नेभिगेशन

बगर बनेका सपनाहरू

'बर्सियो जल मेघ गर्जी नभमा, फुट्यो पहाडै यहाँ...'

...कुनै कविले परिकल्पना गरेझैँ यो विपत्ति केवल रसुवाको आकाशबाट बर्सिएको सामान्य वर्षा थिएन, यो त तिब्बतको उच्च हिमाली क्षेत्रमा हिमताल फुट्दा उर्लिएर आएको अकल्पनीय र आकस्मिक महाबाढी थियो । 

जब सीमापारि हिमाल फुट्यो, तब भोटेकोशी र त्रिशूली नदीका सुरुङहरूमा सिङ्गो मानव बस्ती नै निल्न खोज्ने धमिलो लेदो र विनाशको भयानक भेल बग्न थाल्यो । तिब्बतको उच्च भूमिबाट शुरू भई रसुवाको केरुङ नाका हुँदै अगाडि बढेको त्यो बाढी कुनै भयानक चलचित्रको दृश्य झैँ थियो, जसले भोटेकोशी र त्रिशूलीको तटीय क्षेत्रमा रहेका ऐतिहासिक रसुवागढीदेखि चितवन, तनहुँ र नवलपुरको सङ्गम स्थल देवघाटसम्मकै विशाल भूभागलाई क्षणभरमै क्षतविक्षत बनाइदियो। 

भदौ १० गतेको त्यो कालो दिन, प्रकृतिको रौद्र रूप उज्यालो आकाशमै घटेको थियो । यदि यो अकल्पनीय त्रासदी रातको नीरव अँध्यारोमा भइदिएको भए, यहाँको मानवीय क्षतिको हिसाबकिताब र भयावहता कति दारुण हुन्थ्यो होला, त्यो अनुमानमात्र गर्दा पनि आज जोसुकैको आङ सिरिङ्ग हुन्छ।

प्रकृति मानव जीवनको जननी र संवर्द्धक दुवै हो । यसको अन्तर गर्भमा लुकेको भयानक विनाशको सामान्य अनुमानसमेत मानव जातिले गर्न सक्दैन । नेपालको उत्तरी सिमानामा अवस्थित रसुवा जिल्ला आफ्नो अलौकिक प्राकृतिक सुन्दरता, ऐतिहासिक गौरव, धार्मिक सम्पदा र अगाध जलस्रोतका कारण मुलुककै एउटा प्रकाश पुञ्ज हो । 

हिमालको काखमा शीतल र शान्त देखिने यो जिल्ला पर्यटन र ऊर्जाको संवाहकका रूपमा अगाडि बढिरहेकै बेला भदौ १० गतेको दिन यहाँका बासिन्दाका लागि इतिहासकै सबैभन्दा क्रूर काल बनेर उभियो । यो कुनै सामान्य मनसुनी वर्षाको परिणाम थिएन। तिब्बतको उच्च हिमाली क्षेत्रमा अचानक हिमाल वा हिमताल विष्फोट हुँदा निक्लिएको पानीको त्यो विशाल परिमाण भोटेकोशी र त्रिशूली नदीमा मिसिएर अभूतपूर्व वेगका साथ दक्षिणतर्फ बेजोडले ओर्लियो। 

हिजोसम्म सिञ्चन गर्ने र जीवन दिने यी नदीहरू प्रकृतिको एउटै थपेडामा विनाशका संवाहक बनेर बग्न थाले । नदीको सतह यसरी अचानक र तीव्र रूपमा बढ्यो कि यसले सीमापारि सिर्जित महाविपत्तिलाई सीधै नेपाली भूभागमा ओरालेर क्षणभरमै हजारौँको हाँसो र सिङ्गो क्षेत्रको शान्ति खोसेर लग्यो । रसुवा जिल्लालाई मात्र होइन, यसको असर नुवाकोट, धादिङ, तनहुँ र गोरखासम्मकै तटीय बजारहरूमा फैलिन पुग्यो।

बाढीको मारमा परेका यी बगरहरू देख्दा कतिपयलाई लाग्न सक्छ — नदी किनारमा त्यसरी बस्ती बसाल्नु नै मानिसको भूल थियो । तर इतिहासको पाना पल्टाउने हो भने विश्वका अधिकांश प्राचीन सभ्यताहरू नदी किनाराबाटै उत्पत्ति र विकास भएका हुन् । आज पनि संसारका ठूला शहर र गाउँहरू पानीकै सामीप्यमा मुस्कुराइरहेका छन् । 

