नेभिगेशन

पालिकाहरुमा मौसम मापन र सूचना प्रवाह गर्ने संयन्त्र आवश्यक

नेपालमा मनसुन शुरु भएसँगै वर्षाको अवस्था, त्यसले कृषि क्षेत्रमा पारेको प्रभाव र आगामी दिनको सम्भावित मौसमबारे चर्चा गर्दा दुईवटा दृष्टिकोणबाट विषयलाई हेर्न आवश्यक हुन्छ । पहिलो, मनसुनको प्राकृतिक चक्रलाई बुझ्नुपर्छ । दोस्रो, त्यसले कृषि, विपद् व्यवस्थापन र जनजीवनमा पार्ने प्रभावलाई विश्लेषण गर्नुपर्छ । मनसुन भनेको कुनै पनि दिन वा हप्ताभरि निरन्तर समान रूपमा वर्षा हुने प्रणाली होइन । यसको स्वाभाविक विशेषता नै केही दिन अत्यधिक वर्षा हुनु र केही दिन वर्षा कम हुनु हो । त्यसैले कुनै एक–दुई हप्ताको अवस्थालाई आधार मानेर मनसुन अपेक्षितकृत भयो वा भएन भन्ने निष्कर्ष निकाल्न मिल्दैन । 

यस वर्ष पनि मनसुन शुरु हुन केही ढिलो भयो र प्रारम्भिक चरणमा अपेक्षाकृत कमजोर देखियो । यही कारणले शुरुमा धेरै ठाउँमा पर्याप्त वर्षा हुन सकेन । अहिलेसम्मको तथ्यांक हेर्दा यस वर्ष औसतको झण्डै ७० प्रतिशत मात्र वर्षा भएको देखिन्छ । तर यो तथ्यांकलाई सिधै सबै ठाउँमा लागू गर्न मिल्दैन । औसत भन्नाले देशको समग्र अवस्था बुझाउँछ । कुनै वर्ष ३० प्रतिशत मात्र वर्षा हुन सक्छ भने अर्को वर्ष ११० प्रतिशतसम्म पनि पुग्न सक्छ । त्यसैले औसतको तथ्यांकले स्थानीय अवस्थालाई पूर्ण रूपमा प्रतिनिधित्व गर्दैन । नेपालमा अहिले पनि धेरै ठाउँमा औसतभन्दा बढी वर्षा भइरहेको छ । तर समस्या के छ भने यो वर्षा समान रूपमा वितरण भएको छैन । पहाडी क्षेत्रमा पर्याप्त वर्षा भए पनि तराई–मधेशका धेरै ठाउँमा अझै आवश्यक मात्रामा पानी परेको छैन । किसानका लागि आफ्नो खेतमा परेको पानी महत्वपूर्ण हुन्छ । त्यसैले समग्र तथ्यांक राम्रो देखिए पनि स्थानीय स्तरमा कृषि प्रभावित हुने अवस्था रहन सक्छ ।

यस वर्षको मनसुनलाई समग्रमा हेर्दा तराई–मधेश क्षेत्र सबैभन्दा बढी प्रभावित देखिएको छ । धेरै ठाउँमा रोपाइँ ढिलो भएको छ भने कतिपय क्षेत्रमा अझै पनि आकाशे पानीको भरमा खेती गर्नुपर्ने अवस्था छ । यद्यपि मनसुन सक्रिय भएसँगै देशका धेरै भागमा धान रोपाइँ सम्पन्न भइसकेको छ । आगामी केही दिन विशेषगरी आउँदो हप्ता सोमबारदेखि फेरि वर्षाको सम्भावना देखिएकाले केही राहत पुग्ने अपेक्षा गर्न सकिन्छ । 

यसवर्ष असामान्य वर्षा हुन सक्ने सम्भावना मौसमविद्हरूले शुरुदेखि नै औंल्याएका थिए । तर हालसम्म अनुमान गरिएजस्तो ठूलो समस्या भने देखिएको छैन । शुरुमा पानी नै नपर्ने हो कि भन्ने चिन्ता थियो, तर त्यसरी पूर्ण रूपमा वर्षाविहीन अवस्था बनेन । समग्र मूल्यांकन गर्दा अहिलेसम्मको मनसुन अपेक्षाकृत सन्तोषजनक नै रहेको भन्न सकिन्छ । 

तर अर्को महत्वपूर्ण चुनौती भनेको वर्षाको असमान वितरण हो । पछिल्ला वर्षहरूमा पानी लामो समयसम्म नपरी अचानक एकै ठाउँमा छोटो समयमा अत्यधिक वर्षा हुने प्रवृत्ति बढ्दै गएको छ । यसले बाढी, पहिरो र डुबानको जोखिम बढाउनुका साथै कृषि प्रणालीलाई पनि असर गरिरहेको छ । किसानले रोपेको धान जोगाउन समस्या हुने, पानीका मुहान पर्याप्त रूपमा नफुट्ने, सिँचाइका स्रोत कमजोर हुने तथा उत्पादनमा अनिश्चितता बढ्ने अवस्था सिर्जना भएको छ । 

