प्रकाश र दृष्टि साप्ताहिकमा पार्टी पत्रकारिता गर्न छाडेर ०४८ सालमा पार्टीबाट बिदा भएपछि स्वतन्त्र पत्रकारिता गर्दा मैले एमालेलाई कहिले नजिकबाट हेरेँ, कहिले परैबाट । यी तीन दशकमा राजनीतिक र सामाजिक उथलपुथल आए । एमाले कि त उथलपुथलको हिस्सा भयो, कि त कारक । बितेका तीन दशकमा एमाले धेरै हिसाबले फेरियो । वर्ग फेरियो, वर्गदृष्टि झनै फेरियो । वर्ग र वर्गदृष्टि फेरिदै जाँदा कुनै बेला नेपालको प्रगतिशील समाजवादी पार्टी एमाले रूढिवादी दक्षिणपन्थको बाहक हुन पुग्यो । तर रमाइलो कुरा, दक्षिणपन्थ र रूढिवादको नेतृत्व तिनै नेताले गरिरहेका छन् जसले चार दशकअघि समाजलाई प्रगतिको दिशा देखाएका थिए । पञ्चायती व्यवस्था विरुद्ध संघर्ष गरेका थिए । जेलनेल भोगेका थिए । त्यसैले, एमालेको इतिहास पत्याउन अहिलेको पुस्तालाई हम्मे परिरहेको छ ।
मन बिथलिन्छ मूलधारका पार्टीहरू र नेताहरूको हविगत देखेर । आफैँसित सोध्छु ‘हामी कहाँ चुक्यौँ ? पार्टीहरू कहाँ चुके ? नेपाल कहाँ चुक्यो ?’
म भूमिगत माले पार्टीमा लाग्दाको समय सम्झन्छु । ०३६ साल असारमा म मालेको सम्पर्कमा पुगेँ । भूमिगत युवा लीगमा संगठित भएँ केही समयपछि । त्यो बेलाको अवस्था र व्यवस्था सम्झन्छु ।
निरंकुश राजतन्त्र थियो । नागरिक स्वतन्त्रता खोसिएको थियो, मौलिक हक अधिकारबाट वञ्चित थियौँ हामी । असमानता व्याप्त थियो, जगका मान्छेहरूको पहुँच न्यायमा थिएन ।
शासनका अंगहरू राजदरबारको नियन्त्रणमा थिए । राजा विष्णुको अवतार थिए । शक्तिका पुजारीहरू भगवान विष्णुको परिक्रमा गर्थे । भक्तहरू मूर्ति र गजुरभन्दा शक्तिशाली थिए । शक्ति एकै ठाउँमा केन्द्रित थियो । भगवानका नाममा भक्तहरू मूर्ति चोरेर बेच्थे । सत्य बोल्न, भेला हुन र संगठन खोल्न बन्देज थियो । त्यसैले नेपाली कांग्रेस र कम्युनिष्ट पार्टीहरू निरंकुश व्यवस्था फेर्न लुकेरै संघर्ष गर्थे । हामी जस्ता युवाको आशाका दीप थिए ती राजनीतिक दलहरू । नेकपा माले अनेक कम्युनिष्ट पार्टीमध्ये एक थियो जो भूमिगत थियो, तर सक्रिय थियो । युवा वयको विद्रोही वर्गचेतनाले मलाई नेकपा (माले) मा पुर्याएको थियो ।
राजनीतिमा सक्रिय रहँदा माले थिएँ । ०४७ सालका केही महिना एमाले पनि भएँ ।
माले–एमालेमा बिताएको एक दशकभन्दा लामो समय सम्झेर मलाई विस्मात र पछुतो लाग्दैन । मैले काम गर्दाको माले निरंकुशता र दासताबाट मुक्त भएर बाँच्न, बोल्न, लेख्न र समाजलाई प्रगतिको बाटोमा हिँडाउन अघि सरेका स्वप्नजीवि युवा र चेतनशील विद्रोहीहरूको संगठन थियो । मुक्त आकाशको सपना देख्न थालेपछि म पनि मालेमा पसेँ । आफ्नो र समाजको सपना साकार पार्न स्वेच्छाले रोजेको संगठन थियो नेकपा माले ।
