नेभिगेशन
बिहीबार, कात्तिक २६, २०८३

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

काठमाण्डौ - सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । सडक खण्डअन्तर्गत गुल्मीको कालीगण्डकी गाउँपालिका–२ राक्सेमा चट्टानसहितको सुक्खा पहिरो खसेपछि गएरातिदेखि सडकपूर्ण रूपमा अवरुद्ध बनेको हो । 

प्रहरी चौकी पूर्तिघाटबाट प्रहरी सहायक निरीक्षक बाबुराम श्रेष्ठको नेतृत्वमा प्रहरी टोली पहिरो हटाउन खटिसकेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । तिहारको समयमा सडक अवरुद्ध हुँदा गुल्मीबाट पाल्पा, बुटवल, बागलुङ, पर्वत, म्याग्दी तथा पोखरासम्म आवतजावत गर्ने गाडी तथा यात्रुहरू बीच बाटोमै रोकिएका छन् ।

यसैबीच, पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभीरमा सडक एकतर्फी सञ्चालनमा छ । घोप्टेभीरमा आइतबार, सोमबार र मङ्गलबार लगातार खसेको सुक्खा पहिरो पन्छाएर एकतर्फी सञ्चालनमा ल्याइएको थियो । 

जिल्ला ट्राफिक प्रहरी कार्यालयकाअनुसार गाडीको चापले गर्दा दुईतर्फी यातायात सञ्चालनमा ल्याउन कठिन भएको छ । अब गाडीको चाप अवस्था हेरेर सडक दुईतर्फी सञ्चालनमा ल्याइने तयारी छ । सडक एकतर्फी खुले पनि जोखिम कायमै रहेकाले सावधानीपूर्वक यात्रा गर्न प्रहरीको आग्रह छ ।

प्रकाशित मिति:
थप समाज