हिजोआज नेपालमा पनि सूचना तथा सञ्चार प्रविधिले निकै ठूलो फड्को मारेको छ । यसको प्रभाव हाम्रो शिक्षा, सञ्चार र दैनिक जीवनका धेरै क्षेत्रमा स्पष्ट देख्न सकिन्छ । शिक्षाको कुरा गर्ने हो भने, पहिले विद्यालयमा कालोपाटीमा पढाइ हुन्थ्यो । त्यसपछि ह्वाइट बोर्ड (सेतो पाटी) को प्रयोग शुरु भयो । अहिले भने धेरै विद्यालयमा स्मार्ट बोर्डको प्रयोग हुन थालेको छ । यसले पढाइलाई अझ आधुनिक, प्रभावकारी र रुचीकर बनाएको छ ।
सञ्चारको क्षेत्रमा पनि ठूलो परिवर्तन आएको छ । पहिले कसैसँग सम्पर्क गर्न ह्वाइट टेलिफोन वा अन्य सीमित माध्यममा भर पर्नुपथ्र्यो । एक गाउँबाट अर्को गाउँमा रहेका व्यक्तिसँग कुरा गर्न धेरै समय लाग्थ्यो । कहिलेकाहीँ मानिसलाई बोलाएर वा निश्चित ठाउँमा कुराएर मात्र सम्पर्क गर्न सकिन्थ्यो । तर अहिले अवस्था पुरै परिवर्तन भएको छ । मोबाइल फोन र इन्टरनेटको विकाससँगै हामीले चाहेको व्यक्तिलाई केही पलमै सम्पर्क गर्न सक्छौँ । भिडियो कल, सन्देश वा सामाजिक सञ्जालमार्फत संसारको जुनसुकै ठाउँमा रहेका व्यक्तिसँग सहजै जोडिन सकिन्छ ।
यसरी सूचना तथा सञ्चार प्रविधिमा आधारित विद्युतीय उपकरणहरूको विकासले मानिसबीचको दूरी घटाएको छ । भौतिक रूपमा टाढा भए पनि प्रविधिको प्रयोगले हामीलाई एकअर्कासँग निकै नजिक बनाएको छ । यही कारणले सूचना तथा सञ्चार प्रविधि आजको जीवनको अभिन्न अंग बनेको छ । नेपालमा सूचना तथा सञ्चार प्रविधिको विकाससँगै नयाँ–नयाँ ग्याजेट र डिजिटल सेवाको प्रयोग तीव्र रूपमा बढेको छ । पहिले शहर–बजारमा मात्रै सीमित रहने नयाँ प्रविधि आज गाउँ–गाउँसम्म एकै समयमा पुग्न थालेको छ । त्यसैले हरेक वर्ष मात्र होइन, हरेक दिन नयाँ प्रविधि र उपकरणहरू परिमार्जित हुँदै आएका छन् ।
सञ्चारको विकास पनि क्रमशः हुँदै आएको हो । शुरुमा सामान्य मोबाइलबाट फोन गर्न मात्रै सकिन्थ्यो । त्यसपछि एसएमएस सुविधा आयो, स्मार्टफोनको विकाससँगै विभिन्न एप्स बने र अहिले फेसबुक, ह्वाट्सएप, भाइबर लगायतका माध्यमबाट सहज रूपमा सम्पर्क गर्न सकिन्छ । कोभिड–१९ महामारीले मोबाइल फोनको उपयोगिता अझ स्पष्ट बनायो । त्यतिबेला यही उपकरणबाट अनलाइन कक्षा, कार्यालय बैठक, अध्ययन, जानकारी आदान–प्रदान र विभिन्न सेवा सञ्चालन भए ।
सफ्टवेयर निरन्तर अपडेट भइरहेकाले हार्डवेयर पनि आधुनिक बन्दै गएका छन् । नेपालमा नयाँ प्रविधि केही ढिलो आउने भए पनि पहिलेको तुलनामा अहिले नयाँ मोबाइल र अरु ग्याजेट अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक भएको केही समयमै नेपाली बजारमा उपलब्ध हुन थालेका छन् । यद्यपि एआईमा आधारित केही नयाँ उपकरण र ५जी–६जी प्रविधिको प्रयोगमा भने नेपाल अझै केही पछि छ । आज एउटा स्मार्टफोनबाटै फोन, भिडियो कल, आर्थिक कारोबार, अध्ययन, मनोरञ्जन, कार्यालयका काम र सामाजिक सञ्जाल सञ्चालन गर्न सकिन्छ ।