पार्टीहरू ०४७ साल लागेपछि स्वतन्त्र भएँ । प्रजातन्त्रले लेख्ने, बोल्ने र संगठन गर्ने स्वतन्त्रता दियो । राजनीतिक मुक्तिको मेरो सपना पूरा भयो । आफ्ना आर्थिक, सामाजिक र सांस्कृतिक सपनाहरू पूरा गर्न म पार्टीबाट स्वतन्त्र भएँ, पार्टी छोडेँ । स्वेच्छाले मालेमा लागेको थिएँ, स्वेच्छाले एमाले त्यागेँ । मलाई अहिले न माले भएकोमा पछुतो छ, न त एमाले त्यागेकोमा ।
त्यसकालमा माले, एमाले वा कांग्रेस हुनु चेतनाको बाहक हुनु थियो, समाज परिवर्तनको बाहक हुनु थियो । इतिहासको एउटा कालखण्डमा समाज परिवर्तनको वाहक हुन पाएकोमा आज पनि गर्व लाग्छ, आफैँसित । एमाले त्याग्दा विस्मात लागेको थिएन, अहिले पनि लाग्दैन । मालेमा सादा, सरल र जनताप्रति उत्तरदायी नेता र कार्यकर्ता थिए । पार्टीलाई कमाउने, रमाउने र मस्तीको साधन ठान्ने कार्यकर्ता र नेता पनि थिए ।
भूमिगत कालमै पनि मालेभित्र सही र गलतबीच अन्तरसंघर्ष भैरहन्थ्यो । पार्टी अन्तरसंघर्षका घटना ०४० साल अघिदेखि पनि भैरहेका थिए । भौतिकवाद, द्वन्द्ववाद र मार्क्सवादको नाममा सुख, सयल र मोज गर्ने मान्छे भूमिगतकालमै पनि थिए । प्रजातन्त्रको पुनर्स्थापनापछि पार्टीभित्र हुने अन्तरसंघर्ष सतहमा हुन थाले, सबैले देख्ने र चाल पाउने गरि । यो अन्तरसंघर्षमा सत्ता र शक्तिका सामु सत्य र निष्ठा निरीह हुँदै गयो, षडयन्त्र र जालझेल बलिया भए ।
पाटीभित्रको अन्तरसंघर्षमा निष्ठा, सिद्धान्त र नैतिकता हार्दै गएपछि एमाले विघटनको शुरुआत भएको हो । पार्टीमा तिनीहरू बलिया हुँदै जाँदा एमालेको विचार र नैतिक बल कमजोर भयो । पार्टी कल, छल र बल गर्नेहरूको कब्जामा पुग्यो । विचार र सिद्धान्त कमजोर हुँदै र हराउँदै गए । वैचारिक र नैतिक रूपले एमालेको पतन भैरह्याे । समाज फेर्ने नारा लगाएर उदाएका नेता र कार्यकर्ता आफ्नै वर्ग फेर्न केन्द्रित भए । हेर्दाहेर्दै एमाले यसरी फेरियो; सिद्धान्त, निष्ठा र नैतिकता सतहबाट हराएरै गयो ।
पार्टीबाट अलग भएको पाँच–छ वर्षसम्म एमालेको पतन सतहमा देखिँदा मन चसक्क हुन्थ्यो । तर एमाले सत्ता, शक्ति, षडयन्त्र र जालझेलमा यसरी भासिँदै गयो, उसको राजनीतिक दर्शन र उद्देश्य ओझेल परे । त्यसपछि एमालेको ओरोलो यात्रा स्वाभाविक लाग्न थाल्यो मलाई ।
एमालेको अहिलेको अधोगति अस्वाभाविक र अप्रत्याशित होइन । द्वन्दात्मक भौतिकवाद सिक्दा र पढ्दा हामी समाजका वर्गहरूबीचको अन्तरविरोध विश्लेषण गर्थ्याैँ । वर्गका प्रतिनिधि पात्रहरूको पहिचान गर्थ्याैँ । अनि भन्थ्यौँ, ‘अन्तरविरोधहरू बीचको संघर्ष एउटा विन्दुमा पुगेपछि त्यसमा गुणात्मक परिवर्तन हुन्छ ।’ त्यो कुरा सजिलोसित बुझाउन उदाहरण दिन्थ्यौँ, पानीको । पानी तताउदै जाँदा एउटा विन्दुमा पुगेपछि उम्लिन्छ र त्यसको गुण परिवर्तन भै वाफ बन्छ । यसैगरि चिस्याउँदा पानी बरफ बन्छ । बाफ र बरफ पानीमा आउने गुणात्मक परिवर्तनका उदाहरण हुन् भन्दै हामी समाजमा आउने गुणात्मक परिवर्तनको कथा भन्थ्यौँ । भात पकाइरहेको कुकरमा सिठी लाग्न नदिने हो भने कुकर पड्किन्छ । त्यसैको उदाहरण दिँदै भन्थ्यौँ, ‘समाजको अन्तरविरोधलाई राजनीतिक व्यवस्थाले सहज र स्वाभाविक निकास दिएन भने विस्फाेट हुन्छ.... बाफ निस्कन नपाएको कुकर पड्केझैँ ।’
बोल्ने, लेख्ने र संगठन गर्ने स्वतन्त्रताबाट वञ्चित गरि पञ्चायती निरंकुशताले थिचिएको समाज मुक्तिका लागि पटकपटक जुर्मुरायो । निर्णायक हिसाबले चाहिँ ०४६ साल फागुनमा जुर्मुरायो । जनआन्दोलनका उतारचढावले हामीलाई कहिले निराश बनाए, कहिले आशा जगाए । आन्दोलनमा गुणात्मक परिवर्तन ४० दिनपछि देखियो । जनआन्दोलनको ४७औँ दिन जनआन्दोलनले गुणात्मक फड्को मार्याे । त्यो थियो ०४६ सालको चैत २४ गतेको दिन । त्यसपछि पञ्चायत ढल्यो, बहुदलीय प्रजातन्त्रको शुरुआत भयो । बहुदलीय प्रजातन्त्रको शुरुआतसँगै पार्टीहरूले आफूलाई खुला गर्दै रूपान्तरण गरे । नेकपा एमाले ०४८ वैशाखमा भएको संसद्को आमचुनावमा देशकै दोस्रो ठूलो दल भएर उदायो । त्यसको तीन वर्षपछि देशकै ठूलो संसदीय दल पनि ।
एमाले देशको निर्णायक राजनीतिक शक्तिमा स्थापित हुने आधार थियो जनताको बहुदलीय जनवाद अथवा जबज । जबजको अवधारणा देश र विदेशको कम्युनिष्ट आन्दोलनको समीक्षामा आधारित थियो । नेपालमा चार दशक कम्युनिष्ट पार्टीहरूले गरेको संघर्षको असफलता आफ्नो ठाउँमा थियो । विश्व कम्युनिष्ट आन्दोलनको पाँच दशकका सफलता र असफलताबाट सिकेर जन्मेको थियो जबज । उग्रवादी र दक्षिणपन्थी विचलनबाट जोगाएर कम्युनिष्ट पार्टीलाई मध्यमार्गमा हिँडाउने प्रयास थियो त्यो । जडसूत्रवाद र अवसरवादबाट जोगाउन मार्क्सवादको सिर्जनशील प्रयोगको अवधारणा थियो जबज । जबज एमालेको तात्कालिक कार्यक्रम पनि थियो । त्यो कार्यक्रम तीन दशकअघिको अर्ध औपनिवेशिक र अर्ध सामन्ती नेपाली समाजका विशेषताको मूल्यांकन र विश्लेषणमा आधारित थियो ।
परबाट हेर्दा होस् वा नजिकबाट, अहिले जबज एमालेको पुराण भएको देख्छु । मदन भण्डारीलाई कहिले महर्षि वेदव्यास ठानिन्छ, कहिले सामान्य कार्यकर्ता । मदन संस्कृत भाषाका पण्डित अवश्य हुनुहुन्थ्यो । तर पुरा कथाका वेदव्यास थोरै र द्वन्दात्मक भौतिकवादी विश्लेषक र मार्क्सवादका सिर्जनशील प्रयोगकर्ता अधिक । जबज तीन दशकअघिको नेपाल र विश्वको राजनीतिक, आर्थिक, सामाजिक र प्राविधिक परिस्थितिको विश्लेषणपछिको अवधारणा थियो – नेपाली समाजलाई प्रगतिवादी प्रजातन्त्रको मार्गमा हिँडाउने ।
