नेभिगेशन

सुकुम्वासी र भूमिहीनको समस्या समाधानका लागि ७ दिनभित्र स्पष्ट कार्ययोजना माग

काठमाण्डाै – नेपाली कांग्रेसका सांसद भीष्मराज आङदेम्बेले सुकुम्वासी र भूमिहीन नागरिकको समस्या समाधानका लागि सरकारसँग ७ दिनभित्र एकीकृत कार्ययोजना माग गर्नुभएको छ ।

आजको प्रतिनिधिसभाको बैठकमा ‘जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव’ प्रस्तुत गर्दै उहाँले सुकुम्वासी व्यवस्थापनका नाममा सरकारले अमानवीय व्यवहार गरेको भन्दै सरकारको आलोचना गर्नुभयो ।

प्रस्ताव प्रस्तुत गर्ने क्रममा सांसद आङदेम्बेले वास्तविक भूमिहीन र सुकुम्वासीको पहिचान गरी उनीहरूलाई सुरक्षित आवास, स्वास्थ्य, शिक्षा र जीविकोपार्जनको ग्यारेन्टी गर्न माग गर्नुभयो ।

त्यस्तै नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले पहिचान भइसकेका १२ लाखभन्दा धेरै भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई तत्काल लालपुर्जा वितरण गर्न सरकारसँग माग गर्नुभयो ।

उहाँले सुकुम्वासी र अव्यवस्थित बसोवासीको समस्या समाधान गर्नु केवल राजनीतिक विषय मात्र नभई सामाजिक न्यायको महत्त्वपूर्ण मुद्दा भएको बताउनुभयो ।

सुकुम्वासी र अव्यवस्थित बसोवासीको समस्यालाई एकैसाथ सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको भन्दै अर्यालले बाँकी रहेकाहरूको पहिचान कार्यलाई पनि तत्काल अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रकाशित मिति:
थप राजनीति