नेभिगेशन

अचानक आउने बाढीबाट जोगिने उपाय

प्राकृतिक प्रकोपलाई पूर्णरूपमा रोक्न नसकिए पनि समयमै सतर्कता अपनाएर धेरै जीवन र धनमालको रक्षा गर्न सकिन्छ । अचानक आउने बाढीबाट जोगिन सबैभन्दा पहिलो र महत्त्वपूर्ण कदम भनेको पूर्वसूचनालाई गम्भीरतापूर्वक लिनु हो । जल तथा मौसम विज्ञान विभाग वा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गर्ने चेतावनी आउनेबित्तिकै ढिलो नगरी सुरक्षित र अग्लो ठाउँतर्फ सर्नुपर्छ । मौसम तथा बाढीसम्बन्धी जानकारी पाउन ११५५, विपद‍्मा सहयोगका लागि ११४९, नेपाल प्रहरीका लागि १०० र सशस्त्र प्रहरी बलका लागि १११४ जस्ता आपत्कालीन नम्बरहरू पहिले नै सेभ गरेर राख्नु र सम्बन्धित निकायहरूले सामाजिक सञ्जाल वा मिडियामार्फत जारी गर्ने अद्यावधिक सूचनालाई नियमितरूपमा पछ्याउनु सुरक्षाका दृष्टिले अनिवार्य हुन्छ ।

बाढीको पूर्वसङ्केत बुझ्नु पनि उत्तिकै आवश्यक छ । नदी वा खोलाको पानी अचानक धमिलो भएमा, बहाव एकदमै बढेमा वा असामान्यरूपमा घटेमा माथिल्लो भेगमा पानी थुनिएको वा हिमताल फुटेको हुन सक्छ । यस्तो अवस्थामा नदी किनारमा ‘पानी हेर्न’ वा फोेटो–भिडियो बनाउन रोकिनुको सट्टा तत्काल किनारबाट टाढा भई अग्लो भूभागतर्फ लाग्नुपर्छ । त्यसैगरी जमिनमा एकाएक चिरा देखिनु, रुख वा बिजुलीका पोलहरू बाङ्गिनु भनेकाे पहिरो तथा भूक्षयको पूर्वसङ्केत भएकाले यस्ता दृश्य देखिनेबित्तिकै सम्बन्धित निकायलाई सूचित गर्नुपर्छ । बाढी आएको समयमा काठ दाउरा सङ्कलन गर्न खोलातिर जाने, फोटो–भिडियो खिच्न वा टिकटक बनाउन जोखिम मोलेर किनार नजिक जानेजस्ता खेलाँची गर्नु हुँदैन । लेदो र गेगरानसहितको बाढीको घनत्व र शक्ति अत्यधिक हुने भएकाले यस्तो बाढीले ठूला संरचनासमेत सजिलै बगाउन सक्छ । यसरी बगेपछि उद्धारको सम्भावनासमेत न्यून हुने भएकाले आफ्नो ज्यानसँग सम्बन्धित विषयमा सनसनी फैलाउने वा भिडियो बनाउने सोच त्याग्नुपर्छ ।

विपद‍्मा परेकाहरूलाई तत्काल उद्धारमा सघाउनु र सुरक्षा निकायलाई खबर गर्नु प्रत्येक नागरिकको दायित्व हो । बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती र अपाङ्गता भएका व्यक्तिहरूको सुरक्षामा परिवार र छिमेकले विशेष ध्यान दिनुपर्छ । लेदो र गेगरानसहित बगिरहेको खोलामा गाडी, मोटरसाइकल वा हिँडेरै तर्ने प्रयास कहिल्यै गर्नु हुँदैन । रातको समयमा वा प्रहरीले रोकेको जोखिमयुक्त सडक खण्डमा जबरजस्ती यात्रा नगर्नु र नदी किनारका बस्तीमा बस्नेहरूले पहिले नै सुरक्षित ठाउँ पहिचान गरी राख्नु सुरक्षा निकायहरूको मुख्य सुझाव रहेको छ । बाढी प्रभावित क्षेत्रभन्दा बाहिर रहेका व्यक्तिहरूले पनि जोखिमयुक्त क्षेत्रतर्फको यात्रा रोक्नुपर्छ र सञ्चार तथा मिडियामार्फत परिस्थितिको अद्यावधिक चासो मात्र राख्नु उपयुक्त हुन्छ ।

नेपालको भौगोलिक र आर्थिक कारणले गर्दा हिमाली तथा पहाडी भेगका नदीले बनाएका परापूर्वकालका टारहरूमा बस्ती र संरचनाहरूको विकास हुने गरेको छ । सुरक्षाभन्दा आर्थिक गतिविधि र उपलब्धतालाई प्राथमिकता दिइँदा यस्ता बस्तीहरू जोखिममा पर्ने गरेका छन् । तर व्यवस्थित बस्ती विकास गर्दा जोखिमका पक्षहरूलाई ध्यान दिनु अनिवार्य हुन्छ । सञ्चार अवरोध हुने, बिजुली जाने वा नेपाल टेलिकम तथा अन्य टावरहरू खस्नेजस्ता समस्या बाढीका बेला आउन सक्ने भएकाले थिग्रिनीले बनेका कमजोर टारहरूभन्दा मुनि चट्टानी भाग भएका, मजबुत र अग्ला भूभागहरूमा आश्रय लिनु सुरक्षित हुन्छ ।

रसुवागढीजस्ता सीमावर्ती नाका र हिमाली क्षेत्रमा भएका बाढीका घटनाहरूले हामीलाई प्रकृतिको यो प्रकोपबारे निरन्तर सचेत गराइरहेका छन् । हिमाली सीमावर्ती जिल्लाका बासिन्दा, यात्रु र व्यापारीहरूले विशेषगरी उच्च सतर्कता अपनाउनु आवश्यक छ । स्थानीय तहहरूले पूर्वसूचना प्रणाली र सुरक्षित ठाउँको पहिचानलाई सधैँ अद्यावधिक राख्नुपर्छ भने सङ्घीय सरकारले हिमतालहरूको निरन्तर अध्ययन र जोखिम न्यूनीकरणका उपायहरूमा दीर्घकालीन लगानी बढाउनु आजको प्रमुख आवश्यकता हो ।

(जलउत्पन्न प्रकोप, बाढी पहिरो नियन्त्रण तथा भूगर्भ विज्ञानका विज्ञ इन्जिनियर श्रीकमल द्विवेदीसँग साथी महेश ज्ञवालीले गरेको कुराकानीमा आधारित ।)

प्रकाशित मिति:
थप विचार