नेभिगेशन
बिहीबार, कात्तिक २६, २०८३

गाडी दुर्घटनामा १० जनाको ज्यान गएपछि सर्लाहीकाे सुन्दरपुर गाउँ शोकमा

काठमाण्डाै – मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनामा १० जनाको ज्यान गएपछि सर्लाहीको चक्रघट्टा गाउँपालिका वडा नम्बर ४ मा सुन्दरपुर गाउँ शोकमा डुबेको छ ।

छठ पर्व मनाउन ललितपुरको टीकाथलीबाट गाउँ फर्कँदै गरेकाहरू चढेको माइक्रोबस आज बिहान पौने ६ बजे मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ चिसापानीगढी नजिक दुर्घटनामा परेको हो ।

काठमाण्डाै–कुलेखानी–भीमफेदी सडक खण्डबाट झन्डै ७०० मिटर तल भीरमा गाडी खस्दा एकै गाउँका बासिन्दासहित १० जनाको ज्यान गएको छ । ६ जना घाइते भएका छन् ।

ज्यान गुमाएकामध्ये सर्लाहीको कविलासी नगरपालिका–८ का चालक रविशङ्कर कुमार मण्डल र सुन्दरपुर टोलका सुवेक यादवको पहिचान खुलेको सशस्त्र प्रहरीले जनाएको छ । ज्यान गुमाउनेमा पाँच पुरुष, तीन महिला र दुई बालिका रहेका छन् ।

दुर्घटनामा घाइते भएका मुकेश यादव, देवेन्द्र यादव, सञ्जय यादव, सुजन यादव र सक्षम यादवसहित ६ जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

काठमाण्डाै उपत्यकामा फलफूललगायतका व्यापार गर्दै आएका सुन्दरपुरवासीहरू गाडी रिजर्भ गरेर छठ मनाउन घर फर्किँदै थिए ।

चाडपर्वको मुखमा गाउँले गुमाएपछि सुन्दरपुरमा अहिले रुवावासी चलेको चक्रघट्टा गाउँपालिकाका अध्यक्ष कृष्णकुमार यादवले बताउनुभयो ।

यसैबीच नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घाइतेहरूको निःशुल्क उपचार र पीडित परिवारलाई तत्काल उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको छ ।

प्रकाशित मिति:
थप समाज