नेभिगेशन

सुस्तामा रोकिएन बाँध कटान

काठमाण्डौ — पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीमाथि निर्माण गरेको बाँध कटान हुन थालेपछि स्थानीय चिन्तित बनेका छन् ।

सुस्ता गाउँपालिका वडा नम्बर ५ मा नारायणी नदीको पानी बस्तीमा पस्नबाट रोक्ने उद्देश्यले बाँध निर्माण गरिएको थियो । नदीमा पानीको उच्च बहावले बाँध कटान सुरु गरेपछि स्थानीयवासीले सुस्ता जोगाउन अस्थायी बाँध निर्माण गरिरहेका छन् ।

‘सुस्ता बचाउ अभियान’का प्रवक्ता रवीन्द्र जैसवालले बस्तीलाई कटान र डुबानबाट बचाउन स्थानीयवासीको सक्रियतामा बाँध निर्माण गरिएको भन्दै गए रातिदेखि नदीमा पानीको बहाव उच्च हुँदा कटान सुरु भएको बताउनुभयो ।

सुस्ताका नागरिकले हप्ता दिनदेखि नारायणीको पानीलाई बस्तीमा पस्न नदिन बोरामा बालुवा, तारजाली, माटो, खरपातलगाय सामग्रीले अस्थायी बाँध निर्माण गरी रोक्ने प्रयास गरेका छन् ।

यसैबीच, सुस्तालाई नारायणीको जोखिमबाट जोगाउन सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भरतपुर चितवनले पहिलो चरणमा ११ करोड ५० लाख लागतमा करिब एक किलोमिटर तटबन्धन निर्माण गरेको आयोजनाका इन्जिनियर बेलबहादुर विश्वकर्माले बताउनुभयो ।  

  

प्रकाशित मिति:
थप समाज