माथ्लोघरका हजुरबाका पाँच सन्तान छन् । तीन छोरा, दुई छोरी । छोराहरूलाई पढेलेखेकी बुहारीले पत्याए, अनि छोरीहरूलाई पनि पढेलेखेकै ज्वाईं परे भनेर हजुरबा त्यसैत्यसै मख्ख छन् ।
तर हजुरबालाई सधैं एउटा चिन्ताले पिरोलिरहन्छ, त्यो हो– आफू कसको मात्रै बाउ ? यसले पनि बा भन्छ, उसले पनि बा भन्छ । बाउ भन्नु पर्नेले पनि बा भन्छ, बाउ भन्न नपर्नेले पनि बा नै भन्छ । पहिले छोराछोरीले मात्र बा भन्थे । आफ्ना पाँच सन्तानले त बा भन्ने नै भए ।बुढा पहिले आफ्ना पाँच सन्तानका मात्रै बा । सबै छोराछोरीको बिहे भयो । त्यसपछि बुढालाई बा भन्नेहरूको ताँती लाग्न थाल्यो । छोरीलाई लाने ज्वाईंले पनि बा नै भनेर बोलाउन थाले । छोराले ल्याएका बुहारीहरूले पनि बा नै भनेर ढोग्न थाले ।
ज्वाईंसित गएका छोरीहरूका छोराछोरी जन्मिए । बुहारी भित्र्याएका छोराहरूका पनि छोराछोरी भए । बुढा नातिनातिनाका समेत धनी भए । नातिनातिनाका बोली फुट्न थालेपछि उनीहरूले पनि बा नै भनेर बोलाउन थाले ।
बाको बा र उता मावलतिर आमाको बालाई त आफूले हजुरबा हजुरआमा भनेर बोलाइन्थ्यो । श्रीमतीको बाउलाई पनि ससुराबा भनिन्थ्यो । अनि आफ्नो बाउलाई श्रीमतीले पनि ससुराबा भनेर बोलाउँथिइन् । तर आफूलाई चाहिँ सबैले बा मात्रै भन्छन् । न नातिनातिनाले बाको अघिल्तिर हजुर जोड्छन् । न ज्वाईं र बुहारीहरूले ससुरा भन्छन् ।
छोराछोरीले पनि बा, बुहारीले पनि बा, ज्वाईंले पनि बा, नातिनातिनाले पनि बा । कहिलेकाहीँ बुहारीका दिदीबहिनी र दाजुभाइ घरमा आउँछन् । उनीहरूले पनि बा नै भनेर बोलाउँछन् । अनि ज्वाईंका दाजुभाइ र दिदीबहिनीसँग पनि कहिलेकाहीँ भेट हुन्छ । उनीहरूले पनि बा नै भन्छन् ।
हुँदाहुँदा बाटोमा भेटिएका नचिनेका मान्छेले पनि बा फलानो ठाउँमा जाने बाटो कता हो भनेर सोध्छन् । ल ठीकै छ, कहिलेकाहीँ भेट हुनेले त बुढा मान्छेलाई बा नै भनेर बोलाए रे । तर सधैं भेट भैरहने छोराबुहारी र नातिनातिना सबैले बा भनेर बोलाएपछि आफू कसको चाहिँ बाउ, कसको चाहिँ नबाउ भनेर बुढा अलमलमा परेका छन् ।
बुहारीलाई बाको अघिल्तिर ससुरा झुण्ड्याएर बोलाउन अप्ठ्यारो हुन नपर्ने हो । अनि नातिनातिनालाई बाको अगाडि हजुर झुण्ड्याएर हजुरबा भनेर बोलाउँदा मज्जै हुनुपर्ने हो । तर उनीहरूका बाउआमाले आफूलाई ड्याडी र बाबा, ममी र मामु भनेर सिकाए । अनि आफूलाई भन्नुपर्ने बा र आमा चाहिँ हजुरबा र हजुरआमातिर सारिदिए । यो सबै छोराबुहारीकै गल्ती हो भन्ने निष्कर्ष बुढाले निकाले । तै पनि मलाई बा नभन भनेर भन्ने आँट चाहिँ बुढाले गर्न सकेका छैनन् ।
अरुबेला त सबैले बा भन्दा पनि त्यति फरक पर्दैन । तर चाडपर्व र काजकर्ममा घरका सबै मान्छे सँगै भएको बेलामा चाहिँ हजुरबालाई अप्ठ्यारो पर्छ । छोराछोरीले बा यसलाई के गर्ने भनेर सोध्न नभ्याउँदै बुहारीले भन्छिन्– बा यसलाई यता राखेको छु है । उतिखेरै नातिनातिना झ्याम्मिंदै आउँछन् र गोजी छाम्दै भन्छन् – बा चकलेट किन्ने पैसा दिनुस् न । त्यहीबेला कुर्सीमा गमक्क परेर बसेको ज्वाईंले बात गर्ने मेलो सुरु गर्छ – अनि बा हजुरको प्रेसर हिजोआज कस्तो छ ?
अहिलेसम्म त प्रेसर ठीकै थियो, तर सबैले एकैपटक बा भनेर बोलाउन थालेपछि चाहिँ बुढाको प्रेसर बढ्न थाल्छ । किन मलाई बा भनेको भनेर सोध्न पनि नमिल्ने, अबदेखि बा नभन भनेर हप्काउन पनि नमिल्ने ।
जसले पनि बा भनेर बोलाउन थालेपछि बाको परिभाषा नै फेरिएको हो कि भन्ने आशंका बुढालाई लाग्यो । हत्तपत्त शब्दकोष पल्टाएर हेरे – ‘बा भनेको बाबु, बुवा, पिता । आफूलाई जन्माउने व्यक्ति । कानुन अनुसार धर्मपुत्र राख्न पाउने व्यक्ति ।’
यो परिभाषाअनुसार त आफूले जन्माएका पाँच सन्तानले मात्र आफूलाई बा भन्न पाउँछन् । अरुले पनि बा भन्ने हो उनीहरूलाई आफूले धर्मपुत्र या धर्मपुत्री राखेको हुनुपर्छ । तर न ज्वाईं धर्मपुत्र, न बुहारी धर्मपुत्री । न नातिनातिना आफूले जन्माएको व्यक्ति ।
कुरा केलाउँदै, खोतल्दै जाने हो भने आफूलाई बा भनेर बोलाउनेसँगको नातासम्बन्धमै अरुले पनि शंका गर्ने डर ! त्यसैले यसमा धेरै दिमाग खियाउनुभन्दा कसैले बा भनेर बोलाउँदा हँ भन्नुमै ठीक लागेर माथ्लोघरका हजुरबा अहिलेसम्म चुप नै छन् ।