रसुवाको भोटेकोशीमा आएको आकस्मिक बाढीले ठूलो जनधनको क्षति गराएको तीन साता पुग्न लाग्दा प्रभावित समुदायको मानसिक स्वास्थ्यको प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण बनेको छ ।
विपद्ले घर, सम्पत्ति र आफन्त गुमाउँदा मानिसको घाउ आँखाले देखिने मात्रै हुँदैन । त्यसको असर मनमा पनि गहिरोसँग बस्छ । डर, त्रास, बेचैनी, निराशा, निद्रामा समस्या वा घटना बारम्बार सम्झिरहने जस्ता प्रतिक्रियालाई सामान्य ठानेर बेवास्ता गरियो भने त्यही आघात पछि गम्भीर मानसिक स्वास्थ्य समस्यामा परिणत हुन सक्छ । त्यसैले विपद्पछि घाइते शरीरको उपचारसँगै आघातमा परेको मनलाई तत्काल सुरक्षित र स्थिर बनाउनु पनि उत्तिकै आवश्यक हुन्छ ।
आघातजन्य अवस्थामा प्रभावित व्यक्तिलाई सुरक्षित महसुस गराउने, उसको कुरा सुन्ने, आवश्यकता पहिचान गर्ने र आवश्यक सहयोग तथा सेवासँग जोड्ने प्रारम्भिक प्रक्रियालाई मनोवैज्ञानिक प्राथमिक उपचार भनिन्छ। यो मानसिक रोगको उपचारभन्दा फरक हो । यसको मुख्य उद्देश्य सङ्कटमा परेको व्यक्तिलाई तत्काल सुरक्षित, शान्त र सहयोग पाउन सक्ने अवस्थामा पुर्याउनु हो।
विश्व स्वास्थ्य सङ्गठनको अवधारणाअनुसार मनोवैज्ञानिक प्राथमिक उपचारमा प्रभावित व्यक्तिको अवस्था हेर्ने, उसको कुरा सुन्ने, आवश्यकता पहिचान गर्ने र आवश्यक सेवासँग जोड्ने काम गरिन्छ । त्यसैले आघातमा परेको व्यक्तिलाई सहयोग गर्दा उसले के भोगिरहेको छ, अहिले उसको आवश्यकता के हो र उसलाई तत्काल कस्तो सहयोग आवश्यक छ भन्ने कुरा बुझ्नु महत्त्वपूर्ण हुन्छ ।
मनको अवस्था बुझ्न निरन्तर अवलोकन आवश्यक
शारीरिक स्वास्थ्य समस्या जस्तो मानसिक अवस्था बाहिरबाट हेरेर वा एउटा परीक्षण गरेर मात्रै पहिचान गर्न सकिँदैन । व्यक्तिको व्यवहार, बोली, भावनात्मक अवस्था, दैनिक गतिविधि र उसको प्रतिक्रियालाई ध्यानपूर्वक हेरेर मानसिक अवस्थाको प्रारम्भिक जानकारी लिन सकिन्छ ।
मनोविमर्शकर्ता वा मनोसामाजिक परामर्शदाताले प्रभावित व्यक्तिको कुरा ध्यानपूर्वक सुन्ने, उसको आवश्यकता पहिचान गर्ने, व्यवहारको अवलोकन गर्ने र आवश्यक परे मनोविद्, मनोचिकित्सक वा स्वास्थ्य संस्थासँग जोड्ने भूमिका खेल्नुपर्छ ।
भोटेकोशी बाढीजस्ता ठूलो विपद्पछि सबै प्रभावित व्यक्तिसम्म तत्काल मनोविद् वा मनोचिकित्सक पुग्न सम्भव नहुन सक्छ । त्यसैले अहिले समुदाय स्तरमै उपलब्ध मनोसामाजिक परामर्शदाता तथा मनोविमर्शकर्तालाई परिचालन गर्नु आवश्यक हुन्छ । विपद्का बेला मानसिक स्वास्थ्य सेवाको महत्त्व अझ स्पष्ट रूपमा देखिन्छ । यस्तो जनशक्तिलाई पहिले नै तयार राख्न सकिएमा विपद् आएको केही समयमै प्रभावित समुदायमा पुगेर आवश्यक सहयोग दिन सकिन्छ ।