अहिले त कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित उपकरणहरूले बोलेको वा लेखेको आधारमै धेरै काम गर्न थालेका छन् । त्यसैले साना र बहुउपयोगी उपकरणप्रति प्रयोगकर्ताको आकर्षण बढ्दै गएको छ । प्रविधिको प्रयोगसँगै यसको सुरक्षित प्रयोग पनि उत्तिकै आवश्यक छ । अपरिचित लिङ्क खोल्ने, अनावश्यक एप डाउनलोड गर्ने वा व्यक्तिगत तथा बैंकिङ विवरण साझा गर्ने बानीले साइबर ठगीको जोखिम बढाउन सक्छ ।
त्यसैले विश्वसनीय स्रोतबाट मात्रै एप डाउनलोड गर्ने, आवश्यक नभएका अनुमति नदिने, ल्यापटपको क्यामेरा आवश्यक नभएको बेला ढाकेर राख्ने र अनलाइन जुवाजस्ता गतिविधिबाट टाढा रहने बानी बसाल्नुपर्छ । अहिलेका स्मार्टफोनमा ‘स्मार्ट चार्जिङ’ सुविधा भएकाले रातभर चार्जमा राख्दा पनि ब्याट्रीलाई अनावश्यक क्षति नहोस् भनेर प्रणालीले आफैँ चार्ज व्यवस्थापन गर्छ । त्यसैले नयाँ मोबाइलमा पहिलेजस्तो रातभर चार्ज गर्दा धेरै असर पर्छ भन्ने धारणा धेरै हदसम्म लागू हुँदैन ।
नेपालमा विद्यार्थी र कार्यालयका प्रयोगकर्ताबीच मध्यम क्षमताका ‘कोर आई–५’ ल्यापटपको माग बढी छ भने सामान्य कामका लागि ‘कोर आई–३’ पनि पर्याप्त मानिन्छ । इन्जिनियरिङ, ग्राफिक्स, डिजाइनिङ र सफ्टवेयर विकासका लागि भने उच्च क्षमताका ल्यापटप आवश्यक पर्छ । पछिल्लो समय एआईको विस्तार, चिप र अन्य हार्डवेयरको मूल्यवृद्धिका कारण ल्यापटप र मोबाइल महँगा भएका छन् । यसले नयाँ उपकरण किन्नेभन्दा पुराना उपकरण मर्मत गरेर प्रयोग गर्नेको संख्या बढेको छ । त्यसैले नेपालसहित अन्तर्राष्ट्रिय आईटी बजारमा पनि केही मन्दी देखिएको छ ।
डिजिटल उपकरण खरिद गर्दा आवश्यकता र बजेटलाई प्राथमिकता दिनु बुद्धिमानी हुन्छ । नयाँ मोडल बजारमा आयो वा अरूले प्रयोग गरिरहेका छन् भन्दैमा अनावश्यक रूपमा महँगा उपकरण खरिद गर्नु उपयुक्त हुँदैन । सामान्य अध्ययन, कार्यालयको काम, अनलाइन बैठक वा इन्टरनेट प्रयोगका लागि मध्यम क्षमताको उपकरण नै पर्याप्त हुन सक्छ ।
डिजिटल उपकरणले हाम्रो जीवनलाई सहज, छिटो र प्रभावकारी बनाएको छ । तर यसको अधिकतम लाभ लिन डिजिटल सीपको विकास, जिम्मेवार प्रयोग, साइबर सुरक्षाप्रति सचेतना र सबै नागरिकमा प्रविधिको समान पहुँच सुनिश्चित गर्नु आजको आवश्यकता हो । पछिल्लो समय साइबर अपराध, अनलाइन ठगी, डेटा चोरी र व्यक्तिगत गोपनीयतामाथि हुने आक्रमणका घटना बढ्दै गएकाले सुरक्षित डिजिटल अभ्यासलाई प्राथमिकता दिनुपर्छ ।
(कम्प्युटर एसोसिएसन अफ नेपाल क्यान महासङ्घका निवर्तमान अध्यक्ष रञ्जित पोद्दारसँगको कुराकानीमा आधारित)