विगत एक दशकअघिको अवस्थासँग तुलना गर्दा अहिले मौसम पूर्वानुमान प्रणाली उल्लेखनीय रूपमा सुधारिएको देखिन्छ । विशेषगरी प्राकृतिक विपद्को तयारीका लागि मौसम विभागले दिने पूर्वानुमान पहिलेभन्दा धेरै भरपर्दो बन्दै गएको छ । प्रदेशस्तरसम्म कुन क्षेत्रमा वर्षा हुने सम्भावना छ भन्ने जानकारी अहिले पर्याप्त हदसम्म दिन सकिने अवस्था बनेको छ ।

यद्यपि अझै पनि पालिका अर्थात् वडा स्तरमा ठ्याक्कै कुन समयमा, कुन ठाउँमा, कति वर्षा हुन्छ भन्ने पूर्वानुमान गर्न कठिन छ । विशेषगरी बिहान कि बेलुका वर्षा हुन्छ, कुन बस्तीमा अत्यधिक वर्षा हुन्छ वा छोटो समयमै आकश्मिक वर्षा हुन्छ भन्ने विषय अहिलेको प्रविधिबाट पनि पूर्ण रूपमा पूर्वानुमान गर्न चुनौतीपूर्ण नै छ । त्यसैले मौसम पूर्वानुमानलाई सम्भावनाका आधारमा बुझ्नुपर्ने हुन्छ, निश्चित घटनाका रूपमा होइन । 
मनसुन अझै सकिएको छैन । सामान्यतया नेपालमा मनसुन अशोजसम्म सक्रिय रहने भएकाले अहिले नै आत्तिनुपर्ने अवस्था छैन । आउँदो हप्ता पूर्वदेखि पश्चिमसम्म केही वर्षाको सम्भावना देखिए पनि तराई–मधेशमा भने पर्याप्त वर्षा हुने संकेत कमजोर देखिएको छ । पहाडी क्षेत्रमा भने वर्षा निरन्तर रहने सम्भावना रहेको मौसम विश्लेषणले देखाएको छ । तराई क्षेत्रमा पर्याप्त वर्षा गराउन सामान्य मनसुन प्रणाली मात्र पर्याप्त हुँदैन । त्यसका लागि बंगालको खाडी वा अन्य अनुकूल मौसमी प्रणाली सक्रिय हुनुपर्ने आवश्यकता पर्छ । त्यसैले तराई क्षेत्रमा अझै पनि पानीको अभाव कायम रहने सम्भावना पूर्ण रूपमा समाप्त भएको छैन । 

नेपालमा खडेरीको स्पष्ट र व्यवहारिक परिभाषा अझै विकास हुन सकेको छैन । धेरैजसो अवस्थामा वर्षा नै नपरेको अवस्थालाई मात्र खडेरी मान्ने गरिन्छ । तर कृषि विज्ञानका हिसाबले रोपाइँ गरिसकेपछि लामो समयसम्म पानी नपर्नु पनि कृषि खडेरीकै अवस्था हो । त्यसैले खडेरीलाई केवल वर्षा नहुनुसँग मात्र जोडेर हेर्नु उपयुक्त हुँदैन । हालसम्मको अवस्थालाई भने पूर्ण खडेरी भन्नुभन्दा कमजोर मनसुनको अवस्था भन्नु बढी उपयुक्त हुन्छ । यस सन्दर्भमा स्थानीय सरकार अर्थात् पालिकाहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ । मौसम विभागले केन्द्रबाट सूचना जारी गरे पनि हरेक पालिका वा गाउँको अवस्था छुट्टाछुट्टै समेट्न सम्भव हुँदैन । धेरैजसो अवस्थामा पालिकमा उपलब्ध सूचना किसानसम्म समयमै पुग्न सकिरहेको छैन । यसले मौसमसम्बन्धी जानकारीको प्रभावकारी उपयोग हुन सकेको छैन ।

पालिकामा मौसमसम्बन्धी सूचना प्रणालीलाई थप सुदृढ बनाउन आवश्यक छ । कृषि मात्र होइन, खानेपानी, सिँचाइ, विपद् व्यवस्थापन, सडक, जलस्रोत तथा अन्य पूर्वाधार व्यवस्थापनका लागि पनि पालिकामा मौसम मापन र सूचना प्रवाह गर्ने संयन्त्र विस्तार गर्नुपर्छ । स्थानीय भाषामा सरल र सहज रूपमा सूचना उपलब्ध गराउन सके किसानले अझ राम्रोसँग बुझ्न र त्यसअनुसार निर्णय लिन सक्छन् । 

जलवायु परिवर्तनका कारण मौसमको स्वरूप दिनप्रतिदिन जटिल बन्दै गएको छ । यस्तो अवस्थामा केन्द्र, प्रदेश र पालिकाबीचको समन्वय, आधुनिक पूर्वानुमान प्रणालीको विस्तार, स्थानीय सूचना सञ्जालको विकास तथा किसानसम्म समयमै विश्वसनीय जानकारी पु¥याउने व्यवस्था अझ प्रभावकारी बनाउन आवश्यक छ । यसले मात्र कृषि उत्पादनलाई सुरक्षित राख्न, विपद्को जोखिम घटाउन र बदलिँदो मौसमसँग समाजलाई अनुकूल बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ ।

(जलवायु विज्ञ ङमिन्द्र दाहालसँग हृदय रिमालले गरेको कुराकानीमा आधारित)

प्रकाशित मिति:
थप विचार