जलस्रोतको सहजता, व्यापारिक मार्ग र उब्जाउ भूमिको खोजीमा मानिसहरू युगौँदेखि नदीको काखमा मरिहत्ते गर्दै आइरहेका छन् । रसुवा र नुवाकोटमा जे भयो, त्यो कुनै देशहरूबीचको हतियारबद्ध युद्ध थिएन, तर पनि प्रकृतिको अगाडि मानिस मात्र होइन, स्वयं प्रकृतिले आफैँसँग हारेको एउटा बीभत्स र लाचार दिन थियो । केरुङ नाकाबाट शुरू भएर भोटेकोशी र त्रिशूलीको बगाई र राजमार्गसँगै जोडिएका माथिल्लो तटीय क्षेत्रदेखि देवघाट धामसम्मका मुख्य गाउँ, बस्ती र शहरहरूलाई बाढीले एकाएक उजाड बगरमा परिणत गरिदियो । 

सीमावर्ती मुख्य नाका र भन्सार क्षेत्र रसुवागढी तथा टिमुरेबाट शुरु भएको यो विनाशको यात्रा भोटेकोशी र लाङटाङ खोला मिसिएर त्रिशूली नदी बन्ने पर्यटकीय बजार स्याफ्रुबेँशीसम्म आइपुग्दा अझ भयानक बन्यो । नदी किनारभन्दा केही माथि पहाडमा अवस्थित सदरमुकाम धुन्चे जोगिए तापनि जलविद्युत् आयोजनाहरू रहेका थाम्बुचेत र चिलिमेका आसपासका रैथाने बस्तीहरू नराम्ररी प्रभावित भए । 

त्रिशूली र मैलुङ खोलाको सङ्गम क्षेत्र मैलुङ, कालिकास्थान र जिन्चेजस्ता रसुवाको तल्लो भागमा पर्ने मुख्य बजारहरू छिचोल्दै बाढीले नुवाकोटको मध्य तटीय क्षेत्रमा प्रवेश गर्‍यो । यहाँ रसुवा र नुवाकोटको सिमानामा रहेको ऐतिहासिक तथा धार्मिक बजार बेत्रावती, जहाँ फालाखु खोला र त्रिशूली मिसिन्छन्, त्यहाँको दृश्य कारुणिक बन्यो । त्रिशूली जलविद्युत् केन्द्र नजिकैको ढुङ्गे बस्ती, नुवाकोटको पुरानो व्यापारिक केन्द्र त्रिशूली बजार र प्रमुख प्रशासनिक सहर विदुर हुँदै यो भेल गल्छीसम्म आइपुग्यो, जहाँ पृथ्वी राजमार्ग र केरुङ जाने सडक एकापसमा जोडिन्छन् । 

गल्छीबाट अगाडि बढेपछि त्रिशूली नदी धादिङको किनारै-किनार बग्न थाल्छ। पृथ्वी राजमार्गको समानान्तर बग्ने नदीले बैरेनी र आदमघाट जस्ता प्रमुख राजमार्गका बजारहरूलाई आफ्नो चपेटामा लियो । माछाका लागि देशैभरि प्रख्यात बजार मलेखु, जहाँ मलेखु खोला त्रिशूलीमा मिसिन्छ, त्यहाँका व्यापारी र बासिन्दाको कोलाहलले आकाश गुञ्जायो । 

त्रिशूली र बुढीगण्डकी नदीको सङ्गम स्थल नजिकै रहेको प्रमुख व्यापारिक केन्द्र बेनीघाट र धादिङ तथा चितवनको सिमानामा पर्ने जोगीमारा र जवाङखोला जस्ता जोखिमयुक्त क्षेत्रहरू छिचोल्दै यो विनाशकारी जलयात्रा चितवनको इच्छाकामना गाउँपालिका र तनहुँको आँबुखैरेनी हुँदै अगाडि बढ्यो । त्रिशूली र मर्स्याङ्दी नदीको सङ्गम स्थल नजिकै रहेको नेपालकै व्यस्त व्यापारिक मार्ग मुग्लिन, जहाँबाट त्रिशूली नदी नारायणीका रूपमा परिणत हुन थाल्छ, र मनकामना केबलकारको प्रवेशद्वारका रूपमा चिनिने कुरिनटारको रिसोर्ट क्षेत्रसहित जलवीरे र गाईघाटजस्ता नदी किनारका साना बजार र बस्तीहरूलाई यसै बाढीले निल्न खोज्यो।