जबजको प्रयोग र पुनर्व्याख्या गर्न नपाउँदै मदन भण्डारीको निधन भयो । मदनको निधनपछि जबजको परिमार्जन र पुनर्व्याख्या गर्ने इच्छाशक्ति र बुद्धि एमालेबाटै हरायो । पार्टीको नेतृत्व जबजलाई ‘दक्ष प्रजापतिको शरीरमा बोकाको टाउको’ ठान्नेको हातमा पुग्यो । तिनले पनि जबजलाई आफ्नो फाइदाअनुसार व्याख्या गरे । समाज बदलिएको र बदलिएको अवस्थाअनुसार जबजको परिमार्जन र विकास भएन, कसैले गरेन ।
बितेका तीन दशकमा नेपाली समाज राजनीतिक, सामाजिक, आर्थिक, प्राविधिक र सांस्कृतिक रूपले धेरै फेरियो । जबजको अवधारणा आउँदा हाम्रो साक्षरता दर सयकडा ४० भन्दा तल थियो, अहिले ७५ भन्दा माथि छ । त्योबेला राजनीतिक संगठन जनबलमा मात्र चल्थे, अहिले जनबलसँगै अर्थबल र अदृश्य रहने डिजिटल च्याम्बरबाट चल्छन् । चार दशकअघिको पिछडापनलाई विद्यालय, स्वास्थ्य संस्था, सडक र आधुनिक पूर्वाधारले विस्थापित गर्दैछन् । जबजको अवधारणा शुरू हुँदा नेपालमा भर्खर कम्प्युटर भित्रिएको थियो, टाइप गर्ने मशिनको रूपमा । इन्टरनेट र मोबाइल फोन नेपालीको कल्पनामै थिएन । हामीलाई त्यो बेला प्रजातान्त्रिक शासन मात्र चाहिएको थियो, अहिले चाहिएको छ पारदर्शिता र जवाफदेहितासहितको प्रजातन्त्रिक सुशासन ।
यस अवधिमा विश्व व्यवस्था झनै जटील भएको छ । संयुक्त राष्ट्र संघ असान्दर्भिक हुँदैछ र वर्ल्ड इकनमिक फोरम अपरिहार्य । छिमेकी चीन र भारत संसारका पाँच धनी देशको सूचीमा उक्लिए । तर, नेपाली समाजलाई प्रगतिशील प्रजातन्त्रमा रूपान्तरण गर्न अघि सारिएको जबज पहिले जहाँ थियो, अहिले पनि त्यहीँ छ । न परिमार्जन भयो, न परिवर्तनको गतिअनुसार पुनर्व्याख्या गरियो जबजको ।
घरिघरि सोच्छु, के जबजको परिमार्जन वा पुनर्व्याख्या हुने हो भने एमालेको दर्शन र दृष्टिकोण फेरि प्रगतिशील दिशामा फर्केला त ? स्पष्ट उत्तर छैन मसित । माले पार्टीको जगमा अलिअलि माटोढुंगा हालेको मान्छे म ! नजिक र टाढा जहाँबाट हेरे पनि एमाले पार्टीको जग भासिँदै गएको मात्रै देख्छु ।
पार्टीहरू बन्ने र विघटन हुने प्रक्रिया सधैँ एकनासको हुँदैन । एउटै कारणले मात्र कुनै पार्टी कमजोर र बलियो पनि हुँदैन । कुनै निश्चित र बनिबनाउ कारणले मात्र पार्टीहरू विघटन हुने पनि होइनन् । समाज, संस्कृति, इतिहास, अर्थतन्त्र, शासन व्यवस्था, सिद्धान्त र निष्ठा जस्ता अनेक तत्त्वहरूले प्रभाव पार्छन् सामाजिक र राजनीतिक संस्थाहरूलाई । पार्टीहरू सार्वजनिक संस्थाहरू हुन् । सार्वजनिक संस्थाहरूको सार्थकता र निरर्थकता समय र सन्दर्भले परिवर्तन गरिरहन्छ । सार्थक हुनेहरू अघि बढ्छन्, नहुनेहरू विघटनको बाटोमा जान्छन् ।
एमालेका लागि इतिहासले अलग्गै बाटो कोरिदिएको छैन ।