नेभिगेशन
बिहीबार, कात्तिक २६, २०८३

भीमफेदी र पोखरामा भएका छुट्टाछुट्टै दुर्घटनामा ११ जनाको ज्यान गयो, १७ घाइते

काठमाण्डौ - मकवानपुरको भीमफेदी र पोखराको दुण्डेफाँटमा भएका छुट्टाछुट्टै गाडी दुर्घटनामा ११ जनाको ज्यान गएको छ । १७ जना घाइते भएका छन् । 

भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा आज बिहान माइक्रोबस दुर्घटना हुँदा १० जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा ५ पुरुष, ३ महिला र २ बालिका रहेका छन् । उनीहरूको नाम/ठेगाना खुल्न सकेको छैन । मकवानपुर प्रहरीका अनुसार दुर्घटनामा ५ जना घाइते भएका छन् । घाइते हुनेमा ३ पुरुष र २ बालक छन् । 

आज बिहान ६ बजेतिर काठमाण्डौबाट सर्लाहीका लागि छुटेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको माइक्रोबस सडकबाट ७०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । घटनास्थलमा सशस्त्र प्रहरी बल, नेपाली सेना र नेपाल प्रहरीसहितको संयुक्त टोलीले उद्धार कार्य गरेको थियो । 

यस्तै पोखरा महानगरपालिका–२३ दुण्डेफाँटमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । १२ जना घाइते भएका छन् । घाँटीछिनाबाट पोखराका लागि छुटेको ग ४ च १३४४ नम्बरको जीप गएराति अनियन्त्रित भई सडकबाट खसेर दुर्घटना भएको कास्की प्रहरीले जनाएको छ । 

दुर्घटना लगत्तै १३ जना घाइतेलाई उद्धार गरी उपचारका लागि पोखराको गण्डकी मेडिकल कलेजमा पुर्‍याइएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका पर्वत घर भई पोखरा महानगरपालिका–२४ पामे बस्दै आएका २३ वर्षीय मिलन गुरुङको उपचारका क्रममा आज बिहान ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामजी देवकोटाले जानकारी दिनुभयो । दुर्घटनामा घाइते भएका १२ जनाको उपचार भइरहेको छ । 

प्रकाशित मिति:
थप समाज