रसुवाको भोटेकोशीमा आएको अप्रत्याशित र विनाशकारी बाढीले विदेशमा रहेका नेपालीलाई पनि गहिरो चोट पुर्याएको छ । रसुवा, धादिङ, नुवाकोट, गोरखा र चितवनको तटीय भेगका धेरै परिवारका सदस्य वैदेशिक रोजगारीमा छन् । आफ्नो घरपरिवारको वास्तविक अवस्था के हो भन्ने सही सूचना नपाउँदा विदेशमा रहेका नेपालीमाथि परेको मानसिक असर एउटा अलग्गै पाटो हो । सञ्चार सम्पर्क टुटेको, बाटो अवरुद्ध भएको र बिजुली नभएको अवस्थामा देशभित्रैका आफन्तसँग सम्पर्क गर्न नै गाह्रो भइरहेको बेला विदेशमा रहेर सही खबर पाउन झन् कठिन छ । धेरैले आफूलाई दोष दिने प्रवृत्ति पनि देखिएको छ । ‘म परिवारसँगै भइदिएको भए साथ दिन्थेँ, हात समाउँथेँ’ भन्ने पछुतोको भावनाले आफन्त गुमाएकाहरूलाई थप गाह्रो बनाएको छ ।
विचलन र पीडा असामान्य होइन, बरु यस्तो अप्रत्याशित र ठूलो क्षतिको समयमा यो स्वाभाविक प्रतिक्रिया हो । यो प्राकृतिक प्रकोपको पूर्वानुमान गर्ने प्रविधि र अनुभव हामीसँग छैन, त्यसैले यसलाई कसैको व्यक्तिगत कमजोरी वा गल्तीका रूपमा हेर्नु उचित हुँदैन । जो विदेशमा हुनुहुन्छ, उहाँहरूले आफूलाई दोषी वा कमजोर ठान्नु पर्दैन, बरु आफूलाई सम्हाल्नु नै अहिलेको पहिलो र सबैभन्दा जरुरी काम हो, किनभने स्वस्थ रहेर मात्र भोलिका दिनमा परिवार र समाजलाई थप योगदान दिन सकिन्छ ।
सूचना प्रविधिको यस युगमा घटनाका दृश्य क्षणभरमै संसारभर फैलिन्छन् । तर यसको एउटा नकारात्मक पाटो पनि छ । मोनिटाइज भएका सामाजिक सञ्जालहरूमा कतिपयले यस्तो कठिन घडीलाई अवसरका रूपमा प्रयोग गर्दै सनसनीपूर्ण र अनावश्यकरूपमा विकृत तस्वीर तथा भिडियो शेयर गर्ने गरेका छन् । यसले पीडित र उनीहरूका परिवारको गोपनीयता र मानवीय हकलाई कुण्ठित त गर्छ नै, साथै समाजमा थप त्रास र भ्रम पनि फैलाउँछ । यस्तो प्रवृत्तिबाट टाढा रही, आधिकारिक र वैधानिक माध्यमबाट मात्र सूचना लिने र गलत सूचनालाई नहेरी, नफैलाई एक प्रकारको सचेत नागरिककाे जिम्मेवारी निर्वाह गर्न सकिन्छ । गलत सूचना नहेर्दा त्यस्तो सामग्री बनाउनेहरूको आर्थिक प्रोत्साहन पनि स्वतः कम हुँदै जान्छ ।
विपद्पछि देखिने मानसिक प्रतिक्रियालाई तहगतरूपमा हेर्दा शुरूमा धेरैलाई डर, बेचैनी, निद्रा नलाग्ने र सजिलै विचलित हुने खालको ‘एक्युट डिस्ट्रेस रियाक्शन’ देखिन सक्छ जसलाई ‘डीप ब्रिदिङ’ र ‘ग्राउन्डिङ’ जस्ता शान्त रहने अभ्यासले व्यवस्थापन गर्न सकिन्छ । समयमै सही साथ र सहयोग नपाएमा यो बिस्तारै निराशा, उदासीनता र गहिरो चिन्तामा परिणत हुन सक्छ र दीर्घकालमा एन्जाइटी, डिप्रेशन वा ‘पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर’ जस्ता जटिल समस्यासम्म पुग्न सक्छ । कतिपयले यस्तो पीडाबाट पन्छिन जाँड–रक्सी वा अन्य लागूपदार्थको दुर्व्यसनमा फस्ने जोखिम पनि रहन्छ । यसैले प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतसँगै प्राथमिक मनोवैज्ञानिक