नेभिगेशन

विदेशबाट फर्किँदा अपरिचित मान्छेको सामान बोक्दा कानूनी फन्दामा पर्ने जोखिम हुन्छ

वैदेशिक रोजगारी वा अन्य सिलसिलामा विदेश गएर स्वदेश फर्किँदै गरेका नेपालीहरू प्रायः विमानस्थलमा एउटा ठूलो व्यावहारिक र कानूनी सङ्कटमा पर्ने गरेका छन् । विमानस्थल वा विदेशका विभिन्न शहरहरूमा भेटिने अपरिचित वा सामान्य चिनजानका व्यक्तिहरूले ‘नेपालसम्म यो सानो सामान पुर्‍याइदिनू’ भन्दै अनुरोध गर्दा धेरै नेपालीहरू सामान्य मानवीय नाता वा थोरै आर्थिक प्रलोभनका कारण सहयोग गर्न तयार हुन्छन् । ५–१० हजार रुपैयाँको लोभ वा अरूको भलो गर्ने भावनाले गर्दा उनीहरूले आफूले बोकेको सामानभित्रको जोखिम बुझ्न पाउँदैनन् । तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनेबित्तिकै शुरू हुने जाँचका क्रममा ल्याएको सामान अवैध, कर छली गरिएको वा कानूनी सीमाभन्दा धेरै भएको पाइएपछि मात्र उनीहरू आफू ठूलो समस्यामा परेको महसुस गर्छन् । सामान्य आर्थिक लाभ वा मानवीय भावनाको आडमा चलाइएको यो गिरोहको सञ्जालले सोझासाझा यात्रुलाई कानूनको कठघरामा उभ्याइदिने गरेको छ ।

पछिल्लो समय नेपाल सरकारको नयाँ बजेट भाषण र राजस्व नीतिमार्फत सुन तथा अरू बहुमूल्य वस्तुको आयातसम्बन्धी नियमहरूमा परिमार्जन गरिएको छ । पहिले काँचो सुन, बेरुवा औँठी वा सुनको सिक्री ल्याउन बन्देज भए पनि गहनाका रूपमा मात्र केही छुट दिइएको थियो । नयाँ व्यवस्था पछि काँचो सुन र औँठी–सिक्रीजस्ता वस्तुहरू सहजै ल्याउन पाउने बाटो खुलेझैँ देखिएपछि यसको अनुचित फाइदा तस्कर तथा बिचौलियाहरूले उठाउन थाले ।

कानूनअनुसार वैदेशिक रोजगारीबाट फर्किँदै गरेका महिला यात्रुले ५० ग्राम र पुरुष यात्रुले २५ ग्रामसम्म सुन ल्याउन पाउने कानूनी प्रावधान छ । यही सीमालाई भजाएर वास्तविक सुन धनी वा मुख्य व्यापारीहरूले सोझा यात्रुहरूलाई ५ हजार वा १० हजार रुपैयाँको प्रलोभन देखाई आफू पर्दा पछाडि बसेर सामान पठाउने प्रवृत्ति ह्वात्तै बढेको छ । विमानस्थल भन्सार र सुरक्षा निकायले अनुसन्धानका प्राविधिक विधिहरू अपनाएर केरकार गर्दा यात्रुहरूले ‘यो सामान मेरो होइन, अर्कैले ल्याइदिन भनेको हो’ भनी स्वीकार गर्छन् जसले गर्दा यात्रु स्वतः भन्सार र कानूनी झन्झटको घेरामा पर्छन् ।

सुनको अवैध ओसारपसारमा यात्रुहरू फस्दा आउने कानूनी र आर्थिक समस्या अत्यन्तै जटिल हुन्छ । भन्सार ऐनअनुसार आफ्नो भनेर प्रमाण पेश गर्न नसकिएको वा मापदण्ड विपरीत अरूको सामान ल्याएको पुष्टि भएमा विदेशबाट ल्याएको सुन जफत हुनुका साथै सामान बराबरको बिगो वा धरौटी रकम जम्मा नगरेसम्म सम्बन्धित व्यक्ति हिरासत वा थुनाबाट मुक्त हुन सक्दैन । जब यात्रु विमानस्थलमा नियन्त्रणमा पर्छन्, सामान पठाउने मुख्य मालिकले तुरुन्तै आफ्नो सम्पर्कविच्छेद गर्छ र मोबाइल अफ गरेर बेपत्ता हुन्छ । नतिजा स्वरूप सामान बोक्ने यात्रुले न त त्यो मान्छेलाई भेट्न सक्छ, न त आफूसँग धरौटी राख्ने पैसा नै हुन्छ ।

यसरी अरूको सामान बोकिदिएकै कारण धेरै नेपालीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सीधै जेल वा थुनामा पुग्न बाध्य भएका छन् भने कतिपयले घरपरिवारबाट रोइकराइ गरेर ऋणका साथ पैसा मगाई धरौटी बुझाएर छुट्नुपर्ने भयावह स्थिति सिर्जना भएको छ । यसका साथै खाडीबाट आउने हजारौँ यात्रुले अरूको २५–२५ ग्राम सुन यसरी ल्याइदिने हो भने यसले देशको राजस्व र आन्तरिक सुन खपतको चक्रमा समेत ठूलो नकारात्मक असर पार्छ ।