बाढीको त्यो ताण्डव रूपले केरुङदेखि देवघाट धामसम्मका सबै मानव, बास, थात, खेतीपाती, पशुपन्छी र मानव निर्मित संरचनाहरूलाई क्षणभरमै समाप्त पार्‍यो । पुस्तौँदेखि बसोबास गर्दै आएका नागरिकहरूको सुरक्षित र न्यानो वासस्थान क्षणभरमै खोसियो । विकासका ठूला ठूला धरोहरहरू, विद्यालय, सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाहरू, कलकारखाना, बन्द व्यापार र मानिसहरूले आफ्नो जीवनभरिको पसिना बगाएर कमाएको निजी सम्पत्ति आँखाअगाडि बालुवा र लेदोमा परिणत भए । 

अर्बौँको लगानीमा निर्माण भइरहेका जलविद्युत् आयोजनाहरू यसको प्रमुख शिकार बने । देशलाई आर्थिक समृद्धिको दिशामा लैजाने भनिएका राष्ट्रिय सपनाहरू विद्युत्‌को सुरुङभित्र लेदोसँगै बिलाए । विकास र आधुनिक इन्जिनियरिङका ठूला दाबीहरू प्रकृतिको एउटै धक्कामा कति कमजोर साबित हुँदा रहेछन् भन्ने कुरा यस भौतिक विनाशले पुष्टि गरेको छ । आफ्नै भूमिमा मालिक भएर बसेका मानिसहरू आफ्नो वासस्थान गुमाएर खुला आकाशमुनि पाल टाँगेर बस्न विवश भए । 

भौतिक संरचना त मानव श्रम र लगानीले पुनः ठड्याउन सकिएला, तर यो बाढीले पुर्‍याएको मानवीय क्षति यस्तो अपूरणीय छ, जसलाई संसारको कुनै पनि सम्पत्ति वा स्रोतले परिपूर्ति गर्न सक्दैन । हिमाल फुटेर आएको बाढी यति आकस्मिक र तीव्र गतिमा आयो कि मानिसहरूलाई ज्यान जोगाउन र सुरक्षित स्थानसम्म भाग्ने सामान्य मौकासमेत मिलेन । 

कयौँ निर्दोष मानिसहरूको सास बिलायो र यो त्रासदीको सबैभन्दा कारुणिक पक्ष त के रह्यो भने, कतिपय मृतकका लासहरूसमेत भेटिएनन्। ती लासहरू नदीको तीव्र बहाबले कहाँ पुर्‍यायो वा कुन हिलोको गहिराइमा पुरिए, कसैलाई थाहा छैन । 

आफन्त गुमाउनुको पीडा त छँदै थियो, त्यसमाथि आफ्ना प्रियजनको अन्तिम संस्कारसमेत विधिपूर्वक गर्न नपाउँदा पीडितहरूको छाती चिरिएको छ । पहिरो र बगरको हिलो खोतल्दै आफ्ना मान्छे खोजिरहेका आँखाहरू अन्ततः थाकेर बन्द हुने अवस्थामा पुगेका छन् । यस विपत्तिले मानिसका मनमा रहेका सबै आसहरू पनि हराएर गएका छन् । हिजोसम्म भविष्यका सुन्दर योजना बुन्ने मानिसहरू आज केवल शून्यता र बगरतर्फ हेरेर आँसु बगाइरहेका छन्।  कतिपय परिवारका त सबै सदस्यसँगै मासिएका कारण उनीहरूको वंश नै समाप्त भएको छ।

रसुवा केवल एउटा सामान्य पहाडी जिल्ला मात्र होइन, यो गोसाइँकुण्डजस्तो पवित्र धार्मिक स्थल र लाङटाङ तथा कैलाश मानसरोवर जस्तो अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यको मुख्य प्रवेशद्वार पनि हो । भदौ महिना जनै पूर्णिमाको पावन अवशर पारेर हजारौँ आन्तरिक तथा बाह्य तीर्थयात्रीहरू गोसाइँकुण्डको दर्शन र स्नानका लागि रसुवाको बाटो हुँदै यात्रा गरिरहेका थिए। 

