नेभिगेशन

बाढीपछि बालबालिकाको अवस्था र अबको काम

रसुवाको भोटेकोशीमा आएको आकश्मिक बाढीपछि प्रभावित क्षेत्रका बालबालिकामा पढाइसँगै मनोवैज्ञानिक असर पनि देखिन थालेको छ । यस्तो विपद्ले बालबालिकाको मानसिक स्वास्थ्य, सामाजिक सम्बन्ध र दैनिक दिनचर्यामा गहिरो असर पार्न सक्छ । त्यसैले उनीहरूलाई सामान्य जीवनमा फर्काउन तत्काल शैक्षिक गतिविधि र मनोसामाजिक सहयोग शुरु गर्न आवश्यक छ । 

आकश्मिक बाढीजस्तो विपद्पछि प्रभावित जिल्लाका बालबालिकाको मनोसामाजिक अवस्था निकै संवेदनशील हुन्छ । यो घटना उनीहरूका लागि अकल्पनीय र त्रासदीपूर्ण हुन्छ । विपद्ले सबैमा मनोत्रास उत्पन्न गराए पनि बालबालिका अझ बढी प्रभावित हुन्छन् ।

विशेषगरी १० वर्षभन्दा कम उमेरका बालबालिकाको मस्तिष्क पूर्ण रूपमा विकसित भइसकेको हुँदैन । त्यसैले उनीहरूले आफूले भोगेको घटना के हो, किन भयो र यसलाई कसरी सामना गर्ने भन्ने कुरा राम्रोसँग बुझ्न सक्दैनन् । कतिपयले परिवारका सदस्य वा साथी गुमाएका छन् । विद्यालय जान पाएका छैनन् । आफ्नो वरिपरिको परिस्थिति बुझेर त्यसअनुसार आफूलाई समायोजन गर्ने क्षमता पनि उनीहरूमा कम हुन्छ । त्यसैले साना बालबालिकाको अभिभावकत्वको जिम्मेवारी लिनुका साथै उनीहरूलाई विशेष सुरक्षा र माया दिन आवश्यक छ ।
१० देखि १८ वर्षसम्मका बालबालिकालाई भने आफूलाई समायोजन गर्न र समस्याको सामना गर्ने तरिका सिकाउनुपर्छ । उनीहरूलाई यस अवस्थामा आवश्यक मनोसामाजिक सहयोग र परामर्श दिन जरुरी छ ।

बाढी प्रभावित बालबालिकामा देखिने समस्याहरु
बाढी प्रभावित क्षेत्रका बालबालिकाको समस्या घर र विद्यालय क्षतिग्रस्त हुनुमा मात्र सीमित छैन । बाढीमा ज्यान जोगाउन भोग्नुपरेको कठिनाइ, परिवारका सदस्य वा साथी गुमाउनु, घर–सम्पत्ति नष्ट भएको देख्नु तथा परिवारबाट छुट्टिनुले उनीहरूको मानसिक स्वास्थ्यमा असर पार्न सक्छ । यस्ता बालबालिकामा डर, चिन्ता, तनाव, निद्रामा समस्या, एक्लोपन, चिडचिडापन र असुरक्षित महसुस हुने जस्ता समस्या देखिन सक्छन् ।
कतिपय बालबालिका लगातार रोइरहने, झगडा गरिरहने वा शान्त हुन नसक्ने अवस्थामा पुग्न सक्छन् । उनीहरू मानसिक आघात अर्थात् ट्रमामा हुन सक्छन् । अर्को समूहका बालबालिका अत्यधिक आत्तिने, बोल्न नसक्ने, टोलाएर बस्ने, दैनिक क्रियाकलाप गर्न नसक्ने तथा राति झस्किने जस्ता समस्याबाट प्रभावित हुन सक्छन् ।

तत्काल के आवश्यक छ त ? 
आकस्मिक विपद्बाट प्रभावित धेरैजनामा कुनै न कुनै स्तरको मनोवैज्ञानिक तनाव देखिन सक्छ । बालबालिका अझ संवेदनशील हुने भएकाले उनीहरूको मनोविज्ञानमा छिटो असर पर्ने सम्भावना हुन्छ ।
विद्यालय जाने बालबालिकालाई तत्काल मनोवैज्ञानिक प्राथमिक उपचार आवश्यक छ । यो बालबालिकालाई मात्र होइन, आवश्यकताअनुसारबाढी प्रभावित सबैलाई दिनुपर्छ । तर उमेरअनुसार मनोसामाजिक सहयोग र परामर्शको तरिका फरक हुनुपर्छ ।

अहिले केही बालबालिका आघातमा छन् । उनीहरूलाई त्यस अवस्थाबाट बाहिर ल्याउन तत्काल सहयोग आवश्यक छ । साना बालबालिकालाई मनोवैज्ञानिक सुरक्षा दिनुपर्छ भने किशोरकिशोरीलाई मनोसामाजिक परामर्शसँगै उपयुक्त जिम्मेवारी दिन सकिन्छ । जिम्मेवारीले उनीहरूमा आत्मविश्वास बढाउन र पीडाबाट ध्यान हटाउन सहयोग गर्न सक्छ । यी कामका लागि सरकारले नेतृत्व लिएर बालमनोचिकित्सक, मनोविद्, मनोपरामर्शदाता तथा अन्य सम्बन्धित विज्ञसहितको टोली बनाएर प्रभावित क्षेत्रमा खटाउन आवश्यक छ ।