सहयोगका कार्यक्रम पनि सँगसँगै सञ्चालन गर्नुपर्छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सरकारले केही व्यवस्था गरेको छ । वैदेशिक रोजगार बोर्डको समन्वयमा वीर अस्पतालमार्फत निःशुल्क टेलिमेडिसिन सेवा सञ्चालनमा छ जसबाट परामर्श र आवश्यक भए औषधि उपचारसम्मको सुविधा लिन सकिन्छ । यसका अतिरिक्त विभिन्न स्वयंसेवी सञ्जालले भर्चुअल परामर्श सेवा पनि दिइरहेका छन् । जुन देशमा नेपालीको बसोवास धेरै छ, त्यहाँका दूतावास र श्रम सहचारी कार्यालय पनि नागरिकको अभिभावकीय भूमिकामा रहेको र त्यहाँबाट पनि भावनात्मक, प्राविधिक र कानूनी सहयोग लिन सकिन्छ ।
विदेशमा रहेकाहरूले आफ्नो स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ । फरक हावापानी र तापक्रममा काम गर्दा हुने पानीको कमीले मिर्गौला समस्या, निद्रा नपुग्ने र तनाव कम गर्न जाँड–रक्सी खाने प्रवृत्तिले थप स्वास्थ्य जोखिम निम्त्याउने भएकाले आत्म–हेरचाहलाई बेवास्ता गर्नु हुन्न । कमाइएको पैसाभन्दा गुमाइएको स्वास्थ्य धेरै महँगो हुन्छ ।
देशभित्र रहेका परिवारका सदस्यहरूले पनि विदेशमा रहेका आफन्तसँगको सम्बन्धमा आत्मीयता कायम राख्नुपर्छ र आर्थिक चाहनाको दबाव थप्नु हुँदैन । वैदेशिक रोजगारबाट कमाएको पैसाको सदुपयोग र दीर्घकालीन लगानीमा परिवारको ध्यान जानुपर्छ । भौतिक दूरी भए पनि नियमित संवाद र भावनात्मक जडानले ‘परिवार सँगै छ’ भन्ने महसुस दिलाउन सक्छ जुन कठिन समयमा सबैभन्दा ठूलो बल हुन्छ ।
सशस्त्र युद्ध, जनआन्दोलन र २०७२ सालको भूकम्पबाट विस्थापित भएकाहरूमध्ये धेरै जना नै फेरि यस पटक भोटेकोशीको बाढीबाट प्रभावित भएका छन् । यसले पुनर्स्थापनाका पुराना प्रतिबद्धता प्रभावकारी रूपमा पूरा नभएको देखाउँछ । सरकारले नागरिकको अभिभावकीय भूमिका निर्वाह गर्दै वैज्ञानिक, न्यायपूर्ण र दीर्घकालीन पुनर्स्थापना योजना अहिल्यैदेखि तयार पार्नु जरुरी छ, ताकि प्रभावितलाई ‘सरकार मेरो पक्षमा छ’ भन्ने भरोसा मिलोस् ।
साथै मानसिक स्वास्थ्य क्षेत्रमा सरकारको नीतिगत प्रतिबद्धता भए पनि स्रोत–साधनको कमीले कार्यान्वयनमा प्रश्न उठ्ने गरेको छ । संविधान र सर्वोच्च अदालतको परमादेशले समेत निर्देशित गरेअनुसार मानसिक स्वास्थ्यमा लगानी बढाउनु आवश्यक छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले यो कठिन समयमा आफूलाई एक्लो ठान्नु हुँदैन । परिवार, समाज र राज्य सबै उनीहरूको पक्षमा उभिएका छन् । संयमित रही, सही सूचनासँग जोडिएर र आफ्नो स्वास्थ्यको हेरचाह गर्दै अगाडि बढ्नु नै अहिलेको सबैभन्दा ठूलो आवश्यकता हो । विपद्ले पुर्याएको क्षति अपूरणीय भए पनि आपसी सहानुभूति, धैर्य र सामूहिक प्रयासले यो कठिनाइबाट सामूहिक रूपमा बाहिर निस्कन सकिन्छ ।
(मानसिक अस्पताल, ललितपुर, लगनखेलका मानसिक रोग विशेषज्ञ डाक्टर वासुदेव कार्कीसँग साथी महेश ज्ञवालीले गरेको कुराकानीमा आधारित ।)