नेभिगेशन

पोखराबाट अन्तर्राष्ट्रिय उडान बढाउन सरकारको विशेष छुट

काठमाण्डौ - तीन वर्षअघि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई अन्तर्राष्ट्रिय उडानको केन्द्रका रूपमा विकास गर्ने प्रयासले अब नयाँ गति लिने भएको छ। सरकारले विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई आकर्षित गर्न महत्त्वपूर्ण निर्णय गर्दै २०८५ साल भदौ मसान्तसम्म ‘पार्किङ’, ‘ल्यान्डिङ’ र ‘नेभिगेसन’ शुल्क पूर्ण रूपमा छुट दिने घोषणा गरेको छ। साथै ‘ग्राउन्ड ह्यान्डलिङ’ शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय पनि गरेको छ।

सरकारको यस निर्णयसँगै पोखराबाट अन्तर्राष्ट्रिय उडान विस्तार हुने अपेक्षा गरिएको छ। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यसले पोखरा-दुबईसहित अन्य अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान सञ्चालनका लागि अनुकूल वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभएको छ।

यता, फ्लाई दुबईले आगामी असोज ७ गतेदेखि पोखरा-दुबई सिधा उडान सुरु गर्ने तयारी पूरा गरेको छ। उडान तालिका स्वीकृत भइसकेको छ भने टिकट बुकिङसमेत खुला गरिएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार, यस उडानले दुबई हुँदै युरोप, अमेरिका तथा अन्य मुलुक जाने यात्रुलाई सहज बनाउनेछ। यात्राको समय छोटिने मात्र होइन, यात्रा खर्च पनि कम हुने अपेक्षा गरिएको छ।

पर्यटन प्रवर्द्धनका दृष्टिले पनि यस उडानलाई निकै महत्त्वपूर्ण मानिएको छ। अब विदेशी पर्यटकहरू काठमाण्डौ नआई सिधै पोखरा पुग्न सक्ने भएकाले पर्यटन व्यवसायले नयाँ गति लिने विश्वास गरिएको छ।साथै वैदेशिक रोजगारी,अध्ययन तथा भ्रमणका लागि विदेश जाने नेपालीहरूलाई पनि प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।

झण्डै २२ अर्ब रुपैयाँ ऋणमा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको तीन वर्षसम्म नियमित अन्तर्राष्ट्रिय उडानविहीन रहँदै आएको थियो। सरकारले शुल्क छुटको नीति लागू गरेसँगै अब विमानस्थललाई पूर्ण रूपमा अन्तर्राष्ट्रिय हवाई सञ्जालसँग जोड्ने बाटो खुल्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति:
थप समाज