बालबालिकालाई मनोवैज्ञानिक प्राथमिक उपचार
आघातपछि बालबालिकामा डराउने, एक्लै बस्न खोज्ने, निद्रामा समस्या हुने, झस्किने, चुप लाग्ने, रिसाउने, पढाइमा ध्यान नजाने वा पहिलेको व्यवहारमा फर्किन नसक्ने जस्ता प्रतिक्रिया देखिन सक्छन्। कतिपय बालबालिकाले आफूले भोगेको घटना शब्दमा व्यक्त गर्न नसक्ने भएकाले उनीहरूको व्यवहारबाट मानसिक असर पहिचान गर्नुपर्ने हुन्छ ।
यस्तो अवस्थामा बालबालिकालाई सबैभन्दा पहिले सुरक्षित वातावरण दिनुपर्छ । अभिभावक वा विश्वासिलो व्यक्तिको साथ, नियमित दिनचर्या, पर्याप्त खाना–पानी, सुरक्षित बसोबास, खेल्ने तथा रमाउने वातावरणले उनीहरूलाई सामान्य अवस्थामा फर्किन सहयोग गर्न सक्छ ।
साना बालबालिकाको हकमा उनीहरूको सुरक्षा र आधारभूत आवश्यकता पूरा गर्नु प्राथमिक विषय हो। उनीहरूलाई दुर्घटना वा थप जोखिमबाट जोगाउने, आवश्यक सामग्री उपलब्ध गराउने र अभिभावक वा परिवारका सदस्यसँग सुरक्षित सम्पर्कमा राख्ने काम महत्त्वपूर्ण हुन्छ।
१२ वर्षभन्दा माथिका बालबालिकाले परिस्थितिलाई केही हदसम्म बुझ्न सक्ने भए पनि सबैले समान रूपमा सामना गर्न सक्छन् भन्ने हुँदैन। कसैले आफूलाई सम्हाल्न सक्छु भने पनि व्यवहारमा त्यसको असर देखिन सक्छ। त्यसैले उनीहरूलाई आफ्नो भावना व्यक्त गर्ने अवसर दिनुका साथै सुरक्षित र सकारात्मक गतिविधिमा सहभागी गराउनुपर्छ। जिम्मेवारीअनुसारका काम, खेलकुद, सिर्जनात्मक गतिविधि र नियमित अध्ययनले उनीहरूको ध्यान अन्यत्र केन्द्रित गर्न तथा आत्मविश्वास बढाउन सहयोग गर्न सक्छ।
सामान्य भनेर बेवास्ता गर्न नहुने लक्षण
विपद्पछि केही समय डर, निराशा वा असहाय महसुस हुनु सामान्य प्रतिक्रिया हुन सक्छ। तर सबै परिवारका सदस्य वा प्रियजन गुमाएका व्यक्तिमा जीवनप्रति नै निराशा उत्पन्न हुन सक्छ। उनीहरूले आफू एक्लो भएको, जीवनको कुनै अर्थ नभएको वा अब केही गर्न नसक्ने महसुस गर्न सक्छन्।
‘म अब केही गर्न सक्दिनँ’, ‘म मात्रै किन बाँच्ने ?’ जस्ता सोच बारम्बार व्यक्त गर्ने, अत्यधिक निराश हुने, असामान्य व्यवहार देखाउने वा आफूलाई हानि पुर्याउने संकेत देखाउने व्यक्तिलाई एक्लै छोड्नु हुँदैन। यस्तो अवस्थामा परिवार, समुदायका सहयोगी व्यक्ति वा मनोसामाजिक परामर्शदाताले तत्काल ध्यान दिनुपर्छ र आवश्यक परे मानसिक स्वास्थ्य विशेषज्ञ वा स्वास्थ्य संस्थामा पुर्याउनुपर्छ।
मनोवैज्ञानिक प्राथमिक उपचार गर्दा ध्यान दिनुपर्ने कुरा