बालबालिकालाई शिक्षासँग कसरी जोड्ने ? 
विद्यालय बालबालिकाका लागि पढ्ने ठाउँ मात्र होइन । विद्यालयले साथीभाइसँग भेट्ने, खेल्ने, नियमित दिनचर्या कायम गर्ने र सुरक्षित महसुस गर्ने वातावरण पनि दिन्छ । त्यसैले लामो समय विद्यालय जान नपाउँदा पढाइमा पछाडि पर्नुका साथै मानसिक स्वास्थ्यमा पनि थप असर पर्न सक्छ ।तत्काल नियमित विद्यालय सञ्चालन गर्न सम्भव नभए पनि अस्थायी सिकाइ तथा बालमैत्री गतिविधि शुरु गर्नुपर्छ । विद्यालय र शिक्षक तत्काल उपलब्ध हुन नसक्ने अवस्था भए पालिका तथा मनोसामाजिक सहयोगी टोलीको सहयोगमा बालबालिकालाई सुरक्षित ठाउँमा जम्मा गर्न सकिन्छ ।
त्यहाँ उनीहरूलाई आफ्ना मनका कुरा व्यक्त गर्न दिने, नयाँ वातावरणमा घुलमिल हुन सहयोग गर्ने र सामान्य जीवनमा फर्कने वातावरण बनाउन सकिन्छ ।

सामान्य जीवनमा फर्काउन पहल
बालबालिकालाई राहत सामग्री दिएर मात्र पुग्दैन । मानसिक स्वास्थ्य, शिक्षा, स्वास्थ्य, बाल संरक्षण र परिवारको आर्थिक पुनःस्थापनालाई एकैसाथ अघि बढाउनुपर्छ । बालबालिकाका लागि सुरक्षित र बालमैत्री ठाउँ निर्माण गर्नुपर्छ । आवश्यकताअनुसार मनोसामाजिक, मनोवैज्ञानिक तथा मनोचिकित्सकीय सेवा उपलब्ध गराउनुपर्छ । विद्यालय नखुलेसम्म अस्थायी सिकाइ केन्द्र सञ्चालन गर्नुपर्छ । किताब, कापी, पोसाक र झोलाजस्ता शैक्षिक सामग्री तत्काल उपलब्ध गराउनुपर्छ । 
झोला बालबालिकासँग सधैँजसो रहने र उनीहरूलाई प्रिय हुने सामग्री हो । त्यसैले यस्ता सामग्री उपलब्ध गराउँदा बालबालिकालाई आफू फेरि विद्यालय फर्कंदैछु भन्ने सकारात्मक अनुभूति पनि हुन सक्छ ।
टेन्टमै भए पनि बालबालिकालाई जम्मा गरेर कथा भन्न लगाउने, चित्र कोर्न दिने, रङ भर्न दिने, खेल खेलाउनेलगायतका गतिविधि सञ्चालन गर्न सकिन्छ । यस्ता गतिविधिले उनीहरूलाई मानसिक रूपमा सहज बनाउन सहयोग गर्छ ।

अभिभावक र शिक्षकको भूमिका
बालबच्चाको जिम्मेवारी अभिभावककै हो । उसलाई सुरक्षा दिने, माया गर्ने र पहिलेजस्तै हेरचाह गर्न कुनै कसर बाँकी राख्नु हुँदैन । शिक्षक र अभिभावकले सबैभन्दा पहिले आफूलाई सम्हाल्नुपर्छ । जे भयो त्यसैमा अल्झिएर बस्नु हुँदैन । अहिले जे बाँकी छ, त्यसलाई सुरक्षित राख्ने र बालबालिकालाई सम्हाल्ने जिम्मेवारी पूरा गर्नुपर्छ ।

बालबालिकाको अगाडि आफूलाई अत्यधिक कमजोर देखाउनु हुँदैन । यसले उनीहरूलाई झन् कमजोर बनाउन सक्छ ।
यो अवस्थामा बालबालिकालाई गाली गर्ने, अरूसँग तुलना गर्ने वा कमजोर महसुस गराउने काम बिल्कुलै गर्नु हुँदैन । अहिले उनीहरूलाई सबैभन्दा बढी साथ, माया र हेरचाह आवश्यक छ । अभिभावक र शिक्षकसँग बालबालिकाले धेरै समय बिताउने भएकाले उनीहरूले विशेष ध्यान दिनुपर्छ ।

संयुक्त पहल आवश्यक 
बालबालिकाको यो समस्या स्वास्थ्य मन्त्रालय वा शिक्षा मन्त्रालयको मात्र जिम्मेवारी होइन । पालिका, विद्यालय, शिक्षक, स्वास्थ्यकर्मी, मनोविद्, बाल संरक्षणकर्मी, अभिभावक, सुरक्षा निकाय र गैरसरकारी संस्थाबीच समन्वय आवश्यक छ ।
बाढीपछि बालबालिकालाई ‘खतरा टर्यो, अब सबै ठीक हुन्छ’ भनेर भविष्यका बारेमा निश्चित आश्वासन दिनु उचित हुँदैन । त्यस्तै विगतको घटनालाई पटक–पटक सम्झाइरहनु पनि हुँदैन । अहिले उनीहरूलाई कसरी सुरक्षित र सहज रूपमा राख्ने भन्नेमा ध्यान दिनुपर्छ । सुरक्षित वातावरण, नियमित दिनचर्या, खेल्ने अवसर, परिवारको साथ र आवश्यक मनोसामाजिक परामर्श सेवा एकैसाथ उपलब्ध गराउन सके मात्र बालबालिकालाई विस्तारै सामान्य जीवनमा फर्काउन सकिन्छ ।

(शिक्षा मनोविद् प्रा. डा. गंगा पाठकसँग सम्झना महर्जनले गरेको कुराकानीमा आधारित। )

प्रकाशित मिति:
थप विचार