नेभिगेशन
शनिबार, असोज १०, २०८३

ठाउँअनुसार बाढी पहिरो जोखिमको तह फरक–फरक हुन्छ

अहिले देशका धेरै ठाउँमा पानी परिरहेकाे छ । मनसुनका कारण माटो र जमिन पहिलेदेखि नै भिजेकाे अवस्थामा अहिलेकाे वर्षाले थप कमजाेर बनाउँछ । यस्तो लगातार वर्षाले पहाडी र तराईमा विभिन्न प्रकारका पानीजन्य प्रकोप निम्त्याउन सक्छ । नदीहरू साँघुरा भएका ठाउँमा बाढी आउन सक्छ । घरनजिकै पानी जम्ने र डुबानको समस्या आउन सक्छ । कहिलेकाहीँ नचिताएको र नदेखेको ठाउँबाट पहिरो जान सक्छ । पुल र बाटोसमेत भत्काएर लैजान सक्छ । र मान्छे हिँडिरहँदा–हिँडिरहँदै अकस्मात् पानीले ढुङ्गा बगाएर वा खसालेर ल्याउँदा जीउधनको क्षति हुन सक्छ ।

हिमाली क्षेत्रमा हिउँ पर्ने सम्भावनाबारे पनि चासो उठेको छ । तर अहिलेलाई कुन ठाउँमा कुन तहमा कस्तो रूपमा हिउँ पर्नेछ भनेर ठ्याक्कै प्रक्षेपण भइसकेको अवस्था छैन । त्यसैले जोखिम र क्षतिको पनि अनुमान छैन ।

भूगोलअनुसार जोखिमको तह फरक–फरक हुन्छ । अहिलेको मौसम प्रणालीले विशेषगरी मध्य नेपाल र गण्डकी प्रदेशमा धेरै प्रभाव पार्ने देखिएको छ । यस्ता पहाडी क्षेत्रमा सामान्यतया पहिरो गएर नदी–खोला थुनिने, त्यसपछि थुनिएको भाग फुट्दा तल्लो तटीय क्षेत्रका बासिन्दालाई सबैभन्दा पहिले असर पुग्ने खतरा हुन्छ । यसका साथै खोलाको नजिकै तर एकदमै होचो ठाउँमा भएका, खोलाभन्दा उचाइमा नभएका बस्तीहरूमा पनि डुबानले घरहरू क्षति हुने सम्भावना रहन्छ । नेपालका हिमाली वा पहाडी क्षेत्रका मध्यपहाडी उपत्यकाहरूमा खोलाको नजिकै बस्नेहरूले पनि उत्तिकै सावधानी अपनाउनुपर्छ । चुरे पर्वत शृङ्खलाको अगाडिपट्टि रहेको तराईमा नदीकै नजिकै बसेका बस्तीहरूमा चाहिँ बाढीले प्रत्यक्ष असर पार्ने प्रक्षेपण गरिएको छ ।

सबैभन्दा पहिलो कुरा, आफ्नो घर र समुदाय वरिपरिको भूगोल कस्तो छ भन्ने कुरा आफैँले पहिल्यै थाहा पाउनुपर्छ । विगतका वर्षहरूमा पनि यस्तै पानी पर्दा पहिरो गएका र बाढी गएका ठाउँहरू कुन–कुन हुन् भन्ने पहिचान पहिले नै गर्नु राम्रो हुन्छ । सरकारले अहिले नै विद्यालय बन्द गरेर विद्यार्थीलाई नजान भनिसकेको अवस्थामा सबैले सकेसम्म अत्यावश्यक नपरेसम्म घरबाट बाहिर ननिस्कनु उपयुक्त हुन्छ ।