सुनबाहेक मोबाइल र ल्यापटपजस्ता विद्युतीय सामानहरूमा पनि यस्तै किसिमको विकृति र ठगी व्यापक रूपमा बढेको छ । विदेशमा नयाँ मोडलका मोबाइल तथा ल्यापटपहरू नेपालको दाँजोमा सस्तो पाइने भएकाले धेरैले २–३ वटाभन्दा धेरै बोकेर आउने गरेका छन् ।

आर्थिक वर्ष २०८०/८१ मा विमानस्थलबाट झन्डै ७१ लाख रुपैयाँ बराबरका मोबाइल र ल्यापटपसहित १७ जना पक्राउ परेकामा आर्थिक वर्ष २०८१/८२ को शुरुवाती चरणमै यो सङ्ख्या ह्वात्तै बढेर २ करोड ४८ लाख रुपैयाँ बराबरका सामानसहित ९९ जना मानिस पक्राउ परिसकेका छन् । श्रम स्वीकृति लिएर ६ महिना वा २ वर्षभन्दा धेरै काम गरेर फर्किने यात्रुले आफ्नो व्यक्तिगत प्रयोजनका लागि एउटा प्रयोग गरिरहेको र एउटा नयाँ मोबाइल वा ल्यापटप ल्याउन पाउने कानूनी अधिकार छ । तर अरूको आग्रहमा थप ३–४ वटा मोबाइल बोकिदिँदा विमानस्थलमा भन्सार छलीको मुद्दा आकर्षित हुन्छ । मोबाइल र ल्यापटपको हकमा यात्रुले ‘यो मेरो होइन, अर्कैको हो’ भनी घोषणा गरेमा सामान जफत गराएर मान्छेलाई छाड्ने प्रावधान भए पनि यसले यात्रुलाई अनावश्यक तनाव र कानूनी उल्झनमा भने पक्कै पार्छ ।

सबैभन्दा खतरनाक पाटो के हो भने अरूको सामान बोकिदिने क्रममा सुन वा मोबाइलको सट्टा लागूऔषध वा अन्य कुनै प्रतिबन्धित अवैध वस्तु रहेछ भने यात्रुको जीवन र भविष्य पूर्णरूपमा बर्बाद हुन्छ । नचिनेका वा सामान्य चिनजानका व्यक्तिले ‘सानो पार्सल छ, पुर्‍याइदिनू’ भन्दा त्यसभित्र के छ भन्ने कुराको पूर्ण ज्ञान नहुँदा यात्रुहरू अन्जानमै लागूऔषध तस्करीको मुख्य अभियुक्त बन्न पुग्छन् । यस्तो अवस्थामा कुनै धरौटी वा छुटको प्रावधान हुँदैन र सीधै जेल सजाय हुने गर्छ । त्यसैले विदेशबाट नेपाल फर्किँदा वैदेशिक रोजगारीमा रहेका वा जुनसुकै यात्रुले पनि आफ्नो कानूनी अधिकार र सीमालाई स्पष्टसँग बुझ्न आवश्यक छ । अरूले अनुरोध गर्दैमा वा २–४ हजार रुपैयाँको लोभ देखाउँदैमा आफूसँग अलग्गै मोबाइल वा सामान छ भने ‘म लैजान सक्दिनँ, कानूनले मिल्दैन’ भनेर ठाडो अस्वीकार (सरी) भन्न सक्नुपर्छ ।

यदि विदेशमा रहँदा कसैले शंकास्पद रूपमा सामान बोक्न दबाव दिएमा, प्रलोभन देखाएमा वा आपराधिक गतिविधिमा संलग्न गराउन खोजेमा यात्रुहरू सचेत भई तुरुन्त जानकारी दिन सक्छन् । नेपाल आगमनछि विमानस्थलमा खटिएका जुनसुकै प्रहरी कर्मचारीलाई भेटेर यस्ता शंकास्पद व्यक्ति वा उनीहरूले दिएको सामानबारे सूचना दिन सकिन्छ । त्यसैगरी यस्ता अवैध धन्दा र शंकास्पद व्यक्तिहरूको अनुसन्धानका लागि विमानस्थल प्रहरीको आधिकारिक सम्पर्क नम्बर ९८५१२९३२४५ मा सीधै फोन गरेर जानकारी वा उजुरी दिन सकिने व्यवस्था मिलाइएको छ । आफ्नै सुरक्षा, परिवारको खुशी र कानूनी झन्झटबाट बच्नका लागि ‘सामान आफ्नो र प्रमाणित छ भने मात्र ल्याउने, अरूको सामान कहिल्यै नबोक्ने’ भन्ने नियमलाई प्रत्येक प्रवासी नेपालीले अनिवार्य रूपमा पालना गर्नु नै बुद्धिमानी हुन्छ ।

(त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालसँग महेश ज्ञवालीले गरेको कुराकानीमा आधारित)

प्रकाशित मिति:
थप विचार