काठमाण्डाै – कम्बोडिया सरकारले अनलाइन स्क्यामिङ ठगीमा संलग्नलाई कसुरको प्रकृतिअनुसार ५ लाख अमेरिकी डलरसम्म जरिवाना र आजीवन कैदसम्मको सजाय हुने व्यवस्थासहित नयाँ कानून लागू गरेको छ ।
थाइल्यान्डमा रहेकाे नेपाली दूतावासका अनुसार कम्बोडियाले अनलाइन स्क्यामिङ एक अन्तरदेशीय अपराध भएको उल्लेख गर्दै त्यस्ता गतिविधि नियन्त्रण तथा अन्त्य गर्न गएकाे हप्तादेखि याे कानून लागू गरेको हो । कम्बोडिया सरकारले अनलाइन स्क्यामिङ केन्द्रहरू बन्द गर्ने, नस्ट गर्ने तथा त्यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्ने अभियानलाई तीव्र बनाएको छ ।
दूतावासले विभिन्न उद्देश्यले, विशेषगरी पर्यटनको बहानामा कम्बोडिया गई भिसा अवधि समाप्त भएपछि पनि धेरै नेपाली नागरिक त्यहाँ बसिरहेको जनाइएको छ । साथै केही नेपाली नागरिक अवैध रूपमा सञ्चालन भइरहेका अनलाइन स्क्यामिङ केन्द्रहरूमा संलग्न रहेको जानकारी प्राप्त भएको दूतावासले आज निकालेकाे विज्ञप्तिमा उल्लेख छ ।
आफूलाई प्राप्त भिसा अवधिभन्दा धेरै समय कम्बोडियामा नबस्न, कुनै पनि गैरकानूनी गतिविधिमा संलग्न नहुन तथा यदि त्यस्ता कार्यमा संलग्न रहेको भए तुरुन्त बन्द गरी नेपाल फर्कन दूतावासले अनुरोध गरेको छ । दूतावासले उच्च तलब तथा आकर्षक सुविधाको प्रलोभनमा परी पर्यटकीय भिसामा कम्बोडियालगायत अन्य देशहरूमा रोजगारीका लागि नजान अनुरोध गर्दै आएको छ ।
साथै दूतावासले वैदेशिक रोजगारीका लागि विदेश जानुअघि नेपालमा रहेकाे वैदेशिक रोजगार विभाग तथा सम्बन्धित देशमा रहेका नेपाली राजदूतावास वा नेपाली वाणिज्यदूतावाससँग सम्पर्क गर्न अनुरोध गरेको छ । रोजगारदाता संस्था तथा रोजगारीको आधिकारिकता यकिन गरी वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जानुपर्ने दूतावासको भनाइ छ ।
नेपाल फर्कन सहजीकरण गर्ने उद्देश्यले राजदूतावासले कम्बोडियामा रहेका नेपाली नागरिकको तथ्याङ्क तथा सूचना सङ्कलन गरिरहेको हुँदा अनलाइन फाराम भरी सहयोग गर्न अनुरोध गरेको छ ।
आफूलाई कम्बोडिया पुर्याउने व्यक्तिमाथि नेपाल फर्केपछि तथा कम्बोडियाबाट नै पनि नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युराेमा उजुरी गर्न दूतावासकाे अनुराेध छ ।