आफ्नो घरनजिकै जमिनमा चिरा परेका छन् कि वा पानी धमिलो आइरहेको छ भन्ने कुरा नियमित अवलोकन गर्नुपर्छ । त्यस्तो देखियो भने तुरुन्तै सुरक्षित ठाउँमा सर्नुपर्छ । यदि माथिपट्टिबाट पानी धमिलो आएको थाहा पाइयो भने त्यो जानकारी तल्लो तटीय क्षेत्रमा बस्नेहरूलाई तुरुन्त दिनुपर्छ । यसका साथै सबैभन्दा महत्त्वपूर्ण अर्को कुरा भनेको पानी जम्न सक्ने ठाउँहरूलाई खुला गरेर पानी पहिले जुन खोलामा बग्थ्यो, त्यही मार्गबाटै बग्न दिने व्यवस्था मिलाउनु हो ।

पहिरोबाट बच्नका लागि पनि केही स्पष्ट सङ्केतहरू हेर्न सकिन्छ । माथिपट्टि घरनजिकै वा आफू हिँड्ने बाटोमा पहिले नै गइसकेका पहिरोका अवशेष छन् कि वा नयाँ पहिरो जानलाई चर्किएको वा चिरा परेका छन् कि भनेर हेर्नुपर्छ । त्यस्तो ठाउँमा पानी छिरेको छ कि छैन भन्ने पनि नियाल्नुपर्छ । जमिनबाट कट्–कट्–कट् आवाज आइरहेको छ कि भन्ने सुन्नुपर्छ । कतै अनावश्यक रूपमा ढुङ्गा खस्न लागेको वा जमिन खस्न लागेको जस्तो देखिन्छ कि भनेर अवलोकन गर्नुपर्छ । यस्तो अवस्था देखियो भने पहिरो जाने सम्भावना उच्च हुन्छ भन्ने बुझ्नुपर्छ ।

यसबाट बच्नका लागि आफू सुरक्षित ठाउँमा बस्नु नै उत्तम हो । सकेसम्म त्यस्तो जोखिमयुक्त ठाउँमा नजाने र गइहाल्नुपर्ने भएमा पनि माथिबाट राम्ररी हेर्दै मात्र बाटो काट्ने वा हिँड्ने गर्नुपर्छ । सुरक्षित ठाउँ कहाँ हो भन्ने कुरा तत्काल पत्ता लगाउनुपर्छ र सरकारले रेडियो, टेलिभिजनहरूमार्फत दिने सूचनाहरू सुनेर आफूलाई सधैँ सुसूचित राख्नुपर्छ । यसो गर्दा पहिरोबाट सुरक्षित रहन सकिन्छ ।

लगातार पानी पर्दा गाउँतिरका माटो–ढुङ्गाले बनेका घरहरूमा जग कमजोर हुने चिन्ता स्वाभाविक हो । घरको जग कस्तो ठाउँमा राखिएको छ भन्ने कुराले बढी फरक पार्छ । ढुङ्गामा राखिएका घरहरूमा माथिको पहाड नै नखसुन्जेलसम्म सामान्यतया घर खस्दैन । तर यदि घर वा जग माटोमा मात्रै बनाइएको छ र माथिबाट पानी छिरेर चिरा देखिइसकेको छ भने त्यो भाग भत्किने सम्भावना हुन्छ ।

यस्ताे अवस्थामा पानीको सहज निकासको व्यवस्था गर्नु महत्त्वपूर्ण हुन्छ — किनकि पहिरोभित्र पानी छिर्‍याे भने त्यसले पहिरोलाई अझ बढाउँछ । आफ्नो घर–आँगनमा जम्ने पानीलाई पनि बाहिर निस्कने बाटो दिने हो भने जगमा पानीले त्यति असर गर्न सक्दैन । तर घरको जग भिरालो जमिनमा माटोमै बनाइएको छ र पहिरो जाने सम्भावना छ जस्तो लाग्छ भने यस्तो वर्षाको बेला एकदमै सतर्क रहनु जरुरी हुन्छ ।