आघातमा परेको प्रत्येक व्यक्तिले तत्काल आफ्नो घटना वा भावना सुनाउन चाहन्छ भन्ने हुँदैन। कसैले बोल्न नचाहेमा उसलाई जबरजस्ती घटना सुनाउन लगाउनु हुँदैन। अनावश्यक प्रश्न गर्ने, दबाब दिने वा आफूले उचित ठानेको सुझाव थोपर्ने कामले उसको तनाव झन् बढाउन सक्छ।
मनोवैज्ञानिक प्राथमिक उपचारका क्रममा मुख्य रूपमा यी कुरामा ध्यान दिनुपर्छ :-
- प्रभावित व्यक्तिलाई सुरक्षित स्थानमा लैजाने ।
- पानी, खाना, आश्रय, औषधि तथा अन्य आधारभूत आवश्यकता पूरा गर्न सहयोग गर्ने ।
- डराएको, रोइरहेको वा आत्तिएको व्यक्तिसँग शान्त भएर कुरा गर्ने ।
- घटना वा भावना जबरजस्ती सुनाउन नलगाउने ।
- व्यक्ति बोल्न चाहन्छ भने ध्यानपूर्वक सुन्ने।
- उसको भावनालाई गलत वा कमजोर भनेर मूल्याङ्कन नगर्ने ।
- तत्काल समाधान दिनुभन्दा पहिले उसको आवश्यकता बुझ्ने ।
- आवश्यक परे परिवार, समुदाय तथा स्वास्थ्य सेवासँग जोड्ने ।
- अत्यधिक डर, निराशा, असामान्य व्यवहार वा आत्महानिको सोच देखिएमा तत्काल विशेषज्ञको सहयोग लिने ।
अर्थात् मनोवैज्ञानिक प्राथमिक उपचारको मूल आधार ‘हेर्ने, सुन्ने र आवश्यकताअनुसार जोड्ने’ हो । सबैलाई एउटै तरिकाले व्यवहार गर्नु यसको उद्देश्य होइन ।
प्राथमिक उपचारपछि पनि निरन्तर मनोसामाजिक सहयोग आवश्यक
मनोवैज्ञानिक प्राथमिक उपचार ‘फस्ट एड’ अर्थात् प्रारम्भिक सहयोग हो। यसले संकटको तत्काल अवस्थामा व्यक्तिलाई सुरक्षित र स्थिर बनाउन मद्दत गर्छ। तर गम्भीर आघातमा परेका सबै व्यक्तिको समस्या केही दिन वा हप्तामै समाप्त हुन्छ भन्ने हुँदैन।
रसुवा, नुवाकोटलगायत विपद् प्रभावित समुदायमा प्रभावित व्यक्तिको अवस्था हेरेर लामो समयसम्म मनोसामाजिक परामर्श आवश्यक हुन सक्छ। कतिपयलाई केही दिन वा हप्ताको सहयोग पर्याप्त हुन सक्छ भने कतिपयलाई महिनौँसम्म निरन्तर परामर्श र मानसिक स्वास्थ्य सेवाको आवश्यकता पर्न सक्छ।
त्यसैले सबै प्रभावितलाई एउटै समूहमा राखेर समान सेवा दिनुभन्दा उनीहरूले भोगेको क्षति, मानसिक अवस्था, उमेर, विगतमा भोगेको आघात, पारिवारिक तथा सामाजिक अवस्था र व्यक्तिगत आवश्यकताका आधारमा सहयोगको योजना बनाउनुपर्छ।
एउटै विपद् भोगेका व्यक्तिको प्रतिक्रिया पनि फरक हुन सक्छ। कसैले परिवार र सम्पत्ति गुमाए पनि आत्मबल बलियो राखेर पुनः उठ्ने प्रयास गर्न सक्छ भने कसैले तुलनात्मक रूपमा कम भौतिक क्षति भए पनि मानसिक रूपमा गम्भीर असर भोग्न सक्छ। त्यसैले क्षतिको मात्रा मात्रै हेरेर मानसिक अवस्था निर्धारण गर्न मिल्दैन।
संस्कृति, उमेर र व्यक्तिगत अवस्थाअनुसार परामर्श
