रसुवाको भोटेकोशीमा आएको बाढीले जनधनको ठूलो क्षति भएको छ । अकल्पनीय यस क्षतिपछि प्रभावित क्षेत्रमा विभिन्न स्वास्थ्य समस्या देखिन सक्छन् । बाढीमा परेर ज्यान गुमाएका मानिसका शवसँगै मरेका पशुपन्छी तथा चौपायाका कारण उत्पन्न हुन सक्ने विभिन्न स्वास्थ्य समस्या अहिले चुनौती बनेका छन् ।
बाढीपछि तत्काल देखिएको प्रमुख समस्या डुबेर ज्यान गुमाउनु हो । धेरै मानिसले बाढीमा बगेर काठ, ढुंगा लगायतका वस्तुमा ठोक्किएर ज्यान गुमाएका छन् । यति मात्र होइन, विद्युतका तार भुइँमा यत्रतत्र परेकाले करेन्ट लागेर पनि मानिसको ज्यान जान सक्छ ।
बाढीपछि विस्थापित भएका मानिसमा विभिन्न स्वास्थ्य समस्या देखिन सक्छन् । यस्तो अवस्थामा पानीजन्य रोगको जोखिम बढी हुन्छ । सुरक्षित र सफा पानीको अभाव हुन सक्छ । बाढीले पानीका मुहानमा असर पुर्याउँदा पानी दूषित हुने र पानीजन्य रोग फैलिने सम्भावना हुन्छ । पानीको मुहानमा जीवजन्तु मरेर पानी दूषित हुन सक्छ र पिउन अयोग्य बन्न सक्छ ।
बाढीपछि हैजा, झाडापखाला, टाइफाइड, कमलपित्तजस्ता पानीजन्य रोगको समस्या देखिन सक्छ । प्रभावित क्षेत्रमा कसैलाई पखाला लागेमा तत्काल उपचारको व्यवस्था गर्नुपर्छ । समयमै उपचार र नियन्त्रणको व्यवस्था हुन नसके हैजाजस्ता रोगको प्रकोप फैलिन सक्छ ।
यससँगै कीटजन्य रोगको जोखिम पनि बढ्छ । पानी लामो समयसम्म जमिरहँदा लामखुट्टे लगायतका कीराका लागि अनुकूल वातावरण बन्छ र त्यसबाट विभिन्न रोग फैलिन सक्छन् ।
बाढीका कारण धेरै मानिस घरबारविहीन भएकाले एउटै ठाउँमा धेरै मानिस बस्नुपर्ने अवस्था आउन सक्छ । यस्तो अवस्थामा एक जनामा संक्रामक रोग देखिएमा अरूमा पनि सजिलै फैलिन सक्छ ।
त्यसैगरी, सरसफाइ र शौचालयको अभावले पनि स्वास्थ्य समस्या निम्त्याउन सक्छ । शौचालय नहुनु वा भए पनि सफा नराख्दा रोग फैलिने जोखिम हुन्छ । साथै सरसफाईमा ध्यान नदिदा पनि रोग निम्तन सक्छ ।
बाढीपछि राहतका नाममा वितरण गरिने अस्वस्थकर तथा गुणस्तरहीन खानेकुराका कारण पनि खानाजन्य रोग देखिन सक्छ । त्यसैले राहतका रूपमा वितरण गरिने खाद्य सामग्रीको गुणस्तरमा विशेष ध्यान दिन आवश्यक छ ।
राहत वितरण गर्दा सबैभन्दा पहिले शुद्ध र सुरक्षित पानी उपलब्ध गराउनुपर्छ । वितरण गरिएको पानी पिउन योग्य छ कि छैन भन्ने सुनिश्चित गर्नुपर्छ । त्यससँगै पोषणयुक्त खानेकुरा उपलब्ध गराउन आवश्यक छ । पालिकाले जिम्मेवारी लिएर स्थानीय रूपमा उपलब्ध दाल, गेडागुडी, कोदो, गहुँ लगायतका पोषणयुक्त खाद्य सामग्री वितरण गर्न सक्छ ।
अहिलेको अवस्थामा सबैभन्दा ठूलो स्वास्थ्य समस्यामध्ये मानसिक तथा मनोसामाजिक समस्या पनि एक हो । प्रभावित नागरिकले परिवारका सदस्यसहित आफ्नो घर, सम्पत्ति र अन्य धेरै कुरा गुमाएका छन् । यस्तो अवस्थामा उनीहरूलाई तत्काल मनोसामाजिक परामर्श सेवा उपलब्ध गराउन जरुरी छ ।
बालबालिका, दीर्घरोगी र ज्येष्ठ नागरिक बाढीपछि बढी जोखिममा हुन्छन् । उनीहरूमा शारीरिक समस्यासँगै आघातजन्य मानसिक समस्या पनि देखिन सक्ने भएकाले विशेष व्यवस्था गर्न जरुरी छ ।
बाढीपछि महामारी फैलिन नदिन के गर्ने त ?