कतिपय ज्येष्ठ नागरिकहरू आफ्नो जीवनको अन्तिम इच्छा भन्दै गोसाइँकुण्डमा पुगेर पवित्र जल अर्पण गर्ने ठूलो सपना र धार्मिक आस्था बोकेर आएका थिए। तर, यो बाढीले ती तमाम तीर्थयात्री र पर्यटकहरूका निष्कपट पाइलाहरू सदाका लागि रोकिदियो। बाटोमै आएको भीषण बाढी र सडक कटानका कारण कयौँ तीर्थयात्रीहरू बीच बाटोमै अलपत्र परे भने कतिपयले बाढीकै चपेटामा परेर ज्यान गुमाउनुपर्‍यो । 

धार्मिक आस्था बोकेर हिँडेका ती पवित्र पाइलाहरू बाढीको हिलोमा भासिए । उनीहरूले बोकेका सपनाहरू प्रकृतिले क्रूरतापूर्वक खोसिदियो । पवित्र कुण्डको दर्शन गर्ने र ईश्वरको सामीप्य पाउने आकाङ्क्षा बोकेका कतिपय भक्तजनहरूका लागि त्यो यात्रा नै जीवनको अन्तिम यात्रा बन्न पुग्यो । 

यो महाविपत्तिले मानिसको भौतिक शरीर र घर मात्र नष्ट गरेन, यसले हाम्रा सामाजिक सम्बन्धहरूमा समेत गहिरो र लामो खाडल बनाइदियो । बाढीले रसुवा, नुवाकोट र त्रिशूली नदी आसपासका मुख्य राजमार्ग, ग्रामीण सडक र नदीमाथि बनेका पक्की तथा झोलुङ्गे पुलहरू पूर्ण रूपमा ढालेर बगाइदियो । 

यसको प्रत्यक्ष असर ओल्लो गाउँ र पल्लो गाउँ बीचको सामाजिक सम्बन्धमा पर्‍यो । हिजोसम्म सुख दुःखमा सहजै आवतजावत गर्ने छिमेकी गाउँहरू एकाएक एक अर्काका लागि दुर्गम र पहुँच बाहिरका बने । पुलहरू ढलेपछि मानिसहरू आफ्नै नातागोता र छिमेकीलाई बचाउन वा उनीहरूको अवस्था बुझ्न समेत जान नसकिने गरी सम्बन्ध विच्छेद भयो । 

यसैगरी, सङ्घीय राजधानी काठमाण्डौ जोड्ने राष्ट्रिय राजमार्ग भासियो र सडक सञ्जाल भत्किँदा गाउँ र सहरको सम्बन्ध पनि टुट्यो ।  गाउँमा फलेका कृषि उपजहरू बजारसम्म पुग्न पाएनन् भने सहरबाट आउने खाद्यान्न, औषधि र आपत्कालीन राहतका सामग्रीहरू गाउँसम्म पुग्न सकेनन्। सबभन्दा पीडादायी कुरा त के हो भने, विपत्तिका कारण धेरैले आफ्ना नजिकका आफन्त, साथीभाइ र इष्टमित्रहरू गुमाउनुपर्‍यो । 

सञ्चार सेवा समेत पूर्ण रूपमा अवरुद्ध हुँदा उनीहरूले आफ्ना मान्छेको अन्तिम अवस्थाको खबरसमेत पाउन सकेनन्। यसरी प्रकृतिले सिर्जना गरेको यो अकल्पनीय दूरीले रगत र भावनाको सम्बन्धलाई सधैँका लागि तोडिदियो ।

विपद्‌को यस्तो महाभयावह घडीमा राज्यको बलियो उपस्थिति र अभिभावकत्व अपरिहार्य हुन्छ। यसै सन्दर्भमा रसुवासहित अत्यधिक प्रभावित पाँच जिल्लाका १५ वटा स्थानीय तहहरूलाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ । 

पुनर्निर्माणको सङ्कल्प बोकेर केही कदमहरू चाल्न शुरु गरिएको छ। अवरुद्ध भएका सडक र अन्तर्राष्ट्रिय सिमाना खुलाउनका लागि डोजरहरू परिचालन गरिएका छन् भने बाढी पहिरोमा परेका बिरामी र घाइतेहरूको उपचार पूर्ण रूपमा निःशुल्क गर्ने घोषणा गरिएको छ। हराएका सास र लासहरूको तीव्र खोजी भइरहेको छ ।  यी सरकारी प्रयासहरू प्रारम्भिक रूपमा सकारात्मक र स्वागतयोग्य भए तापनि पीडितका लागि केवल आश्वासनका पानाहरू मात्र पर्याप्त हुँदैनन् ।