व्यक्तिगत मनोसामाजिक परामर्श दिँदा सबैका लागि एउटै विधि लागू गर्न सकिँदैन। व्यक्तिको संस्कृति, उमेर, पारिवारिक अवस्था, भोगेको क्षतिको प्रकृति, विगतको आघात, वर्तमान मानसिक अवस्था र परिस्थितिप्रतिको उसको बुझाइलाई ध्यानमा राख्नुपर्छ।
विपद्पछि कसैलाई आफ्नो समुदाय र परिवारका सदस्यसँगको सम्बन्धले बल दिन सक्छ भने कसैलाई त्यही क्षति सम्झँदा झन् गहिरो मानसिक पीडा हुन सक्छ। त्यसैले प्रभावित व्यक्तिलाई उसको सामाजिक तथा सांस्कृतिक परिवेशबाट अलग गरेर हेर्नुभन्दा त्यसलाई पनि मनोसामाजिक सहयोगको महत्त्वपूर्ण पक्षका रूपमा लिनुपर्छ।
मनोसामाजिक जनशक्तिलाई तालिम र परिचालन आवश्यक
अहिलेको सबैभन्दा महत्त्वपूर्ण आवश्यकता प्रभावित समुदायको आत्मबल बलियो बनाउनु हो। रसुवा, नुवाकोटलगायतका क्षेत्रले पछिल्लो समय विभिन्न क्षेत्रमा गरेको प्रगति र विकासलाई एउटा आकस्मिक विपद्ले ठूलो धक्का पुर्याएको छ। परिवारका सदस्य गुमाएका वा ठूलो क्षति बेहोरेका व्यक्तिमध्ये कतिपय अझै पनि समुदायका लागि केही गर्नुपर्छ भन्ने आत्मबलका साथ अघि बढिरहेका छन्। तर कतिपयले आफूलाई सम्हाल्न र भविष्यतर्फ अघि बढ्न कठिनाइ भोगिरहेका छन्।
यस्तो अवस्थामा प्रभावित व्यक्तिलाई ‘हिम्मत गर’ भन्नु मात्र पर्याप्त हुँदैन। उनीहरूको कुरा सुन्ने, समस्या पहिचान गर्ने र आवश्यक सहयोगसम्म पुर्याउने सहयोगी जनशक्ति आवश्यक हुन्छ।
नेपालमा बाढी, पहिरो, भूकम्प, दुर्घटना तथा अन्य आकस्मिक विपद् पटक–पटक आउने गरेका छन्। त्यसैले मनोवैज्ञानिक प्राथमिक उपचारसम्बन्धी तालिमलाई विपद् व्यवस्थापनको नियमित तयारीको हिस्सा बनाउन आवश्यक छ।
नेपाली सेना, नेपाल प्रहरी, स्थानीय तहका सामाजिक परिचालक, स्वास्थ्यकर्मी, शिक्षक तथा समुदायमा काम गर्ने अन्य जनशक्तिलाई आधारभूत मनोवैज्ञानिक प्राथमिक उपचारको तालिम दिन सकिन्छ। यसो गर्न सकेमा विपद्का बेला मनोविद् वा मनोचिकित्सक नपुगेको अवस्थामा पनि प्रभावित व्यक्तिलाई प्रारम्भिक मनोसामाजिक सहयोग उपलब्ध गराउन सकिन्छ ।
हरेक वडा वा स्थानीय तहमा कम्तीमा आधारभूत मनोसामाजिक सहयोग दिन सक्ने जनशक्ति उपलब्ध गराउन सके विपद् आएको तत्कालै परिचालन गर्न सकिन्छ। त्यसपछि आवश्यकता पहिचान गरी गम्भीर अवस्थाका व्यक्तिलाई मनोविद्, मनोचिकित्सक वा सम्बन्धित स्वास्थ्य संस्थामा पठाउन सकिन्छ।
विपद् व्यवस्थापन भनेको उद्धार, राहत र पुनर्निर्माण मात्र होइन। प्रभावित व्यक्तिको मनलाई सुरक्षित र बलियो बनाउनु पनि विपद् व्यवस्थापनकै महत्त्वपूर्ण हिस्सा हो। त्यसैले भौतिक संरचना पुनर्निर्माणसँगै मानिसको मानसिक स्वास्थ्य पुनर्स्थापनालाई पनि प्राथमिकतामा राख्न आवश्यक छ ।
(मनोविद् वासु आचार्यसँग सम्झना महर्जनले गरेको कुराकानीमा आधारित )