हृदयघात मुटु रोगमध्ये एक्कासि हुने र तत्काल उपचार नपाएमा ज्यानसमेत जान सक्ने गम्भीर अवस्था हो । हाम्रो मुटुले आफैँ निरन्तर रगत र अक्सिजन पाउनुपर्छ । मुटुको मांसपेशीमा रगत र अक्सिजन पुर्याउने मुख्य रक्त नलीलाई कोरोनरी धमनी भनिन्छ । यही धमनी अचानक बन्द वा अत्यन्त साँघुरो हुँदा मुटुको मांसपेशीमा रगतको प्रवाह कम हुन्छ र त्यसबाट क्षति हुन थाल्छ । यही अवस्थालाई हृदयघात भनिन्छ ।
हृदयघातलाई कतिपय अवस्थामा ‘साइलेन्ट किलर’ पनि भनिन्छ । किनभने कहिलेकाहीँ यसको लक्षण स्पष्ट वा सामान्यभन्दा फरक देखिन सक्छ । तर हृदयघात अचानक आकाशबाट खसेजस्तो हुने होइन । धेरैजसो अवस्थामा यसको पछाडि लामो समयदेखि धमनीमा बोसो र कोलेस्ट्रोलजन्य पदार्थ जम्मा हुँदै जाने प्रक्रिया हुन्छ । त्यही जमेको पदार्थमा क्षति पुग्दा रगतको थेग्रो बनेर धमनी अचानक बन्द हुन सक्छ ।
धमनी बन्द भएपछि उपचारमा जति ढिलाइ हुन्छ, मुटुको मांसपेशीमा त्यति नै बढी क्षति हुन सक्छ । त्यसैले हृदयघातमा ‘समय’ नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो । हिजोसम्म सामान्य रूपमा हिँडडुल गरिरहेको मानिस एक्कासि ढलेर मृत्यु हुनुको एउटा प्रमुख कारण पनि मुटुको रक्त नलीमा अचानक अवरोध उत्पन्न हुनु हो ।
मधुमेह, उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, धुमपान, मोटोपन, शारीरिक निष्क्रियता, अस्वस्थ खानपान र दीर्घकालीन तनाव हृदयघातका प्रमुख जोखिममध्ये पर्छन् । विशेष गरी उच्च रक्तचाप, मधुमेह वा कोलेस्ट्रोलको समस्या भएका व्यक्तिले औषधि सेवन गरिरहेको छु भनेर मात्र ढुक्क हुनु हुँदैन । चिकित्सकको नियमित सल्लाह, आवश्यक परीक्षण र औषधिको निरन्तरता पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ ।
हृदयघातका मुख्य लक्षण
हृदयघात हुँदा सबै व्यक्तिमा एउटै प्रकारका लक्षण देखिन्छन् भन्ने हुँदैन । सामान्यतया छातीको बीच भागमा दबाब परेको, भारी भएको वा कस्सिएको जस्तो महसुस हुनु, दुखाइ बायाँ हात, काँध, ढाड, घाँटीतिर फैलिनु, सास फेर्न गाह्रो हुनु, चिसो पसिना आउनु, वाकवाकी वा बान्ता हुनु, धड्कन असामान्य भएको महसुस हुनु, अत्यधिक कमजोरी, चक्कर लाग्नु वा बेहोस हुनुजस्ता लक्षण देखिन सक्छन् ।
कतिपय अवस्थामा हृदयाघातको लक्षण ग्यास्ट्रिक पनि हुन सक्छ । त्यसैले छातीमा असहजता वा माथि उल्लेखित लक्षणमध्ये कुनै लक्षण दोहोरिइरहेको छ भने त्यसलाई सामान्य भनेर बेवास्ता गर्नु हुँदैन ।
विशेष गरी हिँड्दा, उकालो चढ्दा वा भर्याङ चढ्दा छाती दुख्ने, भारी हुने, सास फेर्न गाह्रो हुने र आराम गरेपछि ठीक हुने समस्या लामो समयदेखि दोहोरिइरहेको छ भने त्यसलाई सामान्य मान्नु हुँदैन । यस्तो अवस्था हृदयमा रगतको आपूर्ति कम भएको संकेत पनि हुन सक्छ । त्यसैले समयमै चिकित्सकको सल्लाह लिएर आवश्यक परीक्षण गराउनुपर्छ ।
रक्तचाप कति हुँदा सामान्य मान्ने ?
रक्तचाप पनि हृदयाघातको जोखिमसँग जोडिएको महत्त्वपूर्ण विषय हो । रक्तचाप एक पटक बढ्दैमा मात्र उच्च रक्तचापको निदान हुँदैन । कामको तनाव, मानसिक तनाव, पीडा, डर वा अन्य आकस्मिक अवस्थाका कारण पनि केही समयका लागि रक्तचाप बढ्न सक्छ । तर रक्तचाप बारम्बार वा लगातार उच्च देखिन थालेमा त्यसलाई बेवास्ता गर्नु हुँदैन ।
रक्तचाप लामो समयसम्म नियन्त्रणमा नरहेमा मुटुका साथै मिर्गौला, मस्तिष्क र आँखामा समेत क्षति पुग्न सक्छ । त्यसैले नियमित रक्तचाप जाँच गर्ने, चिकित्सकको सल्लाहअनुसार जीवनशैली सुधार गर्ने र आवश्यक परे औषधि सेवन गर्ने बानी बसाल्नुपर्छ । आफूखुशी औषधि शुरु गर्ने, बन्द गर्ने वा मात्रा परिवर्तन गर्ने कदापि गर्नु हुँदैन ।
लक्षण देखिएमा के गर्ने, के नगर्ने ?