बाढीपछि स्वास्थ्य संस्थाका भौतिक संरचनामा क्षति पुगेको भए पनि महामारी फैलिन नदिन तत्काल स्वास्थ्य सेवा शुरु गर्नुपर्छ । स्वास्थ्य संस्था सञ्चालन गर्न नसकिने अवस्था भए टेन्ट वा अस्थायी संरचना खडा गरेर भए पनि स्वास्थ्यकर्मी र आवश्यक औषधिसहितको टोली परिचालन गर्नुपर्छ ।
भूकम्पपछि जस्तै यस समयमा पनि सरकारका विभिन्न मन्त्रालयअन्तर्गतका क्लस्टर बनाएर सम्बन्धित निकायबीच समन्वय गरी संयुक्त रूपमा काम गर्न आवश्यक छ ।
राहत वितरण गर्नु मात्र पर्याप्त हुँदैन । वितरण गरिने सामग्री प्रयोग गर्न योग्य छन् कि छैनन्, गुणस्तरीय छन् कि छैनन् भन्ने कुरा पालिकाले राम्ररी पहिचान गरेर मात्र वितरण गर्नुपर्छ ।
महामारी फैलिन नदिन सरकारले आफ्ना सबै संयन्त्र परिचालन गर्नुपर्छ । बाढीका कारण फैलिएको दुर्गन्ध, फोहोर तथा मरेका जीवजन्तुको उचित व्यवस्थापन र सरसफाइको काम तत्काल गर्नुपर्छ ।
अहिलेको अवस्थामा एकले अर्कालाई सहयोग गर्दै संयमित भएर अघि बढ्न आवश्यक छ । मानसिक स्वास्थ्य, पानी तथा खाद्यजन्य रोग र कीटजन्य रोगको जोखिमलाई ध्यानमा राखी स्थानीय स्तरमै स्वास्थ्यकर्मी, आवश्यक औषधि तथा उपचार सामग्रीको व्यवस्थापन गर्नुपर्छ ।
एउटा विपद्को घटनापछि अर्को स्वास्थ्य प्रकोप नआओस् भन्नेतर्फ राज्य सचेत हुन जरुरी छ । भूकम्प र कोभिड–१९ का बेला जस्तै विभिन्न क्लस्टर परिचालन, प्रभावकारी समन्वय र निरन्तर निगरानीमार्फत महामारी फैलिन नदिन विशेष ध्यान दिनुपर्छ।
त्यसैगरी, प्रभावित क्षेत्रका नागरिकले पनि खानेपानी तथा राहतका रूपमा वितरण गरिएका खाद्य सामग्री कत्तिको स्वस्थकर र गुणस्तरीय छन् भन्नेमा चनाखो हुनुपर्छ । संक्रामक रोगबाट जोगिन आवश्यक सावधानी अपनाउनुपर्छ । कुनै दीर्घरोग वा अन्य स्वास्थ्य समस्या भए नियमित रूपमा औषधि सेवन गर्न पनि छुटाउनु हुँदैन ।
सामूहिक रूपमा क्षति पुर्याएको यस विपद्ले ल्याएको जटिल परिस्थितिको डटेर सामना गर्नुपर्छ । महामारी फैलिन नदिन नागरिक आफैं पनि सजग हुनुपर्छ र आवश्यक परे स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी, वडा वा पालिकासँग तत्काल सहयोग माग्नुपर्छ ।
एउटा विपद्पछि अर्को प्रकोप आउन नदिन सरकार, पालिका, स्वास्थ्यकर्मी र नागरिक सबै मिलेर समयमै सावधानी अपनाउनु अहिलेको मुख्य आवश्यकता हो ।
(स्वास्थ्यविद् डा. सागर राजभण्डारीसँग सम्झना महर्जनले गरेको कुराकानीमा आधारित )