पोषक तत्त्व उत्प्रेरक तयार गर्न सकिन्छ । बायोचारले बालीमा पोषक तत्त्वको अवशोषणलाई सहज बनाउनुका साथै माटोमा पोटासियमको मात्रा वृद्धि गरी कार्बन सञ्चयलाई पनि प्रोत्साहित गर्दछ ।

मैदानको अनुभवले देखाउँछ कि किसानहरू परिवर्तनप्रति प्रतिरोधी होइनन् । उनीहरू सावधान छन् । धेरैले पूर्णरूपमा जैविक प्रणालीमा जाँदा उत्पादन घट्ने चिन्ता व्यक्त गर्छन् । तर क्रमिक रूपान्तरणको उपाय अपनाउन सकिन्छ । जस्तै प्रारम्भमा कम्पोस्ट र रासायनिक मल दुवैको प्रयोग गर्न उनीहरू तयार हुन्छन् । यसले एउटा महत्त्वपूर्ण पाठ दिन्छ – जलवायु समाधानहरू व्यावहारिक हुनुपर्छ, केवल आदर्शवादी होइन ।

साङ्केतिक तस्वीर

यससँगै आजको विश्व परिवेशमा बढ्दो भू–राजनीतिक तनाव, जीवाश्म इन्धनको सीमितता र यसको प्रयोगबाट बढ्दो कार्बन संकटले जलवायुमैत्री ऊर्जा विकल्पहरू अपरिहार्य बनाएको छ । तर समाधान टाढा छैन—हाम्रो आफ्नै आँगनमा छ । नेपालका ग्रामीण क्षेत्रमा व्यापक रूपमा गरिने पशुपालनबाट प्राप्त हुने गोबर र मललाई ऊर्जा (जस्तै बायोग्यास) का रूपमा प्रयोग गर्न सकिन्छ । यसले कार्बन उत्सर्जन घटाउनुका साथै दाउरा प्रयोगमा कमी ल्याएर वन विनाश रोक्न मद्दत गर्छ र वन क्षेत्रमा निर्भरता घट्दा मानव–वन्यजन्तु द्वन्द्व पनि कम हुन सक्छ ।

यससँगै नेपालले जलविद्युतमार्फत नवीकरणीय ऊर्जामा उल्लेखनीय प्रगति गरिरहेको छ । विद्युत् ऊर्जाको प्रयोग विस्तार गर्न सकेमा खाना पकाउने, यातायात तथा अन्य घरेलु र औद्योगिक प्रयोजनमा जीवाश्म इन्धनको प्रयोगलाई उल्लेखनीय रूपमा प्रतिस्थापन गर्न सकिन्छ जसले जलवायु र वातावरण संरक्षणमा ठोस योगदान पुर्‍याउँछ ।

यससँगै दीर्घकालीन सहनशीलता निर्माणमा विद्यालय र बालबालिकाको भूमिका अत्यन्त महत्त्वपूर्ण छ । समुदायमा विद्यालयहरू जलवायु सचेतना र विपद् तयारीका केन्द्र बन्न थालेका छन् । बालबालिकाले फोहोर छुट्याउने, इको–क्लबमा सहभागी हुने र विपद् जोखिम न्यूनीकरण (डीडीआर) अभ्यासमार्फत जोखिम बुझ्ने सिकिरहेका छन् । यी केवल गतिविधि होइनन् । यी भविष्यको पुस्तामा गरिएको लगानी हुन् जसले अझ जटिल जलवायु चुनौतीहरूको सामना गर्नेछ ।

जब बालबालिकाले यी सिकाइ घरमा पुर्‍याउँछन् तब उनीहरूले परिवारलाई प्रभाव पार्छन् । जब विद्यालयहरूले समुदायलाई जोड्छन् तब सचेतना कार्यमा रूपान्तरण हुन्छ । नेपालमा परिवर्तन यसरी फैलिन्छ । निर्देशनबाट होइन, सहभागिताबाट ।

