नेभिगेशन
बिहीबार, कात्तिक २६, २०८३

पानी पर्न छाडे पनि सडकमा पहिरोको सास्ती रोकिएन

काठमाण्डाै – नेपालबाट मनसुन बाहिरिएर पानी पर्न छाडे पनि मुख्य राजमार्गहरूमा सुक्खा पहिरो खसेर सडक अवरुद्ध हुने क्रम भने अझै रोकिएको छैन ।

बितेको एक हप्तामा मात्रै पृथ्वी राजमार्ग, मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरमा खसेको सुक्खा पहिरोले हजारौँ यात्रुलाई घण्टौँसम्म सडकमै अलपत्र पारेको छ ।

चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ४ मा रहेको घोप्टेभीरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग पटक पटक अवरुद्ध भयो । यस्तै कास्कीको अन्नपूर्ण गाउँपालिका–१ घट्टेखोलामा खसेको सुक्खा पहिरोले पोखरा–बागलुङ मध्यपहाडी लोकमार्ग अवरुद्ध बनायो । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ राक्सेमा पहिरो खस्दा कालीगण्डकी करिडोर पनि अवरुद्ध भयो ।

पानी नपरेको सुक्खायाममा पनि पटक पटक पहिरो खस्दा धेरैलाई चिन्तित बनाएको छ ।

भूगर्भविद् डा. सुबोध ढकालका अनुसार सडक विस्तारका क्रममा भित्ता काट्दा चट्टानको प्राकृतिक सन्तुलन बिग्रिनु नै यसको मुख्य कारण हो ।

बर्खायाममा पानीले भिजेर कमजोर बनेको माटो र चट्टान घाम लागेर सुक्न थालेपछि खुकुलो भइ खस्ने गर्दछ । यस्ता सुक्खा पहिरोको जोखिम कम गर्न सडक विस्तारसँगै भित्ता संरक्षणको काम तत्काल गर्नुपर्ने विज्ञहरूको सुझाव छ ।

जोखिमयुक्त भित्ताहरूमा जाली लगाउने, बायो–इन्जिनियरिङ प्रविधिको प्रयोग गर्ने र खुकुलो ढुङ्गा–माटोलाई समयमै पन्छाएर सुरक्षित बनाउने कामलाई प्राथमिकता दिनुपर्ने डा. ढकाल बताउनुहुन्छ ।

प्रकाशित मिति:
थप समाज