केही दिनअघि कर्णाली प्रदेशका जाजरकोट र दैलेख घुम्ने अवसर मिलेको थियो। सुर्खेतबाट सहज रूपमा कालोपत्रे सडकले जोडिएका यी जिल्लाहरू कुनै समय दुर्गम, विकट र सशस्त्र द्वन्द्वका कारण चर्चित क्षेत्र मानिन्थे। आज त्यही भूगोलमा पुग्दा विकासका केही संकेत स्पष्ट देख्न सकिन्छ। यातायातको पहुँचले यी जिल्लाहरूको मुहार फेरिन थालेको छ, यद्यपि त्यो परिवर्तन अझै पूर्ण भइसकेको छैन।
जाजरकोटसम्म पुग्दा मध्यपहाडी राजमार्गले क्षेत्रलाई छुने काम लगभग पूरा भइसकेको छ। छेडाबाट थलहारा जोड्ने सडक पनि हेर्दा झण्डै पक्की सडकजस्तै अनुभव हुने अवस्थामा पुगेको छ। यसले स्थानीय जनजीवन निश्चित रूपमा सहज भएको छ। तर सडक बनिनु र विकासको अनुभूति हुनु एउटै कुरा भने रहेनछ भन्ने कुरा यात्राका क्रममा नजिकबाट महसुस गर्न पाइयो।
सडकमा करिब १०–१२ किलोमिटर माथि जाँदा थलहाराबाट हिँडेर आइरहेका तीन–चार जना किशोरीहरू भेटिए। तीमध्ये एक जनाको चप्पल चुँडिएको थियो। उनीहरू करिब दुई घण्टा भन्दा बढी समय पैदल हिँडेर माथिल्लो गाउँतर्फ जाँदै थिए। यस्तो राम्रो सडक हुँदाहुँदै पनि उनीहरूले कुनै गाडी पाएका थिएनन्। कारण स्पष्ट थियो, त्यो क्षेत्रमा मानिसको आवतजावत कम छ र दिनको समयमा नियमित रूपमा चल्ने सार्वजनिक यातायातको व्यवस्था छैन। सडक छ, तर सडकले दिनुपर्ने सेवा अझै पुगेको छैन। विकासको वास्तविक अर्थ केवल पूर्वाधार निर्माण मात्र नभई त्यसको उपयोग र पहुँच पनि हो भन्ने कुरा त्यही दृश्यले सम्झाइदियो।
यात्राका क्रममा चार–पाँच वटा विद्यालय अवलोकन गर्ने अवसर पनि मिल्यो। विद्यालयका कक्षाकोठाहरूमा पुग्दा अर्को चिन्ताजनक यथार्थ देखियो। अनुमानित रूपमा आधाभन्दा बढी विद्यार्थी विद्यालयमा अनुपस्थित थिए। कोही परिवारसँगै रोजगारीको खोजीमा बाहिरिएका थिए भने कोही उच्च शिक्षा प्राप्त गर्न तराई वा सहरतर्फ गइसकेका थिए। गाउँमा युवापुस्ता र बालबालिकाको संख्या घट्दै गएको दृश्यले भविष्यप्रति अनेक प्रश्न उठायो।
आज देशका दुर्गम गाउँका किशोरकिशोरी तथा युवाहरू गाउँमा बस्न चाहँदैनन्। जसको आर्थिक अवस्था केही बलियो छ, उनीहरू सुर्खेत, नेपालगञ्ज, काठमाण्डौ जस्ता सहरमा पढ्न जान्छन्। आर्थिक रूपमा कमजोरहरू भने वैदेशिक रोजगारीलाई नै आफ्नो भविष्यको एकमात्र विकल्प ठान्न थालेका छन् । गाउँमा अवसरको अभाव, गुणस्तरीय शिक्षाको कमी, रोजगार नपाइने अवस्था र भविष्यप्रतिको अन्योलले युवा पुस्तालाई आफ्नो जन्मभूमिबाट टाढा धकेलिरहेको छ।
गएको भदौमा भएको राजनीतिक परिवर्तनपछि देशका प्रमुख नेताहरूले सय दिनभित्र विदेशिएका युवालाई स्वदेश फर्काउने तथा रोजगारीका अवसर सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। त्यो आश्वासनले धेरै युवामा आशा जगाएको थियो। कतिपय युवाहरू विदेशबाट फर्किएर परिवर्तनको अभियानलाई साथ दिनसमेत तयार भएका थिए। नागरिकले पनि त्यही आशाको आधारमा राजनीतिक नेतृत्वलाई अभूतपूर्व समर्थन दिएका थिए। तर सरकार गठन भएको सय दिनभन्दा बढी समय बितिसक्दा पनि यस विषयमा कुनै ठोस उपलब्धि देखिएको छैन। प्रारम्भिक तयारीसमेत प्रभावकारी ढंगले अगाडि बढेको अनुभूति नागरिकले गर्न सकेका छैनन्।