नेपालका शहरहरूमा फोहोरलाई प्रायः नियन्त्रण गर्न नसकिने समस्याका रूपमा हेरिन्छ । देशले दैनिक १ हजार ४०० टनभन्दा बढी ठोस फोहोर उत्पादन गर्छ जसको ठूलो हिस्सा व्यवस्थापनविना नै रहन्छ । तर यस देखिने संकटको पछाडि एउटा अदृश्य श्रमशक्ति छ, अनौपचारिक फोहोर सङ्कलकहरू जसले चुपचाप प्रणालीलाई चलायमान राखिरहेका छन् । उनीहरूले सङ्कलन, वर्गीकरण र पुनः प्रयोगयोग्य सामग्रीलाई पुनः प्रवाहमा ल्याउने काम गर्छन् जसले नेपालको पुनर्चक्रण अर्थतन्त्रको मेरुदण्डको काम गर्छ ।

उनीहरूको योगदान केवल फोहोर व्यवस्थापनमा सीमित छैन । विश्वव्यापी रूपमा पुनर्चक्रणले केही सामग्रीहरूमा ९५ प्रतिशतसम्म ऊर्जा बचत गर्न सक्छ र प्रति टन प्लास्टिक पुनर्चक्रण गर्दा १.५ देखि ३ टन कार्बनडाइअक्साइड उत्सर्जन घटाउन सक्छ । नेपालमा फोहोर सङ्कलकहरूको सुरक्षा, फोहोर र प्लास्टिकबारे सचेतना र बजार पहुँच सुदृढ गर्दा वातावरणीय प्रदूषण घटाउनुका साथै जीविकोपार्जनमा सुधार ल्याउन सकिन्छ । फोहोर पुनर्चक्रण वा पुनः प्रयोग गर्दा नयाँ कच्चा पदार्थको आवश्यकता घट्छ र ऊर्जा–गहन उत्पादन प्रक्रियामा कमी आउँछ जसले प्रत्यक्ष रूपमा कार्बन उत्सर्जन घटाउँछ ।

झन् महत्त्वपूर्ण कुरा, राम्रो फोहोर व्यवस्थापन नेपालका नदीहरूको संरक्षणका लागि अत्यावश्यक छ । नदीमा प्रवेश गरेको प्लास्टिक तलतिर बग्दै जैविक विविधता, पानीको गुणस्तर र मानव स्वास्थ्यमा असर पुर्‍याउँछ । जैविक विविधतामा धनी चितवन, पर्सा, बर्दिया, बाँके, शुक्लाफाँटाजस्ता राष्ट्रिय निकुञ्जहरू पारिस्थितिकी रूपमा संवेदनशील क्षेत्रमा छन् । यो सम्पूर्ण पारिस्थितिकी तन्त्र र स्थानीय अर्थतन्त्रका लागि खतरा हो ।

यी सबै प्रयासहरूको केन्द्रमा एउटा स्पष्ट सत्य छ – समुदायको सहभागिता नै सफलताको आधार हो ।

कुनै पनि नीति जतिसुकै राम्रो भए पनि जमिनमा रहेका मानिसहरूको भूमिकालाई प्रतिस्थापन गर्न सक्दैन । फोहोर सङ्कलक, किसान, शिक्षक, विद्यार्थी—प्रत्येकले नेपालको जलवायु प्रतिक्रिया निर्माणमा भूमिका खेल्छन् । उनीहरूको पहिचान र समर्थन गर्नु विकल्प होइन; यो अनिवार्य हो ।

यस पृथ्वी दिवसले हामीलाई सम्झाउँछ कि ‘हाम्रो शक्ति’ केवल नारा होइन । यो हाम्रो सामूहिक क्षमता हो जसले ‘हाम्रो पृथ्वी’ जोगाउन सक्छ । नेपालमा त्यो शक्ति पहिले नै यहाँ छ । समुदायमा, स्थानीय नवप्रवर्तनमा र अनुकूलन गर्ने इच्छाशक्तिमा ।

वास्तविक चुनौती भनेको यी प्रयासहरूलाई विस्तार र सुदृढ गर्न सकिन्छ कि सकिँदैन भन्ने हो ।

किनभने नेपालमा पृथ्वीको संरक्षण केवल ठूला घोषणाबाट सम्भव हुने छैन । सफा नदी, स्वस्थ माटो, सशक्त फोहोर सङ्कलक, स्वच्छ ऊर्जा प्रयोग र सचेत बालबालिकाबाट याे सम्भव हुनेछ । हाम्राे शक्ति हाम्रो नागरिकमा छ ।

र यदि हामीले मिलेर काम गर्‍याैँ भने यही शक्तिले हाम्रो पृथ्वीलाई पुस्तौँसम्म सुरक्षित राख्न सक्छ ।

प्रकाशित मिति:
थप विशेष