नेभिगेशन

बजारमा ग्यास आपूर्ति तत्काल सुनिश्चित गर्न सरकारलाई संसदीय समितिकाे निर्देशन

काठमाण्डाै – राष्ट्रियसभाको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति तत्काल सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा आज बसेको बैठकमा समिति सभापति जयन्तीदेवी राईले समितिको तर्फबाट सरकारलाई निर्देशन दिनुभएको हो । उहाँले उपभोक्ता हित संरक्षणका लागि बजार अनुगमनलाई प्रभावकारी बनाउन तथा आवश्यक नीतिगत र कार्यान्वयनात्मक कदम तत्काल अघि बढाउनसमेत सरकारलाई निर्देशन दिनुभयो ।

देशभर गुणस्तरीय वस्तु तथा सेवाको आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन तथा कृत्रिम अभाव र कालोबजारी नियन्त्रण गर्न सरकारलाई समितिले निर्देशन दिएको सभापति राईले बताउनु भयो ।

उहाँले दैनिक उपभोग्य वस्तु तथा सेवाको अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न, सर्वसाधारणको सहज पहुँच हुने गरी सुपथ मूल्य पसलको नियमित अनुगमन तथा क्षेत्रगत दायरा विस्तार गर्न, प्रत्येक पसलमा अनिवार्यरूपमा मूल्यसूची राख्ने व्यवस्था कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिनुभयो ।

सभापति राईले सङ्घ, प्रदेश र पालिकाबीच तथा सम्बन्धित मन्त्रालयहरूबीच समन्वय र सहकार्य गर्दै नियमित बजार अनुगमन सञ्चालन गर्न, उपभोक्ता हित संरक्षणलाई प्रभावकारी बनाउन, उपभोक्ताका गुनासा सुनुवाइ गर्ने संयन्त्र सुदृढ गर्न तथा उपभोक्ता अदालतलाई प्रभावकारी रूपमा सञ्चालन गर्न पनि समितिले सरकारलाई निर्देशन दिएको जानकारी दिनुभयो ।

यस्तै बैठकमा नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक दीपक बरालले बजारमा खाना पकाउने ग्यासको मागमा अस्वाभाविक वृद्धि भएका कारण उपभोक्ताको मागअनुसार आपूर्ति गर्न नसकिएको बताउनुभएको छ ।

निर्देशक बरालले एउटा सिलिन्डरले केही समय धान्ने अवस्थामा तत्काल अर्को सिलिन्डरका लागि नाम दर्ता गर्दा वास्तविक आवश्यकतामा रहेका उपभोक्ता प्रभावित भएका बताउनुभयो । उहाँले बजारमा उत्पन्न ग्यास अभावको समस्या अबको २ हप्ताभित्रमा हल भइसक्ने विश्वास पनि व्यक्त गर्नुभयो ।

प्रकाशित मिति:
थप समाज