नेभिगेशन
शुक्रबार, असोज २३, २०८३

मध्यपूर्वमा रहेका नेपाली सुरक्षित, अमृत झाको रिहाइ प्रक्रिया चल्दै : परराष्ट्र मन्त्रालय

काठमाण्डाै – परराष्ट्र मन्त्रालयले मध्यपूर्वको समग्र परिस्थिति पछिल्ला दिनमा सामान्यीकरणतर्फ उन्मुख भइरहेको बताएको छ । मन्त्रायलले मध्यपूर्वमा रहेका नेपाली नागरिक सुरक्षित रहेको जनाएको हो ।

मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले खाडी क्षेत्रमा दिगो शान्तिका लागि समझदारी बन्दै गएको र अवरुद्ध यातायात तथा आपूर्ति शृङ्खला छिट्टै शुरू हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रवक्ता क्षेत्रीका अनुसार यूएईको फुजेरामा भर्खरै भएका केही छिटपुट घटनाबाहेक समग्र सुरक्षा अवस्था सकारात्मक छ ।

मन्त्रालयले स्थापना गरेको इमर्जेन्सी कन्ट्रोल रुम र कन्सुलर सेवा विभागको अनलाइन दर्ता प्रणालीमार्फत नेपाली नागरिकसँग निरन्तर सम्पर्क भइरहेको मन्त्रालयले जनाएको छ । यसैगरी कन्सुलर सेवा विभागको अनलाइन प्रणालीमा अहिलेसम्म ८७ हजार ५५१ जना नेपालीले आफ्नो विवरण दर्ता गराएका छन् ।

मन्त्रालयले विदेशमा रहेका नेपालीलाई स्थानीय सुरक्षा नियमको पालना गर्न, साइबर कानूनको उल्लङ्घन हुने गतिविधिमा संलग्न नहुन र आवश्यक परेमा नजिकको नेपाली नियोगमा सम्पर्क गर्न पुनः आग्रह गरेको छ ।

मन्त्रालयका अनुसार इरानको बन्दर अब्बासमा रहेका नेपाली नागरिक अमृत झाको रिहाइको विषय अहिले प्रक्रियामै रहेको छ ।

यसैबीच मध्यपूर्वमा विकसित घटनाक्रमले नेपालमा पार्न सक्ने प्रभावबारे अध्ययन गर्न गठित उच्चस्तरीय अन्तरमन्त्रालय कार्यदलले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ ।

प्रतिवेदनले मध्यपूर्वको द्वन्द्वका कारण दक्षिण एशियाली क्षेत्र र विशेषगरी नेपालमा पर्ने आर्थिक तथा सामाजिक प्रभावबारे गम्भीर सङ्केत गरेको छ ।

मध्यपूर्वमा कार्यरत झन्डै १८ लाख नेपाली नागरिकको सुरक्षा र उनीहरूमा आश्रित परिवारको जीविकोपार्जनमा पर्न सक्ने जोखिमलाई मुख्य चुनौतीका रूपमा औँल्याइएको छ ।

प्रकाशित मिति:
थप देश परदेश समाचार