यसबीचका केही महिनालाई मात्र हेर्ने हो भने देशका विभिन्न स्थानबाट युवाहरूले आत्मदाह गर्ने, आत्महत्या गर्ने वा जीवनप्रति निराशा व्यक्त गर्दै चरम कदम चाल्ने समाचारहरू बारम्बार सार्वजनिक भएका छन्। यस्ता घटनालाई केवल व्यक्तिगत समस्या भनेर टार्न मिल्दैन। यो सामाजिक, आर्थिक र राजनीतिक निराशासँग पनि जोडिएको विषय हो। जब एक युवा आफ्नो भविष्य अन्धकारमय देख्न थाल्छ, जब उसले आफू अगाडि बढ्ने बाटो भेट्दैन, तब निराशाले उसलाई मानसिक रूपमा कमजोर बनाउँछ। आज धेरै युवाहरू आफ्नो वरिपरि मात्र होइन, निकै टाढासम्म अन्धकार फैलिएको देख्न थालेका छन्। उनीहरूलाई आफू जुन परिस्थितिमा छन्, त्यहाँबाट बाहिर निस्कन नसकिने हो कि भन्ने डरले सताउन थालेको छ।
सरकारका कार्यालयहरूमा केही प्रशासनिक सुधार भएका हुन सक्छन्। सिंहदरबारका फाइलहरू केही छिटो चल्न थालेका हुन सक्छन्। तर नागरिकको दैनिकीमा त्यो परिवर्तन अझै झरेको छैन। महँगीले नागरिकको भान्सामा आगोको ताप बढाइरहेको छ। दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि, रोजगारीको अभाव र घट्दो क्रयशक्तिले सामान्य परिवारको जीवन कठिन बन्दै गएको छ। यस्तो अवस्थामा आफ्नै घरसँगै आफैँलाई जलाउनेसम्मका घटनाहरू देखिनु केवल व्यक्तिगत पीडा होइन, राज्यप्रतिको गहिरो निराशाको संकेत पनि हो।
सरकार गठन भएको सय दिन नबित्दै देशका विभिन्न ठाउँमा प्रदर्शनहरू हुनु, राजनीतिक व्यक्तिहरूमाथि कारबाहीका घोषणा हुनु, सरकारले पक्राउ गर्ने र अदालतले रिहा गर्ने क्रम दोहोरिइरहनु जस्ता दृश्यले नागरिकले नयाँपनको अनुभूति दिलाउन सकेको छैन। बरु पुरानै राजनीतिक संस्कार र कार्यशैली दोहोरिएको अनुभूति भइरहेको छ। परिवर्तनका नाममा आशा बोकेका नागरिक निराश बन्दै गएका छन्।
आज सबैभन्दा गम्भीर प्रश्न यही हो कि के युवाहरूले देखाएको चरम निराशा केवल व्यक्तिगत असफलताको परिणाम हो, वा उनीहरूले राज्यको उपस्थितिलाई कमजोर महसुस गरेका हुन् ? के बारम्बार गरिने आश्वासन र पूरा नहुने प्रतिबद्धताले युवाहरूको मनोबल भत्काएको हो ? जब आशा नै लगातार कमजोर हुँदै जान्छ, तब मानिसले भविष्यभन्दा निराशालाई बढी विश्वास गर्न थाल्छ। यही अवस्थाले आज धेरै नेपाली युवाहरूलाई घेरेको देखिन्छ।
कर्णालीका सडकहरूले भूगोललाई जोड्न थालेका छन्। तर देशलाई आवश्यक भनेको केवल सडकको विस्तार होइन, अवसरको विस्तार हो। गाउँमा शिक्षा, स्वास्थ्य, रोजगारी र उद्यमका सम्भावना नपुगेसम्म युवाहरूलाई गाउँमा रोक्न सकिँदैन। भौतिक पूर्वाधारसँगै मानवीय विकासलाई प्राथमिकता नदिइने हो भने कालोपत्रे सडकहरू बढ्लान्, तर ती सडक भएर युवाहरू गाउँ छोडेर बाहिरिने क्रम झन् तीव्र हुन सक्छ।
देशका युवालाई सबैभन्दा धेरै चाहिएको कुरा नयाँ भाषण होइन, भरोसा जगाउने काम हो। उनीहरूलाई आश्वासन होइन, अवसर चाहिएको छ। किनकि सडकले गन्तव्यसम्म पुर्याउन सक्छ, तर सपनालाई जोगाइराख्ने काम राज्यले सिर्जना गर्ने अवसरले मात्रै गर्न सक्छ।