हृदयघातका सम्भावित लक्षण देखिएपछि ‘भोलि अस्पताल जाउँला’ भनेर पर्खनु सबैभन्दा ठूलो जोखिम हुन सक्छ । धेरै मानिस छाती दुखेको वा असहज भएको अवस्थालाई ग्यास्ट्रिक सम्झेर पेटको औषधि खाएर घरमै बस्ने गर्छन् । यस्तो गर्नु घातक हुन सक्छ ।
रक्तचाप, मधुमेह र कोलेस्ट्रोल नियन्त्रणमा राख्नु, धुमपानबाट टाढा रहनु र नियमित शारीरिक गतिविधि गर्नु मुटु स्वस्थ राख्न महत्त्वपूर्ण हुन्छ
छातीमा असामान्य दुखाइ, दबाब वा भारीपन, सास फेर्न गाह्रो हुने, चिसो पसिना आउने, वाकवाकी हुने वा अचानक अत्यधिक कमजोरी महसुस हुनेजस्ता लक्षण देखिएमा सकेसम्म तुरुन्तै अस्पताल पुग्नुपर्छ । अस्पतालमा ईसीजीलगायत आवश्यक परीक्षण गरिन्छ र चिकित्सकले हृदयाघातको अवस्था मूल्याङ्कन गर्छन् ।
ईसीजी सामान्य आयो भन्दैमा सबै अवस्थामा हृदयाघातको सम्भावना पूर्ण रूपमा समाप्त हुन्छ भन्ने हुँदैन । लक्षण र अन्य परीक्षणका आधारमा चिकित्सकले थप जाँच आवश्यक ठान्न सक्छन् । त्यसैले लक्षण निरन्तर रहिरहेको वा बढिरहेको अवस्थामा चिकित्सकीय मूल्याङ्कन अत्यन्त आवश्यक हुन्छ । सकेसम्म आकस्मिक हृदयरोग उपचारको सुविधा भएको अस्पतालमा पुग्नु महत्त्वपूर्ण हुन्छ ।
हृदयघातबाट बच्न चलायमान जीवनशैली आवश्यक
हृदयघातबाट बच्ने विषय उपचारमा मात्र सीमित छैन । हाम्रो दैनिक जीवनशैली पनि उत्तिकै महत्त्वपूर्ण छ । अघिल्ला पुस्ताको जीवनशैली अहिलेको तुलनामा बढी शारीरिक श्रममा आधारित थियो । मानिसहरू धेरै हिँड्थे, खेतबारीमा काम गर्थे र दैनिक गतिविधिमै पर्याप्त शारीरिक सक्रियता हुन्थ्यो । खानपान पनि तुलनात्मक रूपमा प्राकृतिक र कम प्रशोधित थियो। अहिले प्रविधिको बढ्दो प्रयोग, लामो समय एउटै ठाउँमा बसेर काम गर्ने बानी, शारीरिक गतिविधिको कमी, अस्वस्थ खानपान, धुमपान र दीर्घकालीन तनावका कारण नसर्ने रोगको जोखिम बढिरहेको छ ।
रोग लागेपछि मात्र उपचार खोज्ने होइन, रोग लाग्न नदिने जीवनशैली अपनाउनु आवश्यक
लामो समयसम्म एउटै ठाउँमा बसिरहने बानी शरीरका लागि राम्रो होइन । कामका कारण धेरै समय बस्नुपर्ने अवस्था भए पनि बीच–बीचमा उठ्ने, केही समय हिँड्ने र शरीर चलाउने बानी बसाल्नुपर्छ । नियमित शारीरिक गतिविधिले तौल नियन्त्रण, रक्तचाप र रक्तमा चिल्लो पदार्थ व्यवस्थापनलगायत समग्र मुटु स्वास्थ्यमा सहयोग पुर्याउँछ ।
हाम्रो शरीरलाई पनि नियमित चलायमान राख्न आवश्यक छ । शारीरिक निष्क्रियता, अस्वस्थ खानपान, धुमपान, उच्च रक्तचाप, मधुमेह र उच्च कोलेस्ट्रोलजस्ता जोखिमलाई बेवास्ता गर्दै जाने हो भने धमनीमा बोसो तथा अन्य पदार्थ जम्मा हुने प्रक्रिया बढ्न सक्छ र हृदयाघातको जोखिम पनि बढ्न सक्छ ।
त्यसैले हृदयघातबाट बच्नका लागि रोग लागेपछि मात्र उपचार खोज्ने होइन, रोग लाग्न नदिने जीवनशैली अपनाउनु आवश्यक छ । नियमित स्वास्थ्य परीक्षण, रक्तचाप र कोलेस्ट्रोलको निगरानी, मधुमेह नियन्त्रण, धुमपानबाट टाढा रहने, सन्तुलित खानपान गर्ने र नियमित शारीरिक गतिविधि गर्ने बानीले मुटुलाई स्वस्थ राख्न महत्त्वपूर्ण भूमिका खेल्छ ।
सबैभन्दा महत्त्वपूर्ण कुरा, हृदयघातका सम्भावित लक्षणलाई सामान्य भनेर नछोड्नु हो । मुटुका लागि समयमै पहिचान, समयमै अस्पताल र समयमै उपचार - यही जीवन बचाउने मुख्य आधार हो ।
(मुटुरोग विशेषज्ञ डा. प्रेमराज वैद्यसँग सम्झना महर्जनले गरेको कुराकानीमा आधारित)