विगतका भूकम्प वा बाढी पहिरो जस्ता विपद्हरूमा देखिने गरेको प्रशासनिक ढिलासुस्ती र नीतिगत भ्रष्टाचारको रोग यस पटक पनि दोहोरिने हो कि भन्ने गम्भीर शङ्का नागरिक मनमा व्याप्त छ । पुनः स्थापनाका नाममा हुने ढिलासुस्तीले पीडितहरूको पीडालाई झन् थपेको इतिहास साक्षी छ । त्यसैले, अब आश्वासनलाई द्रुत गतिमा व्यवहारमा उतार्ने बेला आएको छ। भ्रष्टाचार र प्रशासनिक सुस्तीलाई पूर्ण रूपमा हटाएर पारदर्शी ढङ्गले काम गरेमा मात्र पीडित जनताको नयाँ भाग्य र भविष्य लेख्न सकिन्छ । 

यो महाविपत्तिले देशलाई ठूलो शोकमा डुबाउनुका साथै एउटा गम्भीर भू-राजनीतिक र वातावरणीय पाठ पनि सिकाएको छ। यसले के स्पष्ट पारेको छ भने, नेपालमा हुने प्राकृतिक विपद्हरू केवल हाम्रो देशभित्रको वातावरणमा मात्र सीमित छैनन् यो सीमापारिको पर्यावरणीय स्थितिसँग पनि प्रत्यक्ष जोडिएको छ । तिब्बतमा हुने हिमताल विष्फोट र हिमाल फुट्ने जस्ता घटनाहरूबाट बच्नका लागि अब नेपालले चीनसँग विपद् पूर्वसूचना आदानप्रदानको बलियो कूटनीतिक संयन्त्र बनाउन ढिला गर्नु हुँदैन । अहिलेको सबभन्दा ठूलो प्राथमिकता भनेको प्रभावित क्षेत्रमा तत्काल प्रभावकारी राहत र दीर्घकालीन पुनर्निर्माणको वैज्ञानिक काम थाल्नु हो। 

बाढी पीडितहरूका लागि गाँस, बास र कपासको व्यवस्था गर्नु राज्यको पहिलो संवैधानिक दायित्व हो । अस्थायी पालमुनि कष्टकर र असुरक्षित जीवन बिताइरहेका नागरिकहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी स्थायी एकीकृत आवासको व्यवस्था गरिनुपर्छ । भत्किएका सडक र पुलहरूको द्रुत गतिमा निर्माण गरी गाउँ, सहर र आफन्तको टुटेको सम्बन्धलाई पुनः जोडिनुपर्छ । 

अबका दिनमा विपद् व्यवस्थापनका पूर्वतयारीका संयन्त्रहरूलाई अत्यन्तै बलियो, आधुनिक र अन्तर्राष्ट्रिय स्तरको प्रविधिमैत्री बनाइनुपर्छ। पीडितका आँसु पुछ्दै गर्दा अब सिङ्गो देश, सरकार र नागरिकले एउटै सङ्कल्प र दृढता व्यक्त गर्नुपर्छ, 'अब कहिल्यै यस्तो नहोस् ।' 

प्राकृतिक प्रकोपलाई पूर्ण रूपमा रोक्न नसकिए तापनि मानवीय सचेतता, सीमापार कूटनीतिक सहकार्य र बलियो पूर्वाधारका माध्यमबाट कुनै पनि नेपालीले फेरि यसरी आफ्नो बास गुमाउनु नपरोस्, कसैको सम्बन्ध नटुटोस् र कसैले अकालमै ज्यान गुमाउनु नपरोस् ।

अन्त्यमा, भदौ १० गतेको महापीडालाई पुनः निर्माणको शक्तिमा बदलेर सुरक्षित र दिगो नेपाल निर्माणको दिशामा अगाडि बढ्नु नै यो विपत्तिमा ज्यान गुमाउने तमाम आत्माहरूप्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।

प्रकाशित मिति:
थप विचार