रसुवा बाढीले ल्याएको विपदपछिको उद्धारमा यति बेला सरकारको सम्पूर्ण संयन्त्र परिचालन भएका छन् । विशेष गरी रसुवाको उमाकुण्ड गाउँपालिका र उत्तरगया गाउँपालिका लगायतका भौगोलिक दृष्टिले अत्यन्तै जटिल मानिएका क्षेत्रहरूमा उद्धार कार्यलाई तीव्रता दिन सकस भइरहेको अवस्था छ । स्थानीय स्तरमा उद्धार कार्यले गति लिन नसकेको र नागरिकहरू अझै पनि पर्खाइमा रहेको भन्ने गुनासो व्यापक रूपमा सुनिए पनि प्रभावित क्षेत्रमा खटिएका अधिकारीहरूले भने उपलब्ध सम्पूर्ण स्रोत, साधन र सैन्य शक्तिको अधिकतम प्रयोग गरेर सम्भावित सबै उपाय अवलम्बन गरिरहेका छन् ।
हालसम्म विभिन्न जोखिमपूर्ण ठाउँबाट पाँच हजारभन्दा बढी नागरिकहरूको सफलतापूर्वक उद्धार भइसकेको छ । यद्यपि, उद्धारको यो यात्रा सहज भने छैन । सबैभन्दा ठूलो चुनौती सुरुङ मार्गभित्र फसेका नागरिकहरूको जीवितै उद्धार गर्नुमा रहेको छ, जहाँ प्राविधिक र भौगोलिक कारणले गर्दा सुरक्षाकर्मीहरूले उच्च जोखिम मोलेर काम गरिरहेका छन् । यसका अतिरिक्त बाढी र पहिरोमा परी ठूलो सङ्ख्यामा नागरिकहरू बेपत्ता रहेका हुनाले उनीहरूको खोजी कार्य जारी छ । धेरै ठाउँमा माटो र लेदोमा मानिसहरू पुरिएका छन् भने शवहरूको पहिचान र व्यवस्थापन गर्ने कार्य आफैँमा अत्यन्तै संवेदनशील र जटिल बन्दै गएको छ ।
अहिलेको समय भनेको नागरिकले धैर्य र सतर्कता अपनाउने समय हो । विपद्को यस घडीमा केही समय खाना र बस्ने सुविधामा सास्ती हुनु स्वाभाविक भए पनि सबैभन्दा पहिलो प्राथमिकता ज्यान जोगाउनु हो ।
भौगोलिक विकटता र प्रतिकूल मौसम यस पटकको उद्धार अभियानमा सबैभन्दा ठूलो बाधक बनेको छ । गृह मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोली स्वयं फिल्डमा खटिएर समन्वय गरिरहेको छ । गृहमन्त्री आफैँ प्रभावित क्षेत्रको अवलोकन र अनुगमनमा हुनुहुन्छ । १५ हजारभन्दा बढी सुरक्षाकर्मीहरू अहोरात्र खटिएका छन् । उद्धारका लागि निजी र नेपाली सेनाका गरी १५ वटा हेलिकप्टरहरू तयारी अवस्थामा र फिल्डमा राखिएका छन् । तर, लगातारको खराब मौसम र बाक्लो कुहिरोका कारण बिहानको समयमा एमआई–१७ जस्ता ठूला हेलिकप्टरहरू उडान भर्न समस्या हुँदा उद्धारमा ढिलाइ हुने गरेको छ ।
हवाई सेवामा मौसमले बाधा पुर्याएपछि स्थल मार्गबाट राहत र उद्धार पुर्याउने प्रयासलाई तीव्रता दिइएको छ । बाढीले मुख्य सडक मार्गहरू पूर्ण रूपमा ध्वस्त बनाएका छन् भने थुप्रै पुलहरू बगाएका छन् । यस्तो अवस्थामा रसुवाको धुन्चेसम्मका लागि वैकल्पिक कच्ची बाटो तयार पारिएको छ । जहाँबाट अहिले चारपाङ्ग्रे गाडी जस्तै बोलेरोमार्फत खाद्यान्न र अत्यावश्यक राहत सामग्रीहरू पठाउने काम भइरहेको छ । मौसमले साथ दिएसम्म र सडकमा पुनः पहिरो नगएसम्म यो वैकल्पिक मार्गबाट दैनिक रूपमा गाडीहरू पठाउने क्रम जारी छ ।
विपद्को शुरुवाती चरणमा सञ्चार सम्पर्क विच्छेद हुँदा उद्धारमा ठूलो समस्या परेको थियो । तर, पछिल्ला दिनहरूमा टेलिकम र सञ्चार क्षेत्रमा सुधार आएको छ । हालसम्म झण्डै १४५ भन्दा बढी मोबाइल टावरहरू पुनः सञ्चालनमा ल्याइसकिएका छन्, जसले गर्दा प्रभावित जिल्ला र निकायहरूबीच समन्वय गर्न सहज बनेको छ । पालिकाहरूसँगको सम्पर्कलाई पनि सुदृढ बनाइएको छ । स्थानीय निकायका प्रतिनिधिहरूसँगको सहकार्यमा प्रभावित नागरिकलाई खाना र बस्ने व्यवस्था मिलाउन गैरसरकारी संस्थाहरू समेत सक्रिय भइरहेका छन् ।
यो विषम परिस्थितिमा राज्यको सम्पूर्ण ध्यान र प्राथमिकता पहिलो चरणमा खोज, उद्धार र राहत व्यवस्थापनमै केन्द्रित छ । सडक सञ्जाल पुनः जोड्ने, हराइरहेकाहरूको खोजी गर्ने र सुरक्षित ठाउँमा पुगेका नागरिकहरूलाई खाद्यान्न उपलब्ध गराउने काम भइरहेको छ । पुनर्निर्माणको पाटो उद्धारको यो प्रारम्भिक चरण सकिएपछि मात्रै शुरु हुनेछ । उद्धार टोलीहरू बिहानैदेखि राति अबेरसम्म कमान्ड पोस्टमा बसेर परिस्थितिको निरन्तर निगरानी र सहजीकरणमा जुटिरहेका छन् ।
अहिलेको समय भनेको नागरिकले धैर्य र सतर्कता अपनाउने समय हो । विपद्को यस घडीमा केही समय खाना र बस्ने सुविधामा सास्ती हुनु स्वाभाविक भए पनि सबैभन्दा पहिलो प्राथमिकता ज्यान जोगाउनु हो । बाढी पहिरो प्रभावित क्षेत्रहरूमा अझै पनि माथिबाट लेदो आउने र नदीहरू थुनिने जोखिम रहेकाले नदी किनार र पहिरो आसपासका क्षेत्रमा बस्ने नागरिक उच्च सतर्क रहनुपर्छ । यदि कसैको आफन्त बेपत्ता भएका छन् वा कुनै विशेष ठाउँमा उद्धारको आवश्यकता छ भने जिओ–लोकेशन वा स्पष्ट विवरणसहित जिल्लाको १२३४ वा प्रहरीको १०० नम्बरमा सूचना दिएर उद्धार टोलीलाई सहयोग पुर्याउन सकिन्छ । सङ्कटको यो घडीमा नागरिकको धैर्यता, सही सूचना र राज्यका निकायहरूबिचको समन्वयले नै क्षतिलाई कम गर्न र जनजीवन सामान्य बनाउन मद्दत पुर्याउनेछ ।