अस्तिको भोटेकोशी बाढीले भोटेकोशी र त्रिशूली जोडिएको क्षेत्र र त्यससँग जोडिएको सडक संरचनालाई पहिले नै बिगारिसकेको छ । यस्तो अवस्थामा वर्षाले सडक संरचनालाई थप कमजोर बनाउने र पहिरो वा कटानको जोखिम बढाउने खतरा रहन्छ । नेपालका प्रायः सडकहरू पहाड खोपेर बनाइएका भएकाले पानी पर्दा पहिरो जाने सम्भावना उच्च हुन्छ र गइरहेका पनि छन् । गाडी, मोटरसाइकल, बस वा आफ्नै साधनमा हिँडिरहँदा अगाडि जमिनको अवस्था कस्तो छ भन्ने थाहै नहुन पनि सक्छ । त्यसैले जुन दिन पानी पर्छ भनिएको छ, त्यो अवधिमा रातिको समयमा यात्रा नगर्नु उत्तम हुन्छ ।

पहिले पहिरो गइसकेका ठाउँहरू, भर्खरै पानीले असर गरेका ठाउँहरू, अघिल्ला बाढीले असर पुर्‍याएका ठाउँहरू र सडक भासिएका ठाउँहरूमा एकदमै सावधानीपूर्वक मात्र हिँड्नुपर्छ । सकिन्छ भने त्यस्तो बाटो एक रातपछि पार गर्ने विकल्प रोज्नु राम्रो हो तर रातिको समयमा भने नहिँडेकै बेस । सरकारले विभिन्न ठाउँमा बाटो भत्केको छ कि छैन, पहिरो जाने सम्भावना छ कि छैन भन्ने सूचना सामाजिक सञ्जालहरूमार्फत लगातार प्रवाह गरिरहेको छ, त्यही सूचना हेरेरै यात्रा जारी राख्नु उपयुक्त हुन्छ । अर्थात् यात्रा गर्नैपर्ने भएमा पनि सरकारले जारी गरेका सूचनाहरू हेरेर मात्र जाने–नजाने ठ्याक्कै यकिन गरेर अगाडि बढ्नुपर्छ ।

कृषिप्रधान देश भएकाले यसको असर खेतीपातीमा पनि पर्छ । सामान्यतया पानीले असर गर्ने बालीहरूमा धेरै वर्षा हुँदा क्षति पुग्छ तर त्यसलाई कसरी सम्हाल्ने भन्ने कुरा बालीअनुसार र भेगअनुसार फरक–फरक हुन्छ । यही कारणले नेपाल सरकारले पनि अहिले ‘प्रभावमा आधारित पूर्वानुमान’ शुरू गरिसकेको छ । किसानहरूले आफूले लगाएका बालीनालीमा भूक्षय हुन नदिन, वा खेतका आली–कान्ला भत्किएर हुने क्षति र तराईमा अत्यधिक पानीले बिगार्ने बालीहरूमा सकेसम्म पानीलाई तर्काउने प्रयास गर्नुपर्छ । यद्यपि यो काम बाली रोप्ने समयमै गर्नुपर्ने भएकाले अहिले भइसकेपछि केही ढिलो भइसकेको पनि हो । तैपनि आफ्नो बाली कसरी सुरक्षित राख्न सकिन्छ भन्नेबारे नजिकैको कृषि कार्यालय वा नेपाल सरकारका सम्बन्धित हटलाइनमा सम्पर्क गरेर सल्लाह लिन सकिन्छ ।

वर्षाको यो प्रक्षेपण जारी रहेको अवस्थामा बाढी र यसजन्य जोखिमको प्रभाव उच्चतम रूपमा रहेको हुँदा विज्ञानमा आधारित र तथ्यपरक सूचनालाई सुनेर, मनन गरेर आफूलाई सुरक्षित राख्नु नै सबैभन्दा जरुरी कुरा हो ।

(विपद् विज्ञ डाक्टर वसन्त अधिकारीसँग साथी महेश ज्ञवालीले गरेको कुराकानीमा आधारित)

प्रकाशित मिति